२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तिलोत्तमामा हजार बेडको सरकारी मेडिकल कलेज

तिलोत्तमामा हजार बेडको सरकारी मेडिकल कलेज

२०७५ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यालय उद्घाटन गरे पनि ६ वर्षसम्म निर्माणको काम अघि नबढ्दा अन्योलमा रहेको बुटवल मेडिकल कलेजका लागि ५० बिघा जग्गा प्राप्ति भएसँगै अब रुख कटान र जग्गा घेरबारको काम अघि बढ्नेछ ।

तिलोत्तमामा हजार बेडको सरकारी मेडिकल कलेज

तिलोत्तमामा हजार बेडको सरकारी मेडिकल कलेज

२०७५ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यालय उद्घाटन गरे पनि ६ वर्षसम्म निर्माणको काम अघि नबढ्दा अन्योलमा रहेको बुटवल मेडिकल कलेजका लागि ५० बिघा जग्गा प्राप्ति भएसँगै अब रुख कटान र जग्गा घेरबारको काम अघि बढ्नेछ ।

तिलोत्तमामा हजार बेडको सरकारी मेडिकल कलेज
लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
सोमवार, जेठ ६ २०८२
सोमवार, जेठ ६ २०८२
  • बुटवल
    जग्गाको भोगाधिकार प्राप्तिमा ढिलाइ, बजेट अनिश्चितलगायत कारणले लामो समयसम्म रोकिएको बुटवल मेडिकल कलेज निर्माणको काम अब अघि बढ्ने निश्चित भएको छ । २०७५ साल चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तिलोत्तमाको नयाँमिलमा भब्य समरोहबिच मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालय उद्घाटन गरेका थिए ।


    कार्यालय उद्घाटन भएको ४ वर्षसम्म निर्माणको चरणमा आउन नसकेको आयोजना राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्री बनेकी सुमना श्रेष्ठले दुई वर्षअघि खारेज गर्ने तयारीमा पुगेकी थिइन् । तर रास्वपासँगै मन्त्री श्रेष्ठ सरकारबाट हटेपछि यो आयोजनालाई रुपन्देही २ का प्रतिनिधि सभा सदस्य एवं अर्थमन्त्री विष्णु पौडेलले पुनः अघि बढाएका हुन् । 


     शुरुमा दुई सय बिघा क्षेत्रफलमा बनाउने गरी इआइए गरिएकोमा वन मन्त्रालयले दुई सय बिघा वन क्षेत्रमा अस्पताल बनाउन नमिल्ने भन्दै ५० बिघा जमिनमात्रै उपलब्ध गराएको थियो । ५० बिघा क्षेत्रफलको वातावरणीय व्यवस्थापन मूल्याङ्कन (ईपीएम) भई करिब ११ हजार ४ सय रुख काट्नुपर्ने  प्रतिवेदनमा देखिएको थियो । 


    वन मन्त्रालयबाट ५० बिघा जग्गाको भागाधिकार प्राप्त भए पनि सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गरेको हुँदा सामुदायिक वनले लामो समयसम्म वन क्षेत्र मेडिकल कलेजलाई दिने निर्णय नगर्दा काम अघि बढ्न सकेको थिएन । गत चैत २४ गते शंकरनगर सामुदायिक  वन उपभोक्ता समूहको विशेष साधारण सभाले सामुदायिक वन क्षेत्रमा निर्माण हुने बुटवल मेडिकल कलेजका लागि ५० विगाहा जग्गा उपलब्ध गराउने प्रस्ताव पारित गरेको थियो ।


     सामुदायिक वनले निर्णय गरेपछि मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाले १५ दिने सूचना निकालेर पूर्वाधार निर्माणका कानुनी प्रकृया पूरा गरेकाले अब लगत्तै रुख कटान र घेरबारको काम सुरु हुने आयोजना प्रमुख दिनेश देवकोटाले जानकारी दिए ।


    ‘जग्गा प्राप्ति नहुंदासम्म अन्यौलमा थियौं, जग्गा प्राप्तिपछि हामीले वन मन्त्रालयबाट रुख कटानको अनुमति लिने लिनेदेखि अन्य कानूनी प्रकृयाहरु सबै पूरा गरेका छौं,’ देवकोटाले भने–‘अब मेडिकल कलेज बन्ने निश्चित भएको छ, यही आर्थिक वर्षभित्र रुख कटान र पर्खाल लगाएर जग्गा घेरबार गर्ने काम सुरु हुन्छ ।’


    पहिलो चरणमा ४८१ वटा रुख काटेर मेडिकल कलेजको जग्गा पर्खालले घेरबार गरिने हुने आयोजनाको तिलोत्तमा स्थित कार्यालयका अधिकृत चुडामणि मरासिनीले बताए । घेरबारका लागि सरकारले एक करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । घेरबारको काम सम्पन्न भएपछि लगत्तै मेडिकल कलेजको प्रशासनिक भवनको काम अघि बढ्ने मरासिनीले जानकारी दिए ।  


