भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जसरी जुनसुकै हालतमा सञ्चालन गरेर छाड्ने बताएका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले आयोजना गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले विमानस्थल पूर्णरुपले नचल्दा निजी क्षेत्रले भोगेको पीडाबाट प्रदेश सरकारलाई जगजाहेर रहेको बताउँदै प्रदेश सरकारले व्यवसायीभन्दा पनि खरो रुपमा कुरा उठाउँदै संघीय सरकारलाई निरन्तर ध्यानाकर्षण गर्दै आएको बताए ।
एक हप्ता राजधानी बसेर एयरर्पोट सञ्चालनको विषयलाई गम्भीर रुपमा सम्बन्धित ठाउँमा ध्यानाकर्षण गराई अहिले पनि त्यसैको फलोअपमा प्रदेश सरकार छ । सडक तताएरभन्दा पनि संवादलाई अगाडि बढाएर विमानस्थल जसरी जुनसुकै हालतमा सञ्चालन हुनुपर्छ, चलाएर छाड्छौं, यसमा सरकार निराश नरहेको उनले जनाए ।
स्वास्थ्य, श्रम स्वीकृती, भिसा सेन्टरलगायतका कामका लागि सरकारले अविलम्ब व्यवस्थापनको लागि बरम्बार भनेको छ र प्रदेश सरकाले पनि भिम अस्पतालबाट पनि निःशुल्क स्वास्थ्य परीक्षणको सेवा दिन सक्छ, श्रम कार्यालय बुटवलबाट पनि श्रमसम्बन्धी सेवा र भिसाको लागि तत्काल एउटा कार्यालय खोलेर सेवा दिन सक्ने गरी संघीयमा जानकारी गराएको उनले बताए । ‘पूर्वाधार र जनशक्तिभन्दा पनि व्यवसायी तयार हुनुपर्छ, जसका लागि संघीय सरकार तयार हुनुपर्ने र त्यसको पहल गर्ने गराउनमा हामी लाग्ने छौं ।’–मुख्यमन्त्री आचार्यले भने ।
‘निजी क्षेत्रको साथमा प्रदेश सरकार छ, नेतृत्व हामीले गर्छौं, स्थानीय निकायले साथ दिएर छिटो नतिजा आउने गरी काम हुन्छ ।’– उनले भने । उनले विमानस्थल नचलेर सधँैका लागि बन्द भई निजी क्षेत्रको लगानी डुब्ने हो कि भन्नेबारे नसोंच्न निजी क्षेत्रलाई आग्रह गरे ।
‘पीडा सबैलाई छ । प्रदेश सरकारलाई पनि पीडा भएर हामी प्रदेशको टिम भैरहवा आएका हौं । निजी क्षेत्र हासीखुशी हँुदा प्रदेश सरकार पनि गौरब बोध र आनन्द को अनुभूति गर्नेछ ।’–उनले भने ।
‘हामी सबै मिलेर सहकार्य गरेर एकमत भई यो विमानस्थल पूर्णत चलाउनुपर्छ । यहाँबाट हामी जान्छौं, केन्द्रमा विष्णु पौडेलले नेतृत्व गर्नुपर्छ ।
अर्थमन्त्री यही जिल्लाको जनप्रतिनिधि भएको कारण र विमानस्थल बनाउने भूमिका पनि भएकाले उहाँले नेतृत्व गर्नुपर्छ ।’–मुख्यमन्त्रीले भने । उनले एकले अर्कालाई हिलो छ्याप्ने गर्दा चल्नेभन्दा पनि नचल्ने दिशातर्फ उन्मूख नगर्न सबैलाई अनुरोध गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य, सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमद खानलगायत यस क्षेत्रका पालिका प्रमुखहरु, नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्मा, पर्यटन व्यवसायी तथा निजी क्षेत्रले विमानस्थल पूर्ण क्षमतामा नचल्दा अर्बौं लगानी जोखिममा परेको गुनासो गरेका थिए ।




