कृष्ण पोखरेल
पाल्पा
गाउँ–गाउँमा जनजीवन स्वस्थ्य, खानपानमा सुधार गर्न, मानिसलाई निरोगी बनाउन, भएका रोगीहरुलाई निको बनाउन रिब्दीकोट गाउँपालिकाले विद्यालय आयुर्वेद तथा योग शिक्षासम्बन्धी अभियान सुरु गरेको छ । पालुङमैनादी आयुर्वेद औषधालयले दुई वटा विद्यालयका शिक्षकहरुलाई आयुर्वेद तथा योग शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।
अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले पालिकावासीलाई स्वस्थ्य निरोगी बनाउन विद्यालयमार्फत् अभियान सुरु गरेको बताए । अहिलेको खानपान, बसाई तथा अल्छीपनको कारण जटिलभन्दा जटिल रोगहरु लाग्दै गएको, उपचारमालाखौ, करोडौ रुपैया खर्च हुने गरेको, उपचार गर्दा गर्दा नत रोग नै ठिक हुने, नत मानिस नै लामो समय बाँच्ने, पैसा र ज्यान दुबै बर्बाद हुने समाजको परिस्थितिलाई बदल्न विद्यालयमार्फत् आयुर्वेद तथा योग शिक्षा अभियान सुरु गरेको पालिका अध्यक्ष कार्कीले बताए ।
कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष दानबहादुर कुवँरले विद्यालयका शिक्षकमार्फत्, विद्यार्थी, विद्यार्थीमार्फत् परिवारसँग जोड्ने गरी पालिकाको आयुर्वेद श्रोत केन्द्रको रुपमा रहेको आायुर्वेद औषधालयमार्फत् विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सुरु गरेको बताए । यस क्षेत्रमा रहेको, जलेश्वर, कालिकागढी र रिङ्सिङ लेकमा भएको जडीबुटी पहिचान गरी उत्पादन, प्रशोधन गरेर प्रयोगमा ल्याउनु पर्नेमा वडा अध्यक्ष कुँवरले जोड दिए ।
कार्यक्रममा पालिका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारी, आयुर्वेद औषधालयका प्रमुख डा. रमर्स नेपाल, वैध दिनेशराज पनेरुले मानिसले अपनाउनु पर्ने, दैनिक खानपान, आहार विहार, योगअभ्यास, स्थानीयस्तरमा पाइने जडीबुटीको प्रयोगका विषयमा सहजीकरण गरेका छन् । अभिमुखीकरणमा कालीका मावि बतासे, सरस्वती मावि खस्यौलीका १२ जना शिक्षकहरुको सहभागिता रहेको छ । कार्यक्रममा सैद्धान्तिक ज्ञान, स्थलमा योग अभ्यास पनि सिकाइएको छ ।




