बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति सम्झौताअनुसार द्वन्द्वपीडितलाई न्याय दिलाउने विषयमा कांग्रेस पहिलेदेखि प्रतिबद्ध रहेको बताएका छन् ।
जवाफदेहिता निगरानी समिति र द्वन्द्वपीडित संगठनले बिहीबार काठमाडौंमा आयोजना गरेको संक्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले पीडितलाई न्याय दिने विषयमा दलहरूबीच कुनै मतभेद नभएको बताए ।
‘पीडितलाई न्याय दिने विषयमा हामीबीचमा कुनै मतभेद छैन । वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अगाडि बढिरहेको छ,’ उनले भने, ‘संक्रमणकालीन न्यायका लागि सरकारले भर्खरै सत्य निरुपण, मेलमिलाप तथा बेपत्ता पारिएका व्यक्तिको छानबिनका लागि आयोग गठन गर्न सिफारिस समिति गठन गरेको छ । अब छिट्टै आयोगहरूले पूर्णता पाउनेछन् ।’
देउवाले द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका घटनाको छानबिनमार्फत सत्यतथ्य उजागर गरी न्याय दिलाउन कांग्रेस सुरुदेखि नै प्रतिबद्ध रहेको बताए । उनले पीडितलाई न्याय दिने कुरामा दुई मत नरहेकाले वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढेको बताए ।
वर्तमान सरकार र राजनीतिक दलहरू पीडितलाई न्याय दिलाउने विषयमा स्पष्ट रहेको उनले बताए । सरोकारावाला पक्षहरूसँग पनि छलफल र अन्तर्क्रियाबाट सत्य निरुपण हुने देउवाको भनाइ छ ।




