बुटवल । नेकपा एकीकृत समाजवादी पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आजदेखि सुरु हुँदैछ । बन्दसत्र प्रज्ञा प्रतिष्ठानमा हुने एकीकृत समाजवादीले जनाएको छ ।
बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र सांगठनिक प्रतिवेदनमा छलफल हुनेछ । दस्ताबेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिने एकीकृत समाजवादीले जनाएको छ । एमालेबाट अलग्गिएपछि एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गरेको हो ।
यो महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । अधिवेशनबाट सर्बसम्मत नेतृत्व चयन गर्ने प्रयास हुने नेताहरूको दाबी छ । अध्यक्षका लागि माधव नेपालका साथै महासचिव घनश्याम पनि भूसाल आकांक्षि छन् । सर्वसम्मत चयन हुने अवस्था नभए नेपाल र भूसाल प्यानलसहित निर्वाचनमा जानेछन् ।
महाधिवेशनको आइतबार प्रज्ञा प्रतिष्ठानमा उद्घाटन भएको थियो । नेकपा एकीकृत समाजवादीको नेतृत्व चयनका लागि हुने मतदानमा इलेक्ट्रोनिक मेसिन प्रयोग गर्ने भएको छ । विद्युतीय मतदान लागि पार्टी केन्द्रीय सचिवालय सदस्यहरुले डेमो प्रस्तुतसमेत गरेका छन् ।
दशौँ राष्ट्रिय महाधिवेशनका लागि झलनाथ खनालको अध्यक्षतामा १३ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । सोही मण्डलले महाधिवेशनको मतदान विद्युतीय माध्यमबाट गर्ने निर्णय गरेको हो ।




