बुटवल । नेपाली कांग्रेसमा १५औँ महाधिवेशनबाट पार्टी सत्ताको शीर्ष तहमा पुग्न रणनीतिक र नीतिगत रूपमा नेताहरूको दौड सुरु भइसकेको छ । सभापतिका आकाङ्क्षीहरूका पनि आ–आफ्नै दु:ख छ, कसैलाई सभापति देउवाको आशीर्वाद चाहिएको छ भने कसैलाई कार्यकर्तामा पहुँच विस्तार गर्नु छ । कसैलाई कार्यकर्ताको पहुँचमा पुग्दै गरेको नेताहरूलाई रोक्न सभापतिबाट आदेश चाहिएको छ ।
२ फागनुमा संस्थापन समूहका नेताहरू गएर सभापति शेरबहादुर देउवालाई भने, ‘पार्टीभन्दा व्यक्ति बलियो हुने गरी गतिविधि भइरहेको छ, सभापतिले एक्सन लिनुपर्यो ।’ सो बेलामा कांग्रेसलाई बलियो बनाउने कुरा गर्न सभापतिकहाँ गएको प्रवक्ता प्रकाशशरण महत बताउँछन् । ‘पार्टीमा पार्टी सभापतिले बढी निगरानी र हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्यो । संस्था बलियो बनाउन ध्यान दिनुपर्यो भन्न हामी गएका हौँ,’ महतले भने, ‘अहिले नै निर्वाचन लागेको जस्तो व्यक्ति दौडिने प्रवृत्ति बढ्यो, अहिले पार्टी बलियो बनायो भने हामी सबै बलियो हुने हो, यही कुरा सभापतिलाई भन्यौँ ।’
कांग्रेसमा १४औँ महाधिवेशनको अन्तिम दिनबाट १५औँ महाधिवेशनको तयारीमा लागेका संस्थापनइतर समूहका नेता शेखर कोइराला देश दौडाहामा छन् । उनी कर्णाली र लुम्बिनी प्रदेशसँगै सुदूरपश्चिमका केही जिल्लामा पुगेका छन् । आइतबार कोइराला बाँकेमा छन् । सुदूरपश्चिमका जिल्ला सभापतिहरूको भेला सकेका कोइरालाले आफ्नो गृहप्रदेश कोशीमा पालिका सभापतिहरूको प्रशिक्षणसमेत गरेका थिए ।
महामन्त्री गगन थापाले मुख खोलेर १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने त भनेका छैनन्, तर इतर समूहका नेता शेखरलाई गगन सभापतिमा उठ्छन भन्नेमा शतप्रतिशत विश्वास लागेको छ । त्यसैले उनले एकल प्रयासमा भए पनि कार्यकर्तामाझ पुग्ने र आफू भए पनि उम्मेदवार बन्ने सन्देश दिइरहेका छन् । ८ फागुनमा सुर्खेतको वीरेन्द्रनगरमा नेपाली कांग्रेसको पूर्वआप्रवासी समन्वय विभागको जिल्ला सम्मेलनमा उनी पुग्दा स्वागतको तामझाम थियो । साे क्रममा कर्णालीका १० वटै जिल्लाका नेताहरूले काेइरालासँग भेटेर आफ्ना कुरा राखेका थिए । जिल्लाबाट कार्यकर्ता जोड्ने रणनीति लिएका शेखरका लागि सम्मेलन एउटा माध्यम बनेको थियो । १४औँ महाधिवशेनमा पनि केन्द्रीय सदस्यबाट सिधै सभापतिमा उम्मेदवारी दिएका उनले ६३ जिल्ला घुमेर नयाँ गुटमा जग हाल्ने काम गरेका थिए ।
पार्टीमा महामन्त्रीको भूमिकाले संस्थागत रूपमा काम गर्न पाएका छन् थापाले । मेची–महाकाली बृहत् अभियानको अवधारणा २०८० सालमै ल्याए पनि नेता कार्यकर्ताको पृष्ठपोषणबाट पछि हटेका थिए । सो अभियान नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलले गरिसकेपछि थापा केही समय पछि हटेका थिए । १३ माघ २०८० मा महामन्त्री थापाले मेची पुलबाट ‘मेची–महाकाली संवाद यात्रा’ समुदायमा कांग्रेसअन्तर्गत लिएर गएका थिए । हाल उनी लुम्बिनी र कर्णाली प्रदेशका सल्यान, रोल्पा, प्युठान जिल्ला सम्मेलनमा व्यस्त छन् । उनलाई पनि कार्यकर्ताले तामझामका साथ स्वागत गरेका छन् ।
संस्थापनइतर समूहका गतिविधिले सो समूहका नेता बलियो हुने सम्भावना भएकाले संस्थापन समूहका नेताहरूले सभापतिलाई पार्टी बलियो बनाउनुपर्ने कुरा राखेका हुन् । मुखमा आउन लागेको प्रधानमन्त्री पद र विधानअनुसार अब हुन नपाउने सभापति भएकाले देउवाले अहिले एक्सन लिन चाहेका छैनन् । यस्तोमा संस्थापन समूह कमजोर हुने चिन्ता नेताहरूमा छ । उनीहरूले अभिभावकत्व लिइराख्न भनेका छन् । आफूनिकट नेताहरूलाई मात्र बोलाउँदा सभापतिले गुट भेला गरेको सन्देश जाने भएकाले नेताहरू नै आउँदा आफूलाई सजिलो हुने जवाफ बूढानीलकण्ठ पुगेका नेताहरूलाई देउवाको थियो ।
उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापतिहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, शशाङ्क कोइराला, सहमहामन्त्री उमाकान्त चौधरी, प्रवक्ता प्रकाशशरण महत, नेताहरू एनपी साउद र बालकृष्ण खाँणलगायतका नेताहरू २ फागनुमा बूढानीलकण्ठ पुगेका थिए ।
तीमध्येमा सभापति खड्का, श्रेष्ठ, निधि, सिटौला, कोइराला र प्रकाशमान सिंह सभापतिको आकाङ्क्षी हुन् । पछिल्लो समय प्रवक्ता महतले पनि आफू कुनै हिसाबमा कम छैन भन्दै सभापतिमा दाबेदारी दिएका छन् । उनीहरूलाई सभापतिले वचन दिएमा वा सघाएमा आफूलाई सहज हुने बुझाइ छ । बूढानीलकण्ठ भेलाको अगुवाइ गरेका सिटौलाले १० फागनुमा आफ्नै निवास चण्डोलमा आफू पक्षीय नेताहरूको भेला राखे । सो भेलामा सिटौलाले सभापति देउवाको भनाइ पर्खिएको बताएका थिए ।
‘सिटौला दाइले सभापतिज्यूको कुरा प्रस्ट आएको छैन, पर्खिऔँ भन्नुभयो । राजाको पछिल्लो भनाइबारेमा कुरा भयो । अरु नियमित कुरा भयो,’ सिटौलानिकट नेता भीमसेनदास प्रधानले भने, ‘हाम्रो समूह एक छँदै छ ।’
निधि, सिंह र शशाङ्क पनि संवादमा छन् । उनीहरूबीच आगामी महाधिवशेनमा जो भए पनि एक मात्र हुने भनेर सल्लाह भइरहेको छ । सभापति देउवाले उनीहरूमध्ये जसलाई भन्छन्, उसैलाई मान्ने भनेर अघि बढेका सिंह, निधि र शशाङ्कमा सम्भावना बढी भएको नेताहरू बताउँछन् ।




