बुटवल । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता साझेदारी गर्नेगरी सहमतिनजिक पुगेका छन् । दुई दलबीच सहमति भइसके पनि हस्ताक्षर हुन बाँकी रहेको कांग्रेस नेताहरुले बताएका छन् ।
ललितपुरको भिभान्ता होटलमा एमाले महासचिव शंकर पोखरेल र कांग्रेस नेता रमेश लेखकले सहमतिको खाका तयार गरेका थिए । लगत्तै, कांग्रेस नेताहरु बुढानीलकण्ठ पुगे भने एमाले नेताहरु बालकोट पुगेका थिए ।
अहिले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली राष्टपति निवास शीतलनिवास जान लागेको कांग्रेसका एक पदाधिकारीले जनाए ।
यस्तै ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र गृह मन्त्रालयसहित नेपाली कांग्रेसले १० वटा मन्त्रालय लिने सहमति भएको हो ।
त्यस्तै, एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने सहमति बनेको हो ।




