सैनामैना । दशकअघि थारू गाउँका बस्तीहरुमा विशेषगरी माटो र खपडाले छाएको घर हुन्थे । जसको अगाडि सडकसँगै गाइबस्तु बाध्ने गोठ पनि । बाटो नै साँधुरो हुनेगरि गाइबस्तु बाध्दा छेउछाउ हिलाम्मे, दुर्गन्धित एवम् सडक दुर्घटना हुने सम्मको जोखिम मोल्नुपर्दथ्यो । रुपन्देहीको साविक पर्रोहा, दूधराक्ष र सालझण्डीका भित्री बस्तीमा थारू जातिको बाहुल्यता परापूर्वकालदेखि नै छ ।
पूर्व पश्चिम राजमार्गको सडकबाट नजिकै रहेका थारू गाउँ पनि सडक पूर्वाधार विकासको दृष्टिले निकै पछि थियो । तर, पछिल्लो समय साविकका गाविसअन्तर्गत सैनामैना नगरपालिकका थारू गाउँका बस्तीहरुको मुहार फेरिएको छ । किनकि “उज्यालो थारू गाउँ” नामक अभियान नै सुरु भएको छ । स्थानीय तहको निर्वाचन २०७९ मा नगरपालिकाको मेयरको रुपमा फणेन्द्रप्रसाद शर्मा नेतृत्वको स्थानीय सरकार नर्वाचित भएर आएपछि पुराना र पछाडि परेका थारू गाउँको उत्थान र विकासका निम्ति शर्माले यो योजना अगाडि बढाएका हुन् ।
पुरानो थारू बस्तीको रुपमा चिनिएको सैनामैना—४ लेडुवाका ७६ वर्षीय जगनारायण थारूको घरमा अहिले पनि ४ वटा भैंसी छन् । फिल्ड भिजिटमा भैंसी चराउँदै भेटिएका थारूले लामोसमयसम्म घरकै अगाडि गाइबस्तु बाँध्ने गरेको सुनाए । उनले भने —“पहिले पहिले घरकै अघि गोठ, घाँस—पराल काट्ने छाटी, गडासा मेसिन, धानका भकारी, गुइठा राखिन्थ्यो, तर अहिले विकासले कोल्टे फेर्यो, वर्षायाममा घुडाँसम्म हिलो हुने बाटो अहिले व्यवस्थित भए ।” बर्खे झरी पर्दा बाटोमा हिलो भाँसिएर हिड्न सकस हुन्थ्यो भने हिउँदमा धुलैधुलो हुने बाटो अहिले चिल्ला पक्की बने । बाटो निर्माणसँगै गाउँका स्थानीयलाई हिंड्डुल गर्न सहज भएको बताउँछन् ।
जगनारायणले भने जस्तै सैनामैनाका थारू बस्ती परिवर्तनका लागि आर्थिक वर्ष २०७९/०८० देखि उज्यालो थारू गाउँ नामक अभियान सुरु भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको नीति तथा कार्यक्रमबाट कूल १ करोड १४ लाख ६३ हजार ४ सय ३६ दशमलव २३ रुपैयाँको लागत अनुमान गरि निर्माण कार्य सुरु गरेको थियो । नगरपालिकाले ५ ओटा पुराना थारू सैनामैना वडा–१ को पर्रोहा थारू गाउँ, वडा–५ बुद्धानगरको पकलभेडवा, वडा–८ को भड्छा र वडा–११ को ताली विचौवापूर थारू गाउँलाई पहिलो चरणमा उज्यालो गाउँ अभियानअर्न्तगत विकास निर्माणको काम भएको हो ।
कक्षपति विल्डर्स प्राइभेट लिमिटेड टोखा–१० काठमाडौंले ८३ लाख ६३ हजार ८ सय ११ दशमलव ८२ रुपैयाँमा ठेक्का सम्झौता गरि काम अगाडि बढाएको हो । जसमा ८३ लाख १२ हजार ४ सय १८ दशमलव ८६ रुपैयाँ कुल खर्च गरि सैनामैनाका पाँच वटा थारू गाउँको मुहार फेरिएको छ ।
