बुटवल । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बुटवल उपमहानगर कमिटीको तेस्रो अधिवेशनले निक्कै रस्साकस्सीबीच चुनावी प्रकृयाबाट नयां नेतृत्व चयन गरेको छ । बुटवलमा रहेका पार्टीको केही केन्द्रीय नेताहरु र अधिवेशनको अध्यक्ष मण्डलका अध्यक्षले आफू अनुकूलका व्यक्तिलाई नेतृत्वमा ल्याउने मनसायले चुनावी प्रकृयालाई विभिन्न बहानामा एक हप्तासम्म लम्ब्याएका थिए । तर पार्टीका प्रदेश अध्यक्ष सुदर्शन बरालले तत्काल चुनावी प्रकृया थाल्न निर्देशन दिएपछि चुनावबाट नेतृत्व चयन भएको हो । मतदानबाट महेन्द्र भुसाल अध्यक्षमा निर्वाचित भए । भुसालसंग नगर कमिटीका सचिव सागर न्यौपाने र निजामति कर्मचारी कृष्ण बन्जाडेले अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए ।
मतदानमा भुसालले २५ मत पाएर निर्वाचित हुंदा बन्जाडेले २१ र न्यौपानेले १२ मत पाएका थिए ।
उपाध्यक्षमा योगेन्द्र गौतम र लालबहादुर थापा निर्वाचनबाट निर्वाचित भए भने महिला उपााध्यक्षमा बसन्ता खनाल निर्विरोध निर्वाचित भएकी छन् । सचिवमा तुल्सीराम न्यौपाने, सहसचिवमा रचना श्रेष्ठ र कोषाध्यक्षमा पूर्णबहादुर परियार निर्वाचित भए ।
६ जना पदाधिकारीमा दुई प्यानल भएर निर्वाचन भएको थियो । अध्यक्षमा विजयी भुसालको प्यानललाई नेताहरु बलदेव खनाल, प्रदेश अध्यक्ष सुदर्शन बराल लगायतको आन्तरिक समर्थन थियो भने पराजित प्यानललाई बामदेव क्षेत्री, गोविन्द केसी, विनोद पहाडी लगायतको साथ रहेको माओवादी स्रोतले जानकारी दिएको छ ।
निर्वाचनमा विजयी भुसाल जनयुद्धमा आफन्त गुमाएका शहीद परिवारका हुन् । उनी युवा र व्यवसायी समेत हुन् ।
माओवादी केन्द्र बुटवलका एक सिनियर नेताले निजामति कर्मचारीको भूमिकामा रहेका व्यक्ति सोझै पार्टीको उपमहानगर कमिटीको नेतृत्वमा आउन खोज्नुलाई कार्यकर्ताले अलि हतार र न्यायोचित नभएको मूल्यांकन गरी पार्टीमा निरन्तर क्रियाशील, उद्यम व्यवसायमा पनि आवद्ध र युवा व्यक्तित्वलाई नेतृत्वमा चयन गरेको टिप्पणी गरे ।
केन्द्रका नेताले आफू अनुकूलको व्यक्ति र निर्णय लाद्न खोज्दैमा कार्यकर्ताले स्वीकार गरी हाल्दैनन्, कार्यकर्ता र आम जनताको मन जित्ने र भावना बुझ्ने व्यक्ति रुचाउंछन् भन्ने पुष्टी यो अधिवेशनले गरेको माओवादी नेताहरु बताउंछन् ।
नवनिर्वाचित पदाधिकारी सहित ६१ सदस्यीय नगर कमिटीको बिहीबार पदस्थापन भएको छ ।
पदाधिकारीलाई पदस्थापन गराउंदै माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले अब पार्टीमा स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयनको लोकतान्त्रिक पद्दति स्थापित भएको बताए । विगतमा माथिल्लो कमिटीले तल्ला कमिटी चयन गरिदिने परिपाटी रहेकोमा विधान महाधिवेशनपछि पार्टी नेतृत्व वडा तहदेखि नै कार्यकर्ताले चुनावमार्फत चयन गर्ने लोकतान्त्रिक विधिमा आएको बरालले स्पष्ट गरे ।
बुटवलको अधिवेशनले केन्द्रका पदाधिकारी र नेताहरुलाई गतिलो पाठ सिकाएको पनि अध्यक्ष बरालले टिप्पणी गरे ।
अध्यक्ष बरालले बुटवलको अधिवेशनमा अध्यक्ष मण्डलबाट निर्वाचन प्रकृया एक हप्तासम्म लम्ब्याउनु गलत भएको औंल्याउंदै स्वच्छ प्रतिस्पर्धाले जित्ने र हार्ने दुबै पक्षलाई कार्यकर्तामाझ आफ्नो स्थान कहां रहेछ भन्ने थाहा दिएको र चुनाव पछि एकतावद्ध भएर अघि बढ्न सहयोग हुने बताए ।
बुटवल उपमहानगर एउटा पालिका मात्र नभई पहाडका जिल्ला भन्दा धेरै जनसंख्या भएको रणनीतिक महत्वको उपमहानगर भएकाले यहांको नेतृत्वले लाखौं जनसंख्याको विश्वास जित्ने गरी उच्च सोंच, विवेक पुराएर पार्टीलाई हांक्न सक्नुपर्ने सुझाव दिए । पार्टी नेतृत्वको सफलता वा असफलता आगामी स्थानीय,प्रदेश र संघको चुनावमा आउने परिणामले देखाउने बरालले स्मरण गराए ।
नव निर्वाचित अध्यक्ष महेन्द्र भुसालले निर्वाचनको परिणामलाई बिर्सेर सबैलाई समेटेर पार्टीलाई बुटवलमा अन्य प्रतिस्पर्धी पार्टी सरहको हैसियतमा पु¥याउन दिनरात नभनी खटिने बताए । उनले पार्टीले अघि सारेको भ्रष्टाचार विरोधी र सुशासनको पक्षमा चलेको अभियानलाई नगरका १९ वटै वडाका टोलसम्म पु¥याउने बताए । उनले नेताको घर धाएर होइन, कार्यकर्ताको घर आंगनमा पुगेर नेतृत्वमा स्थापित हुन सकिने बताउंदै नेता कार्यकर्ताहरु अधिवेशनका बेलामा जस्तै बाह्रै महिना पार्टी निर्माणमा खटिनुपर्ने बताए ।
पछिल्लो समय आम नागरिक र कार्यकर्तामा समेत नेतृत्वमा रहेका नेताहरुको आर्थिक स्रोत के हो ? उनीहरु कसरी चलेका छन् ? विना उद्यम–व्यवसाय र आय आर्जन विना राजनीतिमा टिकिरहन सम्भव छ त भन्ने अहं प्रश्न उठ्ने गरेकाले हरेक नेता कार्यकर्ता उद्यम व्यवसायमा जोडिनुपर्ने र आत्मनिर्भर बन्नुपर्ने अध्यक्ष भुसालले औंल्याएका छन् ।
पदस्थापन समारोहमा पार्टीका प्रदेश मुख्य सचिव यज्ञ पोखरेल, बुटवल नगर इन्चार्ज पुष्पराज ढकाल, नेतृ रिज्जु श्रेष्ठ,डम्बरदेव अर्याल लगायतले बोल्दै पार्टीको पक्षमा पछिल्लो समय जनलहर र आकर्षण बढेको बताए ।




