बुटवल । नेपाली काङ्ग्रेस र नेकपा एमाले नयाँ सत्ता साझेदार बन्ने भएका छन्। काँग्रेसले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अगाडि सारेसँगै एमाले र काँग्रेसको नयाँ सरकार बन्ने भएको छ।
यसैबिच नयाँ सरकार गठनबारे काँग्रेस र एमालेका नेताहरू मध्यरातमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमतिपछि काँग्रेस र एमालेका नेताहरू सोमबार राति राष्ट्रपति भवन पुगेका हुन् । राष्ट्रपति पौडेलसँग नयाँ सरकार गठन प्रक्रियाको बारेमा छलफल भएको स्रोतले बतायो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए । एमालेले उनलाई दिएको विश्वास मत फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । एमाले र काँग्रेसबिच राष्ट्रपति पौडेललाई राखेर नै नयाँ सरकार गठनबारे छलफल भएको छ ।
राष्ट्रपतिबाट पनि अवरोध आउन सक्ने सम्भावना टरेपछि दुवै दल सहमति अनुसार अगाडि बढ्ने भएका छन् । दुई दलका नेताहरूले एक आपसमा बसेर र सामूहिक रूपमा पनि सहमतिलाई अन्तिम रूप दिइसकेका छन्। सङ्घीय सरकारमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीले पहिले नेतृत्व गर्ने भएका छन्। त्यसपछि चुनावी सरकारको नेतृत्व देउवाले गर्ने सहमति भएको स्रोतको दाबी छ।




