काठमाडौं । सत्ता गठबन्धन उपसभामुख इन्दिरा रानाविरूद्ध महाभियोग लगाउने तयारी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी छलफलमा जुटेको छ ।
महाभियोग लगाउने तयारी आधिकारी रूपमा पुष्टि भएपछि आफूहरू अनौपचारिक छलफलमा रहेको प्रमुख सचेतक सन्तोष परियारले बताए ।
उनले भने, ‘यो विषयमा केही समय अघिदेखि नै कुरा आएको थियो । हिजोको बैठकपछि उहाँहरूले तयारी गरिरहेको पुष्टि भयो। मैले पनि बुझेँ । त्यसविषयमा हामी छलफलमा छौँ ।’
पार्टीमा छलफल गरेपछि आफूहरू आधिकारिक धारणा सार्वजनिक गर्ने बताए । यो विषय आजको सदनमा पनि उठाउनुहुन्छ रु भन्ने जिज्ञासामा उनले थपे, ‘हामी छलफलमा छौँ। केही समयमा ठोस धारणा बन्ला ।’
हिजो बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखको आचरण सही नभएको भन्दै महाभियोगको प्रस्ताव गरेका थिए । त्यही अनुसार अहिले गठबन्धनका दलहरू छलफलमा जुटेका छन् । राजीनामा नआए आजै महाअभियोग दर्ता गर्नसक्ने सत्ता गठबन्धन दलहरूको तयारी छ ।
अमेरिकाको भिसाका लागि असम्बन्धित व्यक्तिलाई अमेरिकी दूतावासलाई पत्र लेखेपछि विवादमा रहेकी राणालाई हटाउन खोजेको छ ।उपसभामुखलाई हटाउँदा संवैधानिक परिषद्मा पनि आफू अनुकूल हुने भएकाले सत्ता गठबन्धनमा आबद्ध दलहरू हटाउन तयार भएका हुन् ।




