विषम जलवायुको पीडा तथा अवसर र रोजगारीको खाँचो परेपछि तराई झरिरहेको पहाडी जनसांख्यिकीलाई गाउँमै टिकाउन केही स्थानीय तहले उदाहरणीय काम गरिरहेका छन् ।
लुम्बिनी संवाददता
बुटवल
पाल्पाको रिब्दीकोट गाउँपालिका–२ का ४२ वर्षीय लक्ष्मण आचार्य बुटवलमा एक औषधि पसलको बजार व्यवस्थापन गर्थे । औषधि पसलबाट सोँचे जति कमाइ भएको थिएन । त्यसैले ११ वर्षे बुटवल बसाइँ छोडेर २०७७ सालमा गाउँ फर्किने विचार गरे । त्यति बेला आचार्यलाई घर फर्कन प्रोत्साहन गरेको थियो, अकबरे खुर्सानीले ।
रिब्दीकोट गाउँपालिकाले २०७६ सालदेखि नै किसानलाई अकबरे खुर्सानी लगाउन प्रेरित गरिरहेको छ । खुर्सानीको बीउ लगाउनेदेखि बजार पु¥याउन्जेल किसानलाई चाहिने प्राविधिक र आर्थिक अनुदान गाउँपालिकाले दिंदै आएको पूर्व अध्यक्ष नारायणबहादुर जीसी बताउँछन् ।
यसले आचार्यलाई सघायो । उनले २०७९ सालमा २० क्विन्टल अकबरे खुर्सानी बेचे । दुई रोपनीमा लगाएको खुर्सानीले राम्रो आम्दानी दिएपछि यस वर्ष तीन रोपनीमा खेती गरेको उनी सुनाउँछन् । “चार वर्षअघि सात–आठ हजार रुपैयाँको खुर्सानी बेचेकोमा अघिल्लो वर्ष २० गुणा बेचें,” आचार्य भन्छन्–“गाउँपालिकाले संकलन केन्द्र बनाइदिएको छ । त्यहाँ बेच्छु, अलिकति आफैं बजारसम्म पु¥याउँछु ।”
रिब्दीकोट–२ मा २४ किसानले धेरै अकबरे खुर्सानी फलाएको वडाध्यक्ष दानबहादुर पौडेल बताउँछन् । “किसानले अघिल्लो वर्ष अकबरे खुर्सानी प्रतिकिलो २०० देखि २३५ रुपैयाँसम्म बेचेका थिए ।”– वडाध्यक्ष पौडेल भन्छन् ।
जनगणना २०७८ अनुसार ३१ वटा पहाडी जिल्लामा जनसंख्या घट्दो छ । तर पहाडका केही स्थानीय तहले बसाइँ सरिरहेको जनसांख्यिकीलाई गाउँमै टिकाउन केही नमूना कार्यक्रम सञ्चालन गरेका छन् ।
पाल्पाकै निस्दी गाउँपालिकाले अम्रिसो उत्पादनमा जोडबल लगाएको छ । गाउँको अम्रिसो बुटवल पु¥याएर आम्दानी गर्दासम्म गाउँपालिकाले कृषि औजार वितरणदेखि आर्थिक अनुदानको कार्यक्रम लागू गरेको छ । “किसानले अम्रिसो बेच्न थालेका छन्,” गाउँपालिका उपाध्यक्ष श्रेष्ठ भन्छिन्–“गाउँमै काममा लगाउन सक्ने हो भने घर छाडेर हिंड्नेहरू घट्लान् कि भन्ने आशा छ ।”
पाल्पामा सुन्तलाबाट ४६ करोड ७२ लाख रुपैयाँ आम्दानी भएको छ । यस वर्ष उत्पादन घटे पनि मूल्य बढी पाइएकाले कारोबार बढेको कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख सन्तोषकुमार चौधरी बताउँछन् । गत वर्ष ४३ करोड ३५ लाखको सुन्तलाको कारोबार भएको थियो । उनका अनुसार किसानले गत वर्ष प्रतिकिलो ४० देखि ४६ रुपैयाँ मूल्य पाएका थिए भने यस वर्ष ५५ देखि ६० रुपैयाँमा सुन्तला बेचे ।
स्थानीय सरकारले व्यावसायिक सुन्तला उत्पादनमा जोड दिएकाले यस वर्ष पनि पाल्पाका किसानले मनग्य आम्दानी गरेका हुन् । सुन्तला जोन सञ्चालक समितिका संयोजक नित्यानन्द पोखरेल रैनादेवी छहराका चार वटा वडाबाट मात्र १० करोड रुपैयाँभन्दा बढीको सुन्तला निकासी भएको छ । “किसानले ५० हजारदेखि २० लाख रुपैयाँसम्म आम्दानी गरेका छन् ।”–पोखरेल भन्छन् । रैनादेवी छहरा–५ का वडाध्यक्ष हुमानसिंह कार्की सुन्तलाबाट किसानले फाइदा पाउन थालेको बताउँछन् । “अझँै धेरै व्यावसायिक बनाउन गाउँपालिकाले सहयोग गरिरहेको छ ।”– कार्की भन्छन् ।
स्थानीय उत्पादनलाई प्रोत्साहन गरेमा रोजगारीका अवसर बढ्ने र गाउँमै बस्ने वातावरण बन्न सक्ने गाउँपालिका महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे बताउँछिन् । “थोरै स्रोत हुँदाहुँदै पनि धेरै गाउँपालिकाले स्थानीय बासिन्दालाई व्यावसायिक कृषिमा लगाउन कोशिश गरिरहेका छन्,” पाण्डे भन्छिन्–“यो प्रयासलाई अझैँ बढाउनुपर्छ । स्थानीयलाई अवसर सिर्जना गर्न सकिएन भने गाउँ निर्जन हुन सक्छन् ।”
किन बसाइँ सर्छ मान्छे ?
