तिलोत्तमा । शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) को चौथो अधिवेशन अन्तर्गत इन्जिनियर किरण खरेल नेतृत्वको प्यानलले आफ्ना प्रतिवद्धता सार्वजनिक गरेको छ ।
मंगलबार पत्रकार सम्मेलन गरी अध्यक्ष पदका उम्मेदवार किरण खरेलले २४ बुँदे घोषणापत्र सार्वजनिक गर्दै वनवाटिकालाई नेपालकै उत्कृष्ट र स्मार्ट पर्यटकीय गन्तव्य बनाउने प्रतिवद्घता व्यक्त गरे । उनले चार वर्षमा गर्न सकिने र सम्भव हुने कामलाई मात्रै प्राथमिकता दिएको बताए ।
धेरै संरचना बनिसकेको वनवाटिकालाई अब अनुसन्धान केन्द्रका रुपमा पनि विकास गर्दै बोटानिकल गार्डेन, प्रादेशिक चिडियाखाना स्थापना र संस्थापक अध्यक्ष स्वर्गीय बाबुराम अर्यालको स्मृतिमा वातावरणमैत्री पार्क निर्माणलाई पहिलो प्राथमिकता दिने खरेलले बताए ।
संस्थामा आर्थिक सुशासन र पारदर्शितालाई संस्थागत संस्कारका रुपमा विकास गर्दै डिजिटल प्रणालीलाई अवलम्बन गर्ने उनले बताए । एक लाख रुपैयां भन्दा माथिका जुनसुकै निर्माणको काम टेण्डरमार्फत प्रतिस्पर्धाबाट अघि बढाउने लक्ष्य समेत रहेको उनले बताए ।
बनबाटिकालाई नमूना पर्यटकीय स्थल बनाउन अभिन्न संस्था शंकरनगर सामुदायिक वन उपभोक्ता समूहसंगको मित्रवत सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाई केन्द्रभित्र निर्माण भएको वहुउद्देश्यीय भवनलाई तिलोत्तमा नगरपालिकाको सहकार्यमा तत्काल सञ्चालनमा ल्याइनलाई पनि उच्च प्राथमिकता दिइने खरेलले बताए ।
यस्तै शंकरनगर चोकदेखि बव वाटिकासम्मको सडकको दाया बांया क्षेत्रलाई विशेष आकर्षक बनाउन सौन्दर्यीकरण गरिने, स्मार्ट संग्रहालय र क्याक्टस पार्क निर्माण गरिने खरेलले बताए ।
यस्तै वहुउद्देश्यी पोखरी, विभिन्न थरिका फूलका विशिष्टिकृत पार्कहरु निर्माण गरिने,चिल्ड्रेन पार्कलाई थप स्तरीय र विस्तारित गरिने योजना रहेको खरेलले बताए । यस्तै पिकनिक स्पटलाई शुन्य फोहोर स्थल बनाइन फालिएका खानेकुरालाई प्रशोधन गरी चिडियाखानामा रहेका जनावरको आहाराका रुपमा प्रयोग गरिने, व्यवस्थित सवारी साधन पार्किङ स्थल र विद्युतीय सवारी साधन चार्जिङ स्टेसन बनाइने योजना रहेको खरेलले बताए ।
संयुक्त प्यानलकी सचिव पदकी उम्मेदवार हरिकला अधिकारी (कमला)ले स्मार्ट बत्ती, स्वचालित टिकटिङ, तथा निगरानी प्रणाली राखी पूर्ण प्रविधिमैत्री बनाइने, काष्ठकला कार्यशाला आयोजना गरी शिल्पीहरु मार्फत काठबाट विभिन्न कला सिर्जना गरी ठाउं ठाउंमा राखी आकर्षणयुक्त बनाइने, क्रंक्रिट संरचना निर्माणलाई निरुत्साहित गरी वातावरण र पर्यावरणमैत्री संचरनामा जोड दिइने बताइन् ।
वन वाटिकाभित्र विभिन्न राजनीतिक दल निकट संस्थाहरुले निर्माण गरेका पार्कहरुलाई थप स्तरोन्नति गर्न पहल गरिने उनले बताइन् ।
आफ्नो टिम समावेशी भएको र निर्वाचनमा विजयी भए पछि सबै पक्षलाई उपयुक्त जिम्म्ेवारी दिएर संस्थालाई सबैको साझा थलो बनाउने खरेलले बताए । कोषाध्यक्षका उम्मेदवार मनिराम भट्टराईले ३२ जनाले रोजगारी पाएको बनबाटिकामा मासिक १० लाख रुपैया संचालन खर्च हुने गरेको बताए । यहां वर्षमा ४ लाख पर्यटक भित्रिने गरेका छन् । नयां नेतृत्वका लागि नेकपा एमाले र नेपाली कांग्रेसले पदहरु बाडफांड गरी संयुक्त प्यानल बनाएका छन् । यस्तै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट खिमलाल पाण्डेले स्वतन्त्र उम्मेदवार भन्दै अध्यक्षमा उम्मेदवारी दिएका छन् भने राष्ट्रिय जनमुक्ति पार्टीले अध्यक्षमा टिकादेवी आले सहित प्यानलै बनाएर उम्मेदवारी दिएको निर्वाचन समिति संयोजक मोहन चापागाईले बताए ।




