बुटवल । छविलाल विश्वकर्मा एमाले पदाधिकारी । उनी अहिले पार्टीको केन्द्रीय सचिव छन् । रूपन्देही—१ बाट निर्वाचित संघीय सांसद उनी पूर्व कृषि मन्त्री पनि हुन् ।
अहिले उनको पार्टी एमाले सत्तामा छ । पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री छन् । अध्यक्ष केपी ओलीले नजिक ठान्ने विक मन्त्री हुने धेरैको आकलन थियो । संयोग उनी मन्त्री हुन पाएनन् । एमाले वृत्तमा उनी दुई वर्षपछि कांग्रेस नेतृत्वमा सरकार बन्दा उनी मन्त्रीमा नछुट्ने ठानिन्छन् ।
तिनै विक शुक्रवार निर्माण व्यवसायीले सडक निर्माण बेलैमा नगरेको विषयमा सडकमै धर्ना बसे । प्रदेशसभा सदस्य आशिष चौधरी र रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादव सहितलाई साथमा लिएर धर्ना बसेपछि उनको यो कदमलाई कतिपयले राम्रो भनेका छन् । कतिपयले सस्तो लोकप्रियता भनेका छन् ।
पार्टी सत्तामा भएको बेला प्रक्रियागत ढंगले कारबाहीका लागि सम्बन्धित कार्यालयको ध्यानाकर्षण गराउने र तालुक मन्त्रीको ध्यानाकर्षण गराएर तत्काल समस्या समाधान गर्न तिर लाग्नुपर्नेमा विषयलाई अतिरञ्जित गरेको भन्दै पार्टीभित्रका कतिपय नेताहरुले आलोचना गरेका छन् ।
घटना के हो ?
भैरहवा—भुमही सडक खण्डको सेमरहवामा साढे तीन सय मिटर सडक मर्मत नभएपछि उनी धर्नामा बसेका हुन् । गत चैत मसान्तसम्म निर्माण कम्पनीले काम गरिसक्नुपर्दथ्यो । निर्माण कम्पनीले काम गरेन् । डिभिजन सडक कार्यालयले पटक पटक ताकेता गर्यो । कालोसूचीमा राख्नका लागि प्रक्रिया अघि बढाउन थालेको डिभिजन सडक कार्यालयका इञ्जिनियर महेश्वर लम्सालले बताए ।
असोज २ गते दुई दिनभित्र काम थाल्ने जानकारी निर्माण कम्पनीका ओमप्रसाद भण्डारीले सहमति गरे । असोज ४ गते शुक्रवार साढे दस बजेसम्म काम नथालेपछि संघीय सांसद विक सहितका जनप्रतिनिधि साढे १२ बजेदेखि ३ बजेसम्म धर्ना बसेका हुन् ।
डिभिजन सडक कार्यालय बुटवलले विशेष मर्मत शीर्षक अन्तर्गत २ वर्ष अगाडि ओमकार बिल्डस्सँग ६४ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
निर्माण व्यवसायीले अबका १० दिनभित्र काम सम्पन्न गर्ने लिखित कागज गरेपछि धर्ना टुंगिएको छ ।समयमा काम नगरेको भन्दै सडक डिभिजन कार्यालय बुटवलले ठेक्का रकमको १० प्रतिशत जरिवाना समेत लिइसकेको छ।
लिखित सम्झौता गरेको १० दिनभित्र कालोपत्रे नगरे ठेक्का सम्झौता तोडेर निर्माण कम्पनीलाई कालोसूचीका लागि सिफारिस गर्ने डिभिजन सडक कार्यालय बुटवलका इञ्जिनियर लम्सालले बताए ।




