नवीन लोचनमगर
रोल्पा
रोल्पा नगरपालिकाको वडा नं. ३ खुमेलमा शुद्धि कार्य (पुण्य तिथि)मा खाना खाएका १ सय १० जना बिरामी परेका छन् । स्थानीय चौरपानीका मृतक वृद्धको शुद्धि कार्यमा सहभागी भइ खाना खाएका १ सय ५० जनामध्ये १ सय १० जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय चापागाईंले जानकारी दिए । शनिबार बेलुकी उनीहरु एक्कासी बिरामी पर्न थालेपछि उपचारका लागि स्थानीय स्वास्थ्यचौकी लगिएको थियो । अन्यको उपचार खुमेल स्वास्थ्यचौकीमै भए पनि १२ जनाको स्वास्थ्यमा भने गम्भीर समस्या देखिएको भन्दै राति जिल्ला अस्पताल रेउघा रेफर गरिएको थियो ।
रेफर भइ रोल्पा अस्पतालमा उपचाररत खुमेलका स्थानीय १५ वर्षीय बमबहादुर थापाले आफू राति १० बजे मात्र होसमा आएको बताए । ‘खाना खाएपछि वान्ता हुने, टाउको दुख्ने भयो, त्यसपछि धेरै पेट दुखेपछि बेहोसै भएछु,’ थापाले भने–‘अस्पतालमा भर्ना भएपछि बल्ल होसमा आएँ, खुमेलबाट एम्बुलेन्समा अस्पताल ल्याएको पनि थाहा पाएन ।’
रोल्पा अस्पतालका रेउघाका चिकित्सक डा. रिषब गौतम नेतृत्वको टोलीले बिरामीको उपचार गरिरहेको छ । डा. गौतमका अनुसार अस्पतालमा भर्नाभएका सबैजसो बिरामीहरुमा वान्ता गर्ने, टाउको दुख्ने, पखाला लाग्ने समस्या देखिन्छ । खानामा खराबी (फुड पोइजन) भएका कारण बिरामी भएको उनको भनाइ छ । आइतबार दिउँसोसम्म अन्यलाई डिस्चार्ज गर्ने र बाँकी तीन जनाको थप उपचारका लागि अस्पतालमै राखिने उनले बताए । अहिले सबैको अवस्था सामान्य छ ।
चौरपानीस्थित मृतक चित्रबहादुर रोकाको १३औं पुण्य तिथिको अवसरमा खानपिनको आयोजना गरिएको थियो । दालभात, पुरी, तरकारी, आचार आएका उनीहरुमा तत्कालै समस्या देखिएको स्थानीय नरेन्द्र घर्तीले जानकारी दिए ।




