बुटवल । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०-८१ का लागि आयोजना गरिएको उक्त कार्यक्रम बुटवलमा सम्पन्न भएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख तथा नेपाल बिमा प्राधिकरणकी प्रतिनिधि जमुना अर्याल (आचार्य) साथै, विशेष अतिथिमा बुटवलका वरिष्ठ प्रहरी नायब निरीक्षक श्री राजकुमार चापागाईंको सहभागी रहेको थियो ।
अध्यक्ष जगतबहादुर पोखरेलले मन्तव्य दिँदै कम्पनीको आर्थिक प्रगति, आगामी योजनाहरू तथा ग्राहक सेवामा सुधारका लागि लिइएका रणनीतिहरू प्रस्तुत गरेका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुङ्गानाले बिमा पहुँचलाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्ने उद्देश्य र देशभर अझैँ नयाँ शाखाहरू विस्तार गर्दै कम्पनीको व्यापार र व्यवसायलाई बढाउने योजना प्रस्तुत गरेका थिए ।
कार्यक्रमा लुम्बिनी प्रदेश प्रमुख जमुना अर्याल (आचार्य), ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडका अध्यक्ष जगतबहादुर पोखरेल र वरिष्ठ प्रहरी नायब निरीक्षक श्री राजकुमार चापागाईंले संयुक्त रूपमा हरियाली यातायात प्रा.लि. (बुटवल), मेच्यधाम यातायात प्रा.लि. (मणिग्राम), र सत्यवती यातायात प्रा.लि. (देविनगर) लाई १०० थान रिफ्लेक्टिभ ज्याकेट वितरण गरेका थिए ।
उक्त कार्यक्रममा शेयरधनीहरू, कम्पनीका विभिन्न शाखा प्रमुखहरू, तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमले संस्थाको पारदर्शिता, व्यावसायिक प्रगति तथा सामाजिक उत्तरदायित्वमा प्रतिबद्धता पुनः पुष्टि गरेको छ ।
ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले देशभर उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आइरहेको र आगामी दिनहरूमा बिमित वर्गलाई अझ सशक्त सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।




