काठमाडौं । सत्ता साझेदार दलहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा युवामा आशा, विश्वास र भरोसा जगाउने विषय समेट्न सुझाव दिएका छन् । बुधबार बालुवाटारमा बसेको सत्तारूढ दलहरूको बैठकमा सरकारको खर्च गर्ने क्षमता बढाउन, फजुल खर्च घटाउन र सुशासनका लागि आवश्यक काम गर्न सुझाव आएको नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।
“विकास निर्माणलाई प्रभावकारी, समयमा सकिने र एकदमै उच्च प्राथमिकीकरण गरिनुपर्छ । छरिएका आयोजना र भइरहेको अपव्यय रोक्नुपर्छ भन्ने छ,” ज्ञवालीले भने । एमालेका उपमहासचिवसमेत रहेका ज्ञवालीका अनुसार, युवा पुस्ताकेन्द्रित कार्यक्रम ल्याउन सुझाव आएको छ ।
“युवा पुस्तामा आशा र विश्वास जगाउन जगाउन उनीहरूमा उद्यमशीलता, सिप विकास, स्टार्टअप र व्यावसायिक प्लान तथा बजार संरक्षणको कम्प्रेहेन्सिब (विस्तृत) कार्यक्रम आओस् भन्ने सुझाव छ,” ज्ञवालीले भने ।
नेताहरूले अर्थतन्त्रलाई लयमा ल्याउन सरकारको खर्च गर्ने क्षमता बढाउने, अनावश्यक र फजुल खर्च निर्ममतापूर्वक कटौती गर्ने र सरकारको कार्यक्षमता बढाउने सँगै सुशासनका लागि गर्नुपर्ने कामका विषय पनि समेट्न सुझाव दिएका छन् । त्यसैगरी, पहाडी क्षेत्रको बसाइँसराइ रोक्ने गरी पनि योजना ल्याउन उनीहरूको सुझाव छ ।
“बसाइँसराइलाई कम गर्न पहाडी क्षेत्रमा व्यावसायिक योजना लैजानुपर्छ भन्ने सुझाव आएको छ,” उनले भने ।बैठकमा सत्ता साझदेर दलका नेताहरूले लोकतन्त्रमाथि भइरहेको हमलालाई सामूहिकरूपमा जवाफ दिन सकिने विषय पनि नीति तथा कार्यक्रममा समेट्न सुझाव दिएका छन् ।




