बुटवल । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकका लागि सम्भावित कार्यसूची पनि तय भएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीसौँ वार्षिक प्रतिवेदन आ.व. २०८०/८१ पेस गर्नेछन् । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
शेरबहादुर कुँवरले सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही जिल्लाका विपन्न र पछाडि परेका नागरिकहरूले विभिन्न अस्पतालबाट निःशुल्क सेवा पाउँदै आएकोमा नेपाल सरकार र प्रदेश सरकारबाट प्रदान गरिने अनुदान रकमको अभाबले गर्दा सेवाबाट बञ्चित हुने अवस्था आएकोले उक्त अस्पतालहरूबाट पाउँदै आइरहेको सेवाको निरन्तरता हुनुपर्ने सार्वजनिक महत्त्वको विषयमा स्वास्थ्य तथा जनसंख्यामन्त्रीको ध्यानाकर्षण गराउनेछन् । उक्त प्रस्तावमाथि दयालबहादुर शाही र पुष्प बहादुर शाहले स्पष्टीकरण माग गर्नेछन् ।
सांसद राजेन्द्र बजगाईले नेपालका ग्रामिण क्षेत्रमा बाँदर र जङ्गली सुँगुर (बँदेल) को आतङ्कबाट खेतीबाली नष्ट भई किसानहरूको सुरक्षामा समेत खतरा पैदा भएकाले समस्याको दीर्घकालीन समाधान गर्दै कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु व्यवस्थापन र वातावरणीय सन्तुलन कायम राख्नका लागि नीति निर्माण र कार्यान्वयनको आवश्यकता भएको विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गर्नेछन् । उक्त प्रस्तावमा उदय शमशेर ज.ब.रा. र सञ्जय कुमार गौतमले समर्थन गर्ने कार्यसूची छ ।




