भैरहवा । श्रीपञ्चमीका दिन देशभर विद्याकी देवी अर्थात् सरस्वतीको पूजा–आराधना गरी विविध कार्यक्रम आयोजना गरि सरस्वती पूजा मनाईएको छ । रुपन्देहीको मायादेवी–४ मा अवस्थित लुम्बिनी शिक्षा निकेतनले सरस्वती पूजाको अवसर पारेर विभिन्न विधामा गरेको अतिरिक्त क्रियाकलाप र शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।
विद्यालयले कक्षागत र अन्तर सदनात्मक रुपमा खेलकुद तथा अतिरिक्त क्रियाकलापका उत्कृष्ट विद्यार्थीहरुलाई लुम्बिनीका वरिष्ठ पुरातत्वविद् डा. बसन्त विडारीको प्रमुख अतिथ्यतामा पुरस्कार वितरण गरेको हो । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन पर्ने यो दिनमा सरस्वतीको पूजा तथा आराधना गर्ने गरिन्छ सोही अवसर पारेर विद्यालयले पनि हरेका वर्ष विविध कार्यक्रम गरि मनाउदै आएको विद्यालयका अध्यक्ष गोविन्द ज्ञवालीले भने । विद्यालयले पढाईको साथ साथै विद्यार्थीको अन्तरनिहित प्रतिभालाई जोड दिदै प्रतिभाअनुसारकै प्रशिक्षकबाट प्रशिक्षण गर्दै आएको उनले भने ।
कार्यक्रमकै अवसर पारेर विद्यालयमा हस्तकला प्रदर्शन समेत गरिएको छ । विद्यार्थीहरुको मनोबलबढाउन विद्यार्थीहरुले गरेको प्रोजेक्ट वर्कलाई विद्यालय परिसरमा प्रदर्शन गरिएको विद्यालयका प्रबन्ध निर्देशक पिताम्बर न्यौपाने बताए । गत वर्ष पनि सरस्वती पुजाकोे अवसर पारेर कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले एक विद्यार्थी एक पुस्तक संकलन गरी विद्यालय परिसरमा पुस्तक प्रदर्शनी तथा मेला गरेका उनले भने ।
सौधान्तिक भन्दा पनि अन्य पुस्तकहरु पढ्नमा प्रेरित गर्न, अतिरिक्त पुस्तकहरुको पढ्ने बानीको विकास गर्न र पछिल्लो समय विद्यार्थीहरुमा पुस्तकप्रतिको रुची घट्दो अवस्थामा पुस्तक मेलाले विद्यार्थीहरुमा पढाईप्रति रुची अभिबृद्धि गर्ने विश्वासका साथ विद्यार्थीहरुकै सक्रियतामा पुस्तक मेला आयोजना गरि पुस्तकाल र ल्याबको स्थापना गरिएको न्यौपानेले भने ।
आजको दिन विद्यालय नपठाईएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराए ज्ञान, विद्या, बुद्धि बढ्ने जनविश्वास रहेकोले विद्यालयमा निशुल्क भर्ना गरिएको छ । यो दिन बालबालिकाहरूलाई लेखपढ गर्न सिकाए उनीहरूले राम्रो विद्याआर्जन गर्ने धार्मिक विश्वास रहेको छ । विद्यालयमा स्थापना भएको सरस्वती मन्दिरमा सरस्वतीको प्रार्थना गरि सरस्वति पूजा समेत मनाइएको विद्यालयका प्राचार्य नामदेव अर्यालले बताए ।
लुम्बिनी शिक्षा निकेतन बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको उत्कृष्ट विद्यालयको रुपमा रहेको छ । ९ सय बढि विद्यार्थी रहेको विद्यालयमा बालविकास देखि कक्षा १० सम्मको अध्यापन हुने गरेकोमा कक्षा ११ र १२ संचालनको लागि तयारीमा छ । विद्यालयले शैक्षिकका साथै अतिरिक्त क्रियाकलापमा जिल्ला स्तरमै उचच मर्यादा राख्न सफल भएको विद्यालयका सहायक प्राचार्य जोखन यादवले बताए ।

यस्तै श्रीपञ्चमी अर्थात सरस्वती पुजाको अवसरमा भैरहवा लागयत शैक्षिक संस्थाले सामुहिक पूजापाठ गरेका छन । अधिकांस शैक्षिक संस्थाले पुजाको अवसर पारेर नि ः शुल्क भर्ना लगायतका सुविधा दिइ सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वती माताको पुजा, भक्ती अनि आरधना गराउदै साना साना भाई बहिनीहरुलाई अक्षराम्भ गर्दै सरस्वती पुजा मनाएका छन ।
विशेषगरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आआफ्ना कलासाधनाका उपादानहरु कापी, कलम, वाद्ययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजा गरेका छन । यही दिन बालबालिकालाई अक्षर आरम्भगराउने सर्वोत्तम दिन मानेर पठनपठन पनि सुरु गराउने गरिन्छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाउने गरिन्छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ ।
वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने, विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने र आजैको दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । यो दिन बालबालिकालाई शिक्षारम्भका साथै नाक–कान छेडिदिने प्रचलन छ ।





