श्रीकृष्ण सिग्देल
स्याङ्जा
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले जलवायु परिवर्तनले हाम्रा प्राकृतिक सम्पती जोखिममा रहेको बताएका छन् ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ जलबराह धार्मिक वनमा निर्माण भएको नेपालकै पहिलो नवग्रह मन्दिरको अनुष्ठान, गिता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवको उद्घाटन गर्दै संस्कृति मन्त्री पाण्डेले प्राकृतिक सन्तुलन नमिल्दा हाम्रा सम्पति जोखिममा परेको बताएका हुन् । ‘अहिले ब्रहमाण्डले सन्तुलन खोजिरहेको छ,’ उनले भने–‘पृथ्वीले सन्तुलन खोजीरहेको छ, हिमालले सन्तुलन खोजी रहेको छ, वायु, ताप लगायतले सन्तुलन खोजीरहेका छन्, वायु प्रदूषणको प्रभाव विश्वभरी फैलिएको छ यसको प्रभाव नेपालमा पनि परेको छ यसलाई सन्तुलनमा ल्याउनुपर्छ ।’ मानव सभ्यता र जलवायु सन्तुलन बचाउन यो नवग्रह मन्दिरले महत्वपुर्ण भूमिका खेल्ने मन्त्री पाण्डेले बताए ।
पृथ्वीमा प्राकृतिक सन्तुलन नमिल्दा ब्रहमाण्डको सन्तुलन, धार्मिक सन्तुलन गुम्दै गरेको बताउँदै मन्त्री पाण्डेले बायुमण्डलीय प्रदूषण बढ्दा हिमालहरु काला हुन थालेकोले प्राकृति बचाउन नसके पुरै विश्वमा खतरा बढ्ने बताए । सानो भुगोल भएको हाम्रो देशमा धेरै विविधता रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले बायुमण्डलले सन्तुलन गुमाउँदा हाम्रा सम्पदाहरु पनि खतरामा परेको बताए । ‘विश्वका मान्छेलाई नेपालको विविधता हेर्न ल्याउनुपर्ने छ,’ मन्त्री पाण्डेले भने–‘धर्म, जात र भाषालाई विश्वास र सम्मान गर्ने देशको रुपमा नेपाललाई परिचित गराउनुपर्छ । हाम्रा संस्कार र संस्कृतिलाई बचाई राख्न यस्ता नयाँ आयमहरुको खोजी गर्नुपर्छ ।’
स्याङ्जामा निर्माण भएको नवग्रहले आलमदेवीदेखि मुक्तिनाथ जस्ता धार्मिक स्थललाई जोडनुपर्ने बताउँदै मन्त्री पाण्डेले अब हजारौं धार्मिक दर्शनार्थी भित्राउनुपर्ने बताए । जल, जमिन, जडीबुटी, वनलगायतका प्राकृतिक हिसाबले नेपाल धनी रहेकाले यसलाई जोगाइराख्ने चुनौती हामीसँग रहेको बताए । मुलुकको आर्थिक चलायमान बनाउन पनि यस्ता धार्मिक स्थलहरुले महत्वपूर्ण भूमिका खेल्ने मन्त्री पाण्डेले बताए । १४४ वर्षमा आएको महाकुम्भको समयमा महाशिवरात्रिको अवसर पारेर अर्जुनचौपारी गाउँपालिकाले नवग्रह मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठान र धार्मिक महोत्सव आयोजना गरेको हो ।
कार्यक्रममा संघीय सांसद राजु थापाले स्याङ्जाको विकासका लागि सिद्धार्थ राजमार्गको स्तरोन्नती आवश्यक रहेको बताए । राजमार्गको स्तरोन्नतीसँगै यस्ता धार्मिक स्थलहरुमा पर्यटकहरु आउन सहज हुने सांसद थापाको भनाइ थियो । गण्डकी प्रदेश सांसद कल्पना तिवारी, गाउँपालिका अध्यक्ष प्रकाश तिवारी, उपाध्यक्ष सपना गुरुङलगायतका वक्ताहरुले धार्मिक महत्व बोकेका मन्दिरहरुको स्थापनाले जिल्लाको पर्यटन विकास र आर्थिक विकासमा टेवा पुग्ने बताएका थिए । अर्जुनचौपारीमा आजदेखि सुरु भएको धार्मिक महोत्सव फागुन १४ गतेसम्म सञ्चालन हुनेछ । ९ दिनसम्म चल्ने धार्मिक महोत्सवमा नेपाल र भारतका धार्मिक गुरुहरुले प्रवचन दिने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।
१५७ रोपनी क्षेत्रफलमा फैलिएको यस धार्मिक वनमा नवभुज आकारको आकाशतर्फ फर्केको २७ फिट अग्लो नवग्रह मन्दिर निर्माण गरिएको छ । पिलरको १४ फिटमा सूर्य, शुक्र, केतु, चन्द्र, मङगल, बुध, शनि, वृहस्पती र राहुका प्रतीक राखिएको छ भने पिलरको नौ वटा भुजामा ग्रहअनुसारका रङ लगाइएको छ । नवग्रह मन्दिरसँगै षट्कोण शिवालय बनाइएको छ । षट्कोण शिवालयको बिचमा पशुपतिनाथको जस्तै पञ्चमुखी शिवलिङ्ग र कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमानको मूर्ति राखिएको छ । सबै देवी देवतालाई समेटेर निर्माण गरिएको नवग्रह मन्दिर पालिकाको धार्मिक पर्यटकीय क्ष्नेत्रको हवका रुपमा परिचित हुने विश्वास लिइएको छ ।
यसैबिच संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले स्याङ्जाको पुतलीबजारमा आयोजना गरिएको सातौ स्याङ्जा महोत्सवको समेत उद्घाटन गरेका छन् । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको सातौ महोत्सवको उद्घाटन गर्दै मन्त्री पाण्डेले यस्ता मेला महोत्सव आर्थिक चलायमानका सूचक रहेको बताएका थिए । महोत्सव फागुन ६ गतेदेखि फागुन १८ गतेसम्म चल्ने छ ।