    ५ अर्ब बजेट माग
    आयोजना प्रमुख दिनेश देवकोटाले आगामी बजेटमा मेडिकल कलेजको पूर्वाधार निर्माणको काम सुरु गर्न अर्थ मन्त्री विष्णु पौडेलसँग ५ अर्ब रुपैयाँ बजेट माग गरिसकिएको बताए । आगामी बजेटमा रकम विनियोजन भएसँगै मेडिकल कलेजको प्रशासनिक भवनको निर्माण सुरु हुने देवकोटाले जनाए । 


    एक हजार बेडको अस्पताल बन्ने
    सरकारले सातै प्रदेशमा एक–एक मेडिकल कलेज निर्माण गर्ने योजनाअनुसार तिलोत्तमामा लुम्बिनी प्रदेशस्तरीय बुटवल मेडिकल कलेज बनाउने निर्णय गरेको थियो । आयोजना कार्यालयले ६ सय बेड (शैया) को जनरल अस्पताल बनाउने डीपीआर तयार गरेको छ । ‘सुरुमा दुई सय बिघामा अन्तर्राष्ट्रियस्तरको अस्पतालसहित चिल्डे«न पार्क, स्विमिङ पुल, स्कुललगायत अन्य पूर्वाधार पनि बनाउने योजना थियो, तर ५० बिघामात्रै जमिन उपलब्ध भएपछि मेडिकल कलेजलाई अत्यावश्यक संरचनामात्रै बनाउछौं,’ आयोजना प्रमुख दिनेश देवकोटाले भने–‘लामो समय निर्माणको चरणमा आउन नसकेको आयोजना अब अघि बढ्ने आशा पलाएको छ, यसमा सबैको सकारात्मक साथ आवश्यक छ ।’


    साढे १९ अर्ब लागत
    एक हजार बेडको मेडिकल कलेज बनाउन मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक साढे १९ अर्ब रुपैयाँ लाग्ने आयोजना प्रमुख देवकोटा बताउँछन् । उनका अनुसार मुटु र क्यान्सरको छुट्टै अस्पताल बनाउने तयारी छ । ‘मुटु र क्यान्सर अस्पताल बनाउने योजना छ, त्यसको अध्ययन पनि भइसकेको छ, तर पहिला जनरल अस्पताल नै बनाउनुपर्छ ।’– उनले भने । 


    कलेज निर्माण क्रममा टेन्डर आह्वान भएर निर्माण कम्पनीबिच प्रतिस्पर्धा हुँदा लागत घट्ने अपेक्षा आयोजनाको छ । डीपीआर अध्ययन गर्न २ करोड ८८ लाख रुपैयाँ खर्च भएको थियो । आयोजनास्थल वन क्षेत्रमा भएकाले ११ हजार २३० वटा रुख काट्नुपर्ने अध्ययनले देखाएको छ । तर  सबै रुख नकाटिने देवकोटाले बताए । 


    ‘५० बिघा जमिनमा ११ हजार २ सय ३० रुख काट्नुपर्ने देखिएको हो तर पूरै काट्नु पर्दैन,’ आयोजना प्रमुख देवकोटाले भने–‘आवश्यकताअनुसार काट्दै जाने हो । बढीमा ५ हजार रुख काटिन्छ होला ।’  मेडिकल कलेजको भौतिक संरचना ६ वर्षभित्र निर्माण गर्ने योजना छ । 


    यो सरकारी मेडिकल कलेज बनेसँगै रुपन्देही मेडिकल हब बन्ने छ । अहिले रुपन्देहीमा १२ सय शैयाको लुम्बिनी प्रादेशिक अस्पताल स्तरोन्नतिको चरणमा छ भने भैरहवा र देवदहमा एक–एक वटा निजी मेडिकल कलेज छन् । त्यस बाहेक बुटवलमै एक सय शैयाको बुटवल हस्पिटल प्रालि, मणिग्राममा क्रिमसन अस्पताल, भैरहवामै सिद्धार्थनगर सिटी हस्पिटललगायत एक दर्जन बढी निजी क्षेत्रबाट सञ्चालित मझौला अस्पताल छन् ।  भैरहवाको रण अम्बिका शाह आँखा अस्पतालमा भारतीय नागरिक समेत सेवा लिन आउने गरेका छन् । रुपन्देहीमा थप  दुई वटा क्यान्सर अस्पताल निर्माणको प्रकृयामा छन् । यसरी एकपछि अर्को अस्पताल र मेडिकल कलेजहरु निर्माणको क्रमले निकट भविष्यमै रुपन्देही मेडिकल हब बन्ने बाटोमा अग्रसर भएको देखिन्छ ।   

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij