काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एकता राष्ट्रिय अभियान)का संयोजक वामदेव गौतमलाई वरिष्ठ नेता बन्न प्रस्ताव गरेका छन् । सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा पार्टी एकताबारेको छलफलमा गौतमले भने सक्रिय भूमिकाको माग राखेका छन् ।
“उहाँले मलाई वरिष्ठ नेता बन्नुस् भन्ने प्रस्ताव गर्नुभयो । मलाई यस्तो किसिमको जिम्मेवारी हुनुपर्छ । केही न केही गरेको हुनुपर्छ,” गौतमले नेपाललाई भनेका छन्,, “त्यस्तो किसिमको जिम्मेवारी नहुने वरिष्ठ नेतामात्रै बन्ने चिजले त भएको क्षमता पनि समाप्त हुन्छ । काम गर्दै गरे क्षमता कायम हुन्छ ।”
उनले कार्यक्षेत्रबिनाको भूमिका आफूलाई स्वीकार्य नहुने जवाफ दिएका छन् । “वरिष्ठ नेताको कार्यक्षेत्र केही छैन । केही नभएको कार्यक्षेत्र लिएर काम गर्न सकिन्नँ,” नेपाललाई दिएको जवाफबारे गौतमले भने ।
नेपालले पार्टीको विधान अनुसारको पद दिइने भन्दै थप छलफल गर्ने बताएका छन् । “उहाँले विधानअनुसार जे निर्णय गरेका छौँ । विचार विमर्श गर्ने कुरा हो गरौँला भन्ने कुरा गनुभएको छ,” गौतमले नेपालको धारणाबारे भने ।
पछिल्लो समय एकीकृत समाजवादीमा समाहित हुन गौतमको छलफल चलिरहेको छ ।




