भैरहवा । एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकको मुहार बदल्न एमालेको बहुमतको सरकार बन्नुपर्ने बताएका छन् । एमाले रुपन्देहीको १० औं जिल्ला अधिवेशनलाई भैरहवामा उद्घाटन गर्दै पौडेलले मुलुकको मुहार बदल्न एमालेले मिशन ८४ अघि सारेको प्रष्ट पारे ।
उनले भने–‘केपी ओली नेतृत्वको सरकारले गरेका कामहरु हेर्नुहोस् । धेरै राम्रा कामहरु भएका छन् । एमाले चुक्यो भने त्यसको पीडा एमालेलाई मात्र हुँदैन । देश र जनतालाई पनि हुन्छ ।’ उनले एमालेले १० वर्ष मुलुकको नेतृत्व गर्ने अवसर पाए जनताका समस्या समाधान गर्ने दाबी गरे । एमालेले बहुमत ल्याउन पार्टी पंक्ति एकताबद्ध हुनुपर्ने उनले जनाए । ‘एकताबद्ध पार्टीले मात्रै चुनावमा विपक्षलाई पराजित गर्न सक्छ ।’-उनले भने । पार्टीलाई एकताबद्ध बनाउन अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न प्रतिनिधिहरुलाई उनले आग्रह गरे ।
विगतका कठिन अवस्था र अन्तरविरोधमा पनि सर्वसम्मत नेतृत्व चयन गरेको स्मरण गर्दै उनले भने-‘अहिले सर्वसम्मत नेतृत्व चयन गर्न कुनै अप्ठारो छैन्, तपाईहरु त्यसका लागि तयार हुनुहोस् ।’ उनले २०८४ सालमा नेपाली कांग्रेसलाई प्रतिपक्षमा राखेर निर्वाचन हुने दाबी गरेका छन् । उनले कांग्रेसलाई प्रतिपक्षमा बसेर चुनाव लडेको अनुभव नरहेकाले प्रतिपक्ष बसेर निर्वाचन कस्तो हुन्छ भन्ने कुरा कांग्रेसले थाहा पाउने बताए । नयाँ समीकरण बनेपछि कांग्रेसले बेचैनी महसुस गरेको उनको भनाइ छ । उनले भने–‘सरकारबाट बाहिरिएपछि कांग्रेसले बेचैनी महसुस गरेको छ । तर, कांग्रेसले कोशिष नगरे हुन्छ । यो समीकरण र सहयात्रा २०८४ सम्म जान्छ । केही न केही काम गर्दै अगाडि बढ्छ ।’ कांग्रेस अब लामो समयसम्म प्रतिपक्षमा बस्ने उनले दाबी गरे ।
पौडेलले मुलुकको विद्यमान संकट समाधान र जनआकांक्षा सम्बोधनका लागि एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न जरुरी रहेको बताए । पौडेलले समाज बदल्ने र उत्पादनका क्षेत्रलाई सक्रिय बनाउने अभियानको नेतृत्व एमालेले गरिरहेको जनाए ।
पार्टी सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले मुलुकमा भएको उपलब्धीको जग र आधार एमाले भएको दाबी गरे । उनले एमाले जनताको आशा र भरोसाको पार्टी भएको बताए ।
एमाले सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले मुलुकको विकासको बाधक राजनीतिक अस्थिरता भएको बताइन् । उनले मुलुकको राजनीतिक कोर्स परिवर्तन भएको जनाइन् ।
पार्टीका पोलिटव्यूरो सदस्य तथा रुपन्देही इञ्चार्ज दलबहादुर रानाले जनप्रतिनिधि र पार्टी कार्यकर्ताबीच समन्वय र सहकार्य बढाउनुपर्ने बताए । एमाले पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका निर्वतमान अध्यक्ष लिला गिरीले एमालेविरुद्ध तमाम पार्टीको गठबन्धन हुँदा पनि एमाले सफल भएको दाबी गरे ।
पार्टीको लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले एमाले सबैभन्दा ठूलो र लोकप्रिय पार्टी भएको बताए । एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र के.सी.ले एमाले जनताको रोजाइको पार्टी भएको दाबी गरे । उनले २ वर्ष ५ महिनामा रुपन्देहीमा पार्टीको संगठनलाई अझ मजबुत र सशक्त बनाइएको बताए । उनले भने–‘स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा रुपन्देहीको अधिकाशं क्याम्पसमा अनेरास्ववियुले जितेको छ । ’
उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र के.सी.ले एमाले जनताको रोजाइको पार्टी भएको दाबी गरे । उनले २ वर्ष ५ महिनामा पार्टीको संगठनलाई अझ मजबुत र सशक्त बनाइएको बताए । उनले भने–‘स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा रुपन्देहीको अधिकाशं क्याम्पसमा अनेरास्ववियुले जितेको छ ।’
अधिवेशनको पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहे पनि अस्वस्थताका कारण उनी आउन नसकेकोे एमाले रुपन्देहीका सचिव यज्ञ गैरेले बताए ।
दुई दिनसम्म सञ्चालन हुने अधिवेशनमा जिल्लाको १६ पालिकाका १५५ वडा, २३ जनसंगठनबाट र आयोजक कमिटीबाट चयन भएका कुल ८५३ जना प्रतिनिधिसहभागी छन् ।
अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उप–सचिवसहित १४१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ । रुपन्देहीमा एमालेका १७ हजार ९८ पार्टी सदस्य संगठित रहेको र उत्तिकै संख्यामा शुभेच्छुक रहेको जिल्ला उप–सचिव तथा प्रचार विभाग उपप्रमुख हितराज पन्थीले बताए ।
नेकपा एमाले रूपन्देहीको इतिहास बिमोचन
नेकपा एमाले रुपन्देहीको संक्षिप्त इतिहासको पूर्व अर्थमन्त्री तथा नेकपा एमाले केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बिमोचन गरेका छन् । एमाले रुपन्देहीको १०औं जिल्ला अधिवेशनमा उक्त पुस्तक पौडेलले बिमोचन गरेका हुन् ।
रुपन्देही जिल्लाको कम्युनिस्ट आन्दोलनको इतिहास समेटिएको पुस्तक प्रकाशन गरेको नेकपा एमाले रुपन्देहीको संक्षिप्त इतिहास पुस्तकको प्रकाशन गरेको हो ।
रुपन्देही जिल्ला कमिटीले ५०औं वर्ष पूरा गरेको अवसरमा नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले प्रकाशन गरेको पुस्तकको लेखन तथा सम्पादन डाक्टर मुरारी पराजुलीले गरे ।
पुस्तक जम्मा ३ सय ५ पृष्ठ रहेकोमा ६ अध्यायमा रुपन्देही जिल्लाको परिचय, कम्युनिस्टको परिचय र प्रसार, नेपाल कम्युनिस्ट पार्टीको परिचय र परम्परा, नेकपा एमाले रुपन्देहीको इतिहास, एमाले रुपन्देहीको संक्षिप्त नेतृत्व परिचय तथा २००९ सालदेखि २०८१ सालसम्मको नेकपा एमाले रुपन्देही जिल्ला पार्टीको नेतृत्व गर्ने व्यक्तित्वहरुको समय अवधिसहितको नामावली र पार्टीले गरेका कामको समेत विवरण रहेको छ । नेकपा एमाले रुपन्देही जिल्लाका प्रथम सचिव २००९–२०११ देखि हाल रुपन्देही जिल्लाका अध्यक्ष (२०७८–२०८१) तेजेन्द्र केसीको ब्यक्तिगत र पार्टीगत जिवनी रहेको छ ।




