बुटवल । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी चुनावअघि संविधान संशोधन हुन सक्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोखरेलले संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्दै संविधान संशोधन हुनुपर्ने बताए ।
उनले प्रमुख प्रतिपक्षीसहित अन्य विपक्षी दललाई साथमा लिएर संविधान संशोधन गरिने बताए । उनले संविधान संशोधनका निम्ति केन्द्रदेखि स्थानीय तहसम्मका सबै दलसँग सहकार्य गरिने स्पष्ट गरे ।
महासचिव पोखरेलले राष्ट्र निर्माणको उद्देश्यका साथ एमाले र कांग्रेसबीच सहकार्य भएको तथा सरकारका काम प्रभावकारी ढङ्गले सम्पादन गर्न द्विदलीय संयन्त्र गठन भएको जानकारी दिए ।




