बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रेस स्वतन्त्रता ,अभिब्यक्ति स्वतन्त्रता र नागरिकको मौलिक हक तलमाथि हुनेगरी पार्टीले कसैसँग कुनै किसिमको सम्झौता नगर्ने बताएका छन् ।
बुधबार बुटवलमा आयोजित नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशन उदघाटन गर्दै महामन्त्री थापाले प्रेस स्वतन्त्रता र नागरिकका मौलिक हक स्थापित गर्न कांग्रेसले लामो समय संघर्ष गरेकोले त्यसमा कांग्रेसले कुनै सम्झौता नगर्ने बताएका हुन् ।
नेपाली कांग्रेस स्थपापनाकालदेखि समानुपातिक समावेशीताको सिद्धान्त अवलम्बन गरेको उदाहरण दिदै उनले संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशीतालाई कांग्रेसले कहिल्यै नछाड्ने दाबी गरे ।
बर्तमान सरकार कांग्रेसले चाहेर र कांग्रेसको प्रयासका कारण गठन भएको नभई समय र परिस्थितिको उपज भएको भन्दै महामन्त्री थापाले यो तीन बर्षको अवधिलाई जनताको पक्षमा अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
भएका अधिकार कटौती गर्नका लागि नभएर संविधानमा भएका अस्पष्टता र अफ्ठ्यारा फुकाउनका लागि संविधान संशोधनको कुरा उठेको भन्दै उनले भएका प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि संविधान संशोधन गर्न लागिएको दाबी गरे ।
पार्टीको आगामी महाधिवेशन पुर्वनिर्धारित समयमै हुने भन्दै उनले महाधिवेशनसँग सम्बन्धित आवश्यक प्रक्रिया अगाडि बढाउन पनि उनले नेता कार्यकर्ताहरूलाई आग्रह गरे ।
थापाले शुसिल कोईरालाको नेतृत्वमा बनेको र शेर बहादुर केसीको पालामा कार्यान्वयन प्रारम्भ गरेको संविधानको जिम्मा आफुहरुले नै लिुनुपर्ने बताए । यो संविधानको जिम्मा, स्वामित्व लिँदै सबैको चित्त बुझाउने काम पनि कांग्रेसको भएको तर्क गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले रुपन्देहीको तिलोत्तमा र सिद्धार्थ नगर नगरपालिका भित्र आउने आगामी आर्थिक वर्ष भित्र मुस्लीमसमुदायको दाहसंस्कार बन्ने जिकिर गरे।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाको विधानअनुसार नियमित महाधिवेशन हुन आवश्यक रहेको बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेल,नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलगायका नेताहरूले आ आफ्नो भनाइ राखेका थिए । अधिवेशनले संघको नयाँ नेतृत्व समेत चयन गर्ने जनाइएको छ ।नेपाल मुस्लिम सङ्घ लुम्बिनी प्रदेश समिति अध्यक्ष जाकिर हुसेनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।




