कपिलवस्तु । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विचार र मन मिल्नेहरूसँग मात्र सहकार्य र हातेमालो गरिने बताएका छन्।
सोमबार कपिलवस्तुको चन्द्रौटामा लुम्बिनी प्रदेश स्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कुनै पनि दलसँग विलय हुने वा एकता गर्ने चर्चा निराधार रहेको प्रस्ट पारे।
उनले भने, “हामी कतै विलीन हुँदैनौं। कसैले माओवादीसँग, कसैले एमालेसँग एकता गर्छ भन्ने अनावश्यक हल्ला फैलाइएको छ, त्यसमा कुनै सत्यता छैन।”
अध्यक्ष नेपालले वर्तमान सरकार अध्यादेशमार्फत् पार्टीहरू फुटाउन उद्यत रहेको आरोप लगाए। “पार्टीहरूलाई टुक्र्याउने दुस्साहस गरेमा त्यसको परिणाम राम्रो हुँदैन,” उनले चेतावनी दिएका छन्। साथै, उनले कुनै पनि दलप्रति बदलाको भावना नरहेको उल्लेख गर्दै स्वस्थ राजनीतिक अभ्यासमा जोड दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै नेपालले “हिटलर मर्ने बेलामा एक्लै थियो” भन्दै ओलीप्रति कटाक्ष गरे। उनले पार्टीको अहिलेको अवस्थालाई चुनौती र अवसर दुवैको मिश्रण भएको बताए।
अध्यक्ष नेपालको सम्बोधनले पार्टी एकताको हल्लालाई पूर्ण रूपमा खण्डन गर्दै विचारका आधारमा सहकार्य खोज्ने संकेत दिएको छ।




