बुटवल । एमाले महासचिव शंकर पोखरेलले जनता के चाहन्छन् भन्ने कुरा आफ्नो पार्टीलाई राम्रोसँग थाहा भएको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण सामाजिक सञ्जालले नभई आवधिक निर्वाचनले गर्ने बताएका छन् ।
एमालेको भविष्यबारे अरु पार्टीका नेता कार्यकर्ताले चिन्ता लिनुनपर्ने समेत महासचिव पोखरेलको भनाइ छ । उनले लेखेका छन्, 'यतिबेला फरक पार्टीका नेता र कार्यकर्ताहरूले नेकपा(एमाले)को भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन् सुझाव दिइरहेका छन् र उसले गरेका निर्णयहरूको कटुआलोचना गरिरहेका छन् । राजनीति गर्नेहरूले आ-आफ्नो पार्टी राम्रो बनाउन लागे त अरुका बारेमा चिन्ता गर्नै पर्दैन नि ।'
महासचिव पोखरेलले राष्ट्रको आवश्यकता के हो एमालेलाई राम्ररी थाहा भएको समेत बताएका छन् । 'नेकपा(एमाले)लाई कस्तो बनाउने नेकपा(एमाले)जनलाई नै छोडिदिनु न । जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? नेकपा(एमाले)लाई राम्ररी थाहा छ । जनस्तरका सुझाव ग्रहण गर्नका लागि नेकपा(एमाले)ले मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग आधारित झुलाघाट चिवाभञ्ज्याङ यात्रा गरेकै हो । भविष्यमा पनि जनस्तरमा पुग्ने योजना बनाएकै छ,' उनले लेखेका छन् ।




