काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको दबाबमा नपरी प्रमाण र तथ्यमा आधारित भएर न्यायसंगत अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब परिसरमा निर्मित ‘द ब्लु पेभिलियन’को शनिबार उद्घाटन गर्दै उनले देशमा विधिको शासन तथा शान्ति सुरक्षा कायम गर्ने काममा दृढताका साथ अघि बढ्न निर्देशन दिएका हुन् ।
“तपाईंहरू जनताको अपेक्षाअनुसार चल्नुपर्छ । जनताले प्रहरीबाट निष्पक्ष र असल व्यवहारको अपेक्षा गरेका छन् । त्यसैले तपाईंहरू संविधान र कानुनबमोजिम देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुस्,” प्रधानमन्त्री ओलीले भने, “कुनै तस्कर, भ्रष्ट र ठगहरूमाथि निर्धक्क भएर अनुसन्धान गर्नुस् । मुलुकमा शान्ति सुव्यवस्था कायमका साथै राष्ट्रिय हित र एकतालाई ध्यान दिएर अझ प्रभावकारी रूपमा काम गर्नुस् ।”
प्रधानमन्त्री ओलीले नेपाल प्रहरीलाई सबै प्रहरीको घरका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।वि.सं. २०७७ जेठ ११ गते शिलान्यास गरिएको उक्त प्याभिलियन ७५ करोड ८७ लाख रुपैयाँमा निर्माण भएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको इतिहास भाग–२ को विमोचन गरे । भवन निर्माणमा योगदान दिने अधिकारी, प्राविधिक र निर्माणकर्तालाई सम्मान प्रदान पनि गरे ।
सोही कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रधानमन्त्री ओलीमार्फत प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा ७४ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको ऐन संशोधनको विधेयक संसद्मा पेस भएको र यसमा आउने रचनात्मक सुझावलाई परिमार्जनमा समावेश गरेर चाँडो पारित गरिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद धु्रवबहादुर प्रधानलगायत उपस्थित थिए । रासस