जिजुबुबा हजुरबुबा भन्दा पहिलैदेखि नै लखनपारा गाउँ थारू बस्तीका रुपमा विकास भएको ६५ वर्षीय दसीया थारू बताउँछिन् । तराईमा पहिला थारूहरुकै मात्र बसोबास सदियौदेखि रहिआएको बुढापाकाबाट सुनेको हो, दसीया भन्छिन्— “यहाँका पुरानो थारू गाउँ हरेक हिसावले पछाडि नै थियो, खानेपानी, बाटोघाटो, बिजुलीबत्ती लगायतका विकासमा पछि परेको गाउँको उचित संरक्षणको अभावमै ओझेलमा पर्ने गर्थ्यो, तर अहिले स्थानीय सरकारले थारू गाउँलाई विकास र संरक्षण गर्न चलाएको अभियान सकारात्मक छ ।”
लेडुवा गाउँका ३५ वार्षीया मीना क्ुमारी थारूले गाउँमा सडक र बत्ती आएपछि गाउँलेको जीवनशैली नै बदलिएको बताउँछिन् । बजारभन्दा थारू बस्तीको बसाई अलि टाढा नै हुँदा यहाँका नागरिक हरेक हिसाबले पछि नै थिए । उनले भनिन्—“पहिला यहाँका गाउँको बाटो कच्ची थिए, बाटोमा वरिपरि गोरु, भैँसी बाध्ने चलन पनि । वस्तुभाउँबाट उत्सर्जित मलमूत्रले फोहोर हुन्थ्यो भने बाटो हिंड्ने मान्छेलाई गोरुले हान्ने डर । कहिलेकाँही त बाटोमा बाँधिएको गोरु भैँसीले हानेर सामान्य घाइते समेत बने, तर पछिल्लो समय नगरपालिकाका जनप्रतिनिधिले देखाएको सक्रियताले गाउँको कच्ची बाटो सडक बन्यो, नाली निर्माण भयो, घर–घर अगाडि उज्यालो बत्ती बले । जसले गर्दा यहाँका नागरिकले स्थानीय सरकार भएको महसुस गरेका छन् । पहिला फोहोर हुने बाटो आज गाउँले समूहिक रुपमै सरसफाईमा ध्यान दिने गरेका छन् जसले चेतनाको स्तर पनि बढाएको छ ।”
उनी मात्र हैनन्, सैनामैना–५ बुद्धनगरको पकलभेडा गाउँका रोगाही थारूले पनि गाउँमा ठूलो परिवर्तन आएको बताए । थारूले जीवन चलाउन धेरै समय हरुवा चरुवा, मेला मजदुरी, गाईभैँसी र भेडाबाख्राको गोठालो गरेरै बिताए । उतिबेला उनले भोगेका कैयौँ अनुभव अहिले आफैँलाई नयाँ लाग्छ ।
उनले भोगेका अनुभव सुनाउँदै भने– ‘यो गाउँमा पुर्खौदेखि बस्दै आएका थारूहरुको मात्र बसाई थियो । एकैठाउँमा नजिक नजिक घर बनाएर बस्ने गर्थे थारू समुदाय । उ बेला बिजुली बत्ती हुदैन्थो, साँघुरो बाटो, वर्षायाममा घुडाँ घडासम्म हिलो, हिउँदमा धुलो ।’ उनी विकासका कुनै पनि पूर्वाधारले नजोडिएको गाउँमा बिजुलीबत्ती र सडक पुगेकोमा खुसी छन् । गाउँमा यसरी मोटर गाडी गुड्ला, बिजुलीबत्तीले गाउँ घर झिलिमिली होला भन्ने उनले कहिल्लै कल्पना समेत गरेका थिएनन् । तर अहिले गाउँघरमै सरर गाडी गुड्दा, बिजुलीबत्तीले झिलिमिली हुँदा थारू दङ्ग छन् । विकास मात्रै होइन गाउँमै सडक गाडी, बिजुली, स्वास्थ्यचौकी, विद्यालय, र सरकारी कार्यालयलगायतका विकासका पूर्वाधार बने । विगतका दिनमा नेताहरुको ध्यान नगएको थारू गाउँमा अहिले नगरपालिकाले प्रथामिकता दिएर खुशी छु ।
