बुटवल । नेपाल समाजवादी पार्टी (नयां शक्ति)को हालै सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशन नेपालका अन्य राजनीतिक दलहरुको महाधिवेशन भन्दा धेरै फरक र उन्नत ढंगले सम्पन्न भएको नव निर्वाचित केन्द्रीय सदस्य शुशिला पुलामी घर्तीले बताएकी छन् । पार्टीको महाधिवेशन अन्तर्गन नयां नेतृत्व चयन प्रकृया पूर्ण लोकतान्त्रिक र समावेशी एवं सहभागितामूलक भएको घर्तीले बताइन् ।
महाधिवेशनमा पहिलोपटक विदेशमा बस्ने पार्टीका प्रतिनिधिले अनलाइनमार्फत मतदान गर्न पाएका, अध्यक्ष पछिको उपाध्यक्ष पदमा पहिलोपटक समावेशी समुहबाट चुन्ने व्यवस्था, केन्द्रीय सदस्यमा एउटै क्लस्टररका उम्मेदवारबीच प्रतिस्पर्धा गराइएको,उम्मेदवारलाई ‘नो भोट’ गर्न पाउने प्रावधानको प्रारम्भ र नेतृत्वमा महिलाको ३३ प्रतिशत सहभागिता र युवाको समेत उल्लेख्य प्रतिनिधित्व व्यवहारमै कार्यान्वयन भएको हुंदा नेसपा नयां शक्ति पार्टी विचार, नीति, सिद्धान्त र व्यवहार हरेक कुरामा सच्चा वैकल्पिक पार्टी पुष्टी भएको घर्तीले दावी गरिन् ।
पार्टीको केन्द्रीय सदस्यमा बुटवलका २२ वर्षिय युवा अमित खनाल चुनाव लडेर विजयी हुनुले पार्टीप्रति युवाको आकर्षण बढ्ने घर्तीले दावी गरिन् ।
‘नेपाली राजनीतिमा नेसपा नयां शक्ति व्यवहारमै अग्रगामी विचार र दर्शनसहितको वैकल्पिक पार्टी भएको छ’–घर्तीले भनिन्–‘सबै समावेशी समूहबाटनै प्रतिस्पर्धा गरेर खुल्ला, महिला ३३ प्रतिशत र ४० प्रतिशत युवा जसमा २० प्रतिशत पुरुष युवा र २० प्रतिशत युवा महिलाको सहभागिताले यो पार्टी समानुपातिक समावेशी र युवा तथा महिला निर्णायक तहमा भएको पार्टी हो भन्ने पुष्टी भएको छ ।’
अध्यक्ष पदमा आफूले पढाएका विद्यार्थीले प्रतिस्पर्धा गर्दा पनि निर्वाचित अध्यक्ष डा. बाबुराम भट्टराईले कुनै द्वेष नराखी मित्रवत व्यवहार गरेको पनि अनुकरणीय उदाहरण भएको उनले बताइन् । अरु दलमा नेतृत्वमा प्रतिस्पर्धा गर्नेबीच शत्रुको जस्तो व्यवहार हुने तर नेसपामा त्यो नभएको घर्तीले तर्क गरिन् ।
‘यो महाधिवेशनले पार्टीमा विधि पद्दति र समानुपातिक सहभागितालाई सुनिश्चित गरेको छ’–नेतृ घर्तीले भनिन्–‘महाधिवेशनपछि आम नेता कार्यकर्तामा उत्साह जागेको छ, पुराना दल र नयां भनिएका दलप्रति देशव्यापी वितृष्णा देखिएको छ, यस्तो अवस्थामा नेसपा नयां शक्ति अब देशव्यापी संगठन निर्माणमा अघि बढ्छ र २०८४ को चुनावसम्म वैकल्पिक शक्ति बन्छ ।’
नेतृ घर्तीले आफूले २०८४ को स्थानीय चुनावमा बुटवल उपमहानगरको नेतृत्व लिने गरी गृहकार्य गरेको समेत खुलाइन् । २०५४ सालदेखि राजनीतिमा क्रियाशील शुशिलाले आफू भुई तहका जनतादेखि उच्च वर्गसम्मका जनताको समस्या राम्रोसंग बुझेको र जनताको सेवामा दिनरात नभनी निस्वार्थ खटिन सक्ने व्यक्ति भएकाले उद्देश्यमा सफल हुने बताइन् । महाधिवेशनबाट रुपन्देहीका पंकज राई र कमल खनाल पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।




