बुटवल ।नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । बैठक शनिबार दिउँसो ३ बजे संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ । बैठकमा कांग्रेस-एमालेबीच नयाँ सत्ता समीकरणका विषयमा भएको सहमतिबारे सांसदहरूलाई जानकारी दिइने बताइएको छ ।
कांग्रेस-एमालेबीच गत सोमबार मध्यराति नयाँ सत्ता समीकरण गर्न समझदारी भएको थियो । सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् भने चुनावी सरकारको नेतृत्व कांग्रेसले लिने छ ।
नयाँ सरकार बनाउने सहमतिपछि एमालेले बुधबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले र अशोक राई नेतृत्वको जसपाले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ असारमा प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मत र नयाँ सरकार गठनका विषयमा पनि कांग्रेस संसदीय दलको बैठकमा छलफल हुनेछ ।