पुरानो तथा ऐतिहासिक थारू गाउँको विकास तथा संरक्षण गर्ने उद्देश्यले उज्यालो गाउँ अभियान सुरु गरिएको सैनामैना नगरपालिका प्रमुख फणेन्द्रप्रसाद शर्माले बताए । उनी भन्छन्–“थारू समुदाय हरेक हिसाबले उत्पीडनमा परेको समुदाय हो । म आफू पनि थारू गाउँमा जन्मे हुर्के र थारू समुदायलाई नजिकबाट चिन्ने बुझ्ने मौका पाए । ५० वर्ष अगाडि थारू गाउँको जुन अवस्था थियो, वर्तमान अवस्थामा पनि त्यहाँ धेरै ठूलो फरक पाएन । सामाजिक र राजनीतिक जीवनमा प्रवेश गरेपछि उनीहरुको अवस्थालाई कहिले र कसरी परिवर्तन गर्न सकिएला भन्नेमा चिन्तित् थिए ।”
उनीहरुलाई शिक्षा, स्वास्थ्य रोजगार र पूर्वधारको पहूँचमा ल्याउने सपना बनाएको थियो, र सोही सपनालाई पूरा गर्ने अवसर आफू सैनामैना नगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि पाए र मेरो पहिलो प्रथामिकता थारू समुदायको संरक्षणका लागि उज्यालो थारू गाउँ अभियान बनाएको थिए । सोही योजनाअनुरुप अहिले निर्वाचित भएको पहिलो नीति तथा कार्यक्रमबाट बजेट विनियोजन गरी पालिकाका अधिकांश थारू गाउँलाई हिलो र धुलोमुक्त बनाउन कामको सुरुवात भयो । पहिलो वर्ष पाँच थारू गाउँका कच्ची सडकबाट पक्की सडक पुर्याउन सफल भएका छौँ, जसले नागरिकको दैनिकीमा सहजता आएको उल्लेख उनले गरे ।
नगरपालिकाको लगानीमा नगरभित्रका पुरानो थारू गाउँ पर्रोहा, लखनपारा, रन्यौरा, लेडुवा, बक्सड, पर्सावाल, खकनपुर, पकलभेडा, दुधराक्ष, भड्छा, विचौवापुर गाउँमा सडक निर्माण भएका हुन्, भने अझैँ केही गाउँमा पुर्याउनु पर्नेछ । नगरका थारू बस्तीलाई एकै पटक विकास गर्न बजेटले नपुग्दा हरेक वर्ष बजेट छुट्याएर निर्माण गर्दै आएका छौँ । बाटो विकासको मुख्य आधार भएकाले यसलाई प्राथमिकतामा राखेर विस्तार गरिएको उनको भनाइ छ । उनले भौतिक पूर्वधारसँगै स्थानीय थारू समुदायको जीवनस्तर उकास्नका लागि विभिन्न कार्यक्रमहरु समेत गरिने योजना रहेको बताए ।
आर्थिक वर्ष २०८१/०८२ मा उज्यालो गाउँ कार्यक्रमका लागि कूल १ करोड २८ लाख ८८ हजार ४ सय ९५ दशमलव ८४ रुपैयाँको लागत अनुमान गरिएको थियो । मेसर्सदेव कन्सट्रक्सन लुम्बिनी साँस्कृतिकले ८८ लाख ३५ हजार ९७ रुपैयाँमा ठेक्का सम्झौता गरी ८७ लाख ७५ हजार ४ सय ३ दशमलव ८६ रुपैयाँ कुल खर्च गरी सैनामैनाका आठ वटा थारू गाउँ सैनामैना वडा–१ को पर्रोहा थारू गाउँ, वडा–३ को पर्सावल, वडा–४ को लखनपारा, वडा–५ बुद्धनगरको पकलभेडवा, वडा–६ को दधराक्ष, वडा–८ को भड्छा, वडा–११ को ताली र विचौवापूर थारू गाउँमा निर्माणको काम भएको सैनामैना नगरपालिकाका इञ्जिनियर अरुण खनालले जानकारी दिए ।
यस्तै चालु आर्थिक वर्षका लागि ९९ लाख ९९ हजार ७ सय ५३ दशमलव ०२ कुल लागत अनुमान रहेको योजनामा श्री कृष्ण कन्सट्रक्सन सैनामैना–१० ले ६० लाख २९ हजार ६ सय ६५ दशमलव ६० मा ठेक्का सम्झौता गरेको छ । जसमा १० वटा थारू गाउँको पक्की बाटो, नाली निर्माण र बत्ती जडान गर्ने काम हुनेछ ।




