दाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साहसिक खेल विधालाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताएका छन ।
पाँच वटा विभिन्न विधामा विश्व रेकर्ड राख्न सफल नेपाली सेनामा कार्यरत हरिचन्द्र गिरी संगको भेटमा मुख्यमन्त्री आचार्यले साहसिक खेल विधालाई प्रदेश सरकारले प्राथमिकितामा राख्ने बताएका हुन ।
‘लुम्बिनी प्रदेशको नाम चिनाउन यहाँले गर्नुभएको मेहनत र परिश्रमको प्रदेश सरकारले उच्च प्रशंसा गर्दछ । आगामी दिनमा थप विधामा रेकर्ड बनाउनेगरी आफ्नो भूमिका बढाउनु होला’मुख्यमन्त्री आचार्यले भने,–‘प्रदेशमा युवा तथा खेलकुद मन्त्रालय बनाएका छौं । अव युवा र खेलकुद क्षेत्रको विषय सोही मन्त्रालयले हेर्नेछ ।’
मुख्यमन्त्री संगको भेटमा गिरीले आफुले विभिन्न पाँच वटा विधामा विश्व रेकर्ड राख्न सफल भएको जानकारी गराएका थिए। राप्ती गाउँपालिका–४ मौरीघाट निवासी गिरीले भर्याङ्गको ५० खुड्किला हातले टेकेर सबै भन्दा छिटो हिड्ने विधा १२.६५ सेकेण्डमा पुरा गरी विश्व रेकर्ड बनाउन सफल भएका थिए ।
त्यसपछी सोही विधाको ७५ खुड्किला २५.०३ सेकेन्डमा दोस्रो विश्व रेकर्ड कायम गर्न सफल भएको, खुट्टाको विचमा फुटवल च्यापेर ५० मिटर समथर जमिनमा उल्टो भई छिटो हिडेर २५.५८ सेकेण्डमा तेस्रो रेकर्ड कायम गरेको, सोही विधामा १० मिटर ४.४९ सेकेण्डमा चौथो रेकर्ड बनाउन सफल भएको जानकारी दिए।
यस्तै टायरलाई सन्तुलन गर्दै एक मिनेटमा १२० पटक स्किपिङ खेली पाँचौं विश्व कृतिमान बनाउन सफल भएका थिए।
हालै नेपाली सेनाले गिरीलाई नगद सहित पुरस्कृत समेत गरेको थियो । मुख्यमन्त्री आचार्य सहित शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा(रोज राणा), स्वास्थ्यमन्त्री खेमबहादुर सारु, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्डविक्रम न्यौपानेलाई आफुले बनाएको रेकर्ड बारे जानकारी गराएका थिए।