राष्ट्रिय तथ्यांक कार्यालयद्वारा प्रकाशित डा. बलकुमार केसीको एक अध्ययन अनुसार असमान विकासका कारण बसाइँसराइ बढ्छ । डा. केसीले अध्ययनमा भनेका छन्, ‘दुर्गम र कम विकसित ठाउँका मानिस विकास भएका ठाउँमा बसाइँ सरेका छन् । गरिबी धेरै भएका गाउँबाट जनघनत्व धेरै भएको शहरी क्षेत्र र उत्पादकत्व धेरै भएको तराईतिर बसाइँ सरिरहेका छन् ।’
कृषिमा आधुनिकीकरण हुन नसक्नु, १७ प्रतिशत मानिस अझैँ गरिब हुनु र उच्च शिक्षामा अनेक समस्या हुनुले नै बसाइँसराइ बढेको त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. पद्मप्रसाद खतिवडा बताउँछन् । बसाइँसराइको अर्को प्रमुख कारण प्राकृतिक प्रकोप भएको डा. खतिवडाको ठम्याइ छ ।
त्यस्तै, जलवायु परिवर्तनले बाढी र पहिरो बढेको छ। त्यसले गर्दा पनि बसाइँ सर्ने मानिस उल्लेखनीय रूपमा धेरै छन् । भूकम्पले गर्दा पनि धेरै मानिस बसाइँ सरेको पाइएको छ । “आफ्नो जीवनस्तर उठाउने व्यक्तिगत चाहना, सामाजिक, आर्थिक, शैक्षिक र वित्तीय सुविधा लिन सदरमुकाम वा राजधानीतिर जाने प्रवृत्तिले पनि बसाइँसराइ बढाएको छ ।”–खतिवडा भन्छन् ।
जनगणना २०७८ को नतीजा अनुसार लुम्बिनी प्रदेशमा रोजगारी, व्यवसाय, अध्ययन÷तालीम तथा प्राकृतिक प्रकोपका कारण मानिस बसाइँ सरेका छन् । बिहे भएर हुने बसाइँ सबैभन्दा धेरै छ । त्यसपछि कामको खोजीमा बसाइँ सर्नेहरू छन् जो बसाइँ सर्नेमध्ये ११.७ प्रतिशत छन् ।
व्यापार व्यवसायका कारण बसाइँ सर्नेहरू २.९ प्रतिशत, अध्ययन÷तालिमका कारण ६.१ प्रतिशत र प्राकृतिक प्रकोपका कारण ०.५ प्रतिशत छन् । त्यस बाहेक आश्रित २०.३ प्रतिशत र कृषिका कारण बसाइँसराइ गर्नेहरू ४.५ प्रतिशत छन् ।
पुरानै थातथलोमा फर्किनेहरू पनि बसाइँ सर्ने गरेका छन् । यस्तो जनसंख्या ५.१ प्रतिशत छ ।
लुम्बिनी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ बसाइँसराइलाई विकासको एउटा अपरिहार्य चरण मान्छन् । डा. श्रेष्ठको विचारमा आर्थिक रूपले सक्रिय भएकाले नै मानिस हिंड्डुल गर्छन् । “पहाड निर्जन भएको कुरालाई समस्याभन्दा पनि अवसर ठानेर विकासका नीति बनाउनुपर्छ,” उनी भन्छन्–“आवादी धेरै भएका तराईलाई बस्नयोग्य महानगर बनाउनुपर्छ, आवादी नभएका पहाडी भू–भागमा आधुनिक खेती गर्नुपर्छ ।”




