काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भक्तपुरको बालकोटमा तीन घण्टा छलफल भएको छ ।
लामो मौनता तोड्दै प्रमुख दुई ठूला दल कांग्रेस र एमालेका शीर्ष नेताबीच शनिवार दिउँसो झण्डै तीन घण्टा छलफल भएको हो । ओलीलाई भेट्न देउवा उनकै निवास बालकोट गएका थिए ।
पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको कांग्रेस स्रोतले जानकारी दियो । पत्नी डा आरजु राणासहित सभापति देउवा बालकोट गएका हुन् ।
राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा हेरफेर र आर्थिक अवस्था सुधारका लागि प्रमुख दुई दल मिल्नुपर्ने बहस भइरहेको बेला कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच छलफल भएको हो ।
भेटमा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नेलगायत विषयमा छलफल भएको स्रोतले बतायो ।दिउँसो २ः१५ मा बालकोट पुगेका देउवा ५ः१५ मा बाहिरिएका थिए ।
२०७९ मंसिरको चुनावपछि कांग्रेस र एमालेबीच नयाँ सरकारबारे संवाद भएको थियो । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि दुई दलबीच संवादहीनताको स्थिति सिर्जना भएको थियो ।
२०८० फागुन ३० गते प्रतिनिधिसभामा प्रचण्डले विश्वासको मत लिने क्रममा ओलीले विगतमा संवाद गरौँ भन्दा देउवाले अस्वीकार गरेको बताएका थिए । लगत्तै देउवाले अब कुराकानी गर्ने जवाफ फर्काए ।
गत वैशाखको शुरूमा दुई दलबीच पुनः संवाद शुरू भएको थियो । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ औं वर्षगाँठको कार्यक्रममा एमालेले देउवालाई महत्वका साथ कार्यक्रममा बोलाएको थियो । त्यही बेला दुई दल नजिकिएका थिए ।
त्यसपछि टाढिएका कांग्रेस र एमालेका शीर्ष नेताबीच पुनः संवाद शुरू भएको हो । ओली र देउवाबीचको पछिल्लो संवादलाई महत्वपूर्ण राजनीतिक घटनाक्रमको रूपमा हेरिएको छ ।




