बासुदेव ढकाल - रामपुर पाल्पा। पाल्पाको रामपुरमा दोस्रो ज्योति पुञ्ज ज्योति पुञ्ज कप फुटबल प्रतियोगिता आगामी कार्तिक ०४ देखि १० गतेसम्म सञ्चालन गर्ने भएको हो ।ज्योति पुञ्ज युवा क्लव रामपुर नगरपालिका–७ पाल्पाले आफ्नो २८ औं वार्षिक उत्सवको अवसरमा हुने भएको हो।
क्लवका अध्यक्ष सुदिप गौतमले कार्यक्रमको बारेमा सरोकारवालाहरुलाई जानकारी गरादै दोस्रो ज्योति पुञ्ज ज्योति पुञ्ज कप फुटबल प्रतियोगिता विजेता समुहले नगद ३ लाख र उपविजेता समुहले १ लाख ५० हजारको आकर्षक पुरस्कार रहने जानकारी गराए ।
उनले किसानबारी खेल मैदानमा क्लव स्तरीय प्रतियोगितामा नेपालका उत्कृष्ट १० क्लवहरुको सहभागीता रहने, प्रतियोगिताको संरक्षकमा रामपुर नगरपालिका, समन्वय एवं सहयोगि संस्थाका रुपमा लुम्बिनी प्रदेश खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति–पाल्पा, नगर खेलकुद विकास समिति–रामपुर नगरपालिका, पाल्पा र जिल्ला फुटबल संघ,उद्योग बाणिज्य संघ रामपुर रहने पनि जानकारी गराए ।
ज्योति पुञ्ज युवा क्लबको खेलमैदान किसान बारीमा हुने प्रतियोगिता सञ्चालनका लागि २५ लाख बढी खर्च हुने अनुमान गरिएको छ । कार्यक्रमबारे जानकारी गराउन क्लवले जनप्रतिनिधि, राजनैतिक दल, उद्योग वाणिज्य संघ, क्लवका सल्लाहाकार लगाएत सरोकारवालाहरु संग सुझाव संकलन तथा अन्तरक्रिया गरेको थियो ।
अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग अर्थ तथा पर्यटन समितिका सभापति एवं प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले ज्योति पुञ्ज युवा क्लवले रामपुर नगरको खेलकुद, स्वास्थ्य, शिक्षा लगाएतका क्षेत्रमा दिएको योगदान प्रशंसनिय रहेको बताए ।
रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले रामपुरमा पछिल्लो समय खेलकुदका गतिविधि बढ्दो क्रममा रहेको बताउँदै खेल पूर्वाधार निर्माणका लागि नगरले डिपिआर तयार गरेर सम्बन्धित निकायमा पेश गरेको जानकारी गराएका थिए ।




