बुटवल। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको १५औँ महाधिवेशन निर्धारित समयभित्रै गरिनुपर्ने बताएका छन् । उनले सकेसम्म २०८२ भित्र र नभए २०८४ को चुनाव प्रभावित नहुने गरी त्यसअघि नै महाधिवेशन हुनुपर्ने बताए ।
नेपाल प्रेस युनियन रूपन्देहीले गरेको पत्रकार सम्मेलनमा केसीले विशेष अवस्थामा ६ महिना थपे पनि चुनावलाई असर गर्ने भएकाले महाधिवेशन समयमै हुनुपर्ने बताए । चुनावपछि महाधिवेशन गर्नु उपयुक्त नहुने र यसले पार्टीको वैधानिक अस्तित्वमा नै संकट आउने उनको भनाइ छ । पार्टीभित्र समूहहरू बन्नु स्वाभाविक भए पनि स्वार्थका आधारमा बनेका समूहले पार्टी र देशलाई फाइदा नपुर्याउने उनले तर्क गरे ।
संविधान संशोधनका लागि गठबन्धन दलभित्र मात्र नभएर बाहिरका विज्ञहरूको समेतको सहभागितामा समिति बनाएर अघि बढ्नुपर्ने उनको भनाइ छ । भ्रष्टाचार नियन्त्रणका लागि ५ सय र १ हजारका नोट ब्यान्ड गर्न र शक्तिशाली छानबिन आयोग बनाउनुपर्ने उनको माग छ ।
१४औँ महाधिवेशनमा रहेको समूहलाई नै अगाडि बढाउनुपर्ने बताउँदै केसीले त्यसका लागि नेतृत्व गर्न आफू तयार रहेको संकेत गरे । कांग्रेसको अनुहार सरकारमा नदेखिएको बताउँदै केसीले दुई ठूला पार्टीको सहकार्यमा बनेको सरकार सन्तोषजनक नभएको टिप्पणी गरे । संविधान शंशोधनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले झुक्याएको उनले बताए ।
'प्रधानमन्त्रीले कुन परिवेशमा २०८७ मा शंशोधनको कुरा गर्नुभयो थाहा भएन तर सातबुँदे सहमतिको स्पिरिटविपरीत हो, यसो गरिनुहुँदैन,' उनले भने ।




