लुम्बिनी संवाददाता
बुटवल
तिनाउ नदी उत्खनन्को ठेक्का पाएका ठेकेदारले पालिकाले तोकेको स्थानमा घाटगद्दी गर्नुपर्ने ढुंगागिटी सिधैँ क्रेसर उद्योगमा लैजाने गरेको पाइएपछि तिलोत्तमा–६ गोरकट्टास्थित कश्यप नमूना रोडा उद्योग कारबाहीमा परेको छ । दैनिक लुम्बिनीले खोलामा मनपरी उत्खनन् र उत्खनन् गरिएको ढुंगागिटी चोरी निकासीबारे समाचार प्रकाशित गरेपछि जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, रुपन्देही प्रहरी प्रमुखलगायतले सोमबार अनुगमन गर्दा कश्यप रोडा उद्योगमा उत्खनन्बाट ल्याइएको ताजा ढुंगागिटी ठूलो परिमाणमा भेटिएपछि अर्को निर्णय नहुँदासम्मका लागि बिक्री वितरण गर्न नपाउने गरी कारवाही गरिएको हो ।
शनिबार बिहान बा ०३००१ ख ०७२५ नम्बरको टिपरले घाटगद्दीमा लैजानुपर्ने नदीजन्य पदार्थ सिधैँ कश्यप नमूना रोडा उद्योगमा पु¥याएको प्रमाणसहितको समाचार दैनिक लुम्बिनीले प्रकाशित गरेको थियो । उक्त नम्बर प्लेटको टिप्पर पालिकाले तोकेको घाटगद्दीमा ढुवानी गर्न अनुमति पाएको टिपर हो ।
‘त्यो एउटा टिप्परको प्रमाण क्रेसर उद्योग बाहिर ५ मिनेट मात्रै निरीक्षण गर्दा भेटिएको हो, दिनभर अनुगमन गर्ने हो भने दर्जनौं टिप्परले दैनिक पालिकाले तोकेको ठाउँमा लैजानुपर्ने ढुंगा गिटी सिधँै क्रसर उद्योगमा लैजान्छन् ।’–स्थानीय प्रत्यक्षदर्शी युवाहरु बताउँछन् ।
उक्त ठाउँको उत्खनन्को ठेक्का व्यवसायी सुमन बस्यालले पाएका छन् । गत वर्ष पनि उनैले ठेक्का पाएका थिए ।
दैनिक लुम्बिनीमा समाचार प्रकाशित भएपछि गोरकट्टामा भइरहेको उत्खनन् बन्द गराइएको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।
सोमबार अनुगमन गर्दा कश्यप रोडा उद्योगमा अवैध ढंगले ताजा ढुंगागिटी ठूलो परिमाणमा गएको देखिएकाले विक्री वितरण बन्द गराइएको र थप प्राविधिक अनुसन्धान गरिने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरले बताए । धेरै ठाउँमा ठेक्का लागेकाले सबै ठाउँमा अनुगमन गर्न कठीन भएको घिमिरेले बताए ।
जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चापागाईंले कतिपय स्थानमा मापदण्ड विपरीत खोला उत्खनन् भएको र पालिकाले तोकेको स्थानमा घाटगद्दी गर्नुपर्नेमा ढुंगागिट्टी क्रेसर उद्योगमा लैजाने गरेको पाइएको स्वीकार्दै सोही कारण कश्यप रोडा उद्योगलाई कारबाही गरिएको बताए । कतिपय स्थानमा मापदण्डभन्दा गहिरो गरी उत्खनन् भएको चापागार्इंले बताए ।
आफूले कात्तिक–मंसिर बाटै खोलाको ठेक्का लगाउने प्रक्रिया अघि बढाउन पालिकाहरुलाई आग्रह गरे पनि बेवास्ता गरेर सबै पालिकाले एकैचोटी जेठमा ठेक्का लगाउँदा प्रभावकारी अनुगमन हुन नसकेको चापागाईंले बताए ।
अनुगमन निष्प्रभावी भन्दै स्थानीय आक्रोशित
साँझ ७ बज्न लाग्दा अनुगमन टोली मगरघाट पुलमा आउँदा स्थानीयहरुले आक्रोश पोखेका छन् ।
ठेकेदारले अनुगमन टोली आउने सूचना पाएर उत्खनन् बन्द गरेका बेला अनुगमन आएको देखाएर झार टार्ने काम गरेको भन्दै त्यहाँ उपस्थित स्थानीयले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतसँग आक्रोश पोखरेका थिए । नेकपा माओवादी केन्द्रका जिल्ला नेता समेत रहेका श्याम बराइलीसहितको स्थानीयको एक समूहले नियामक निकायको अनुगमन देखाउने दाँत मात्र भएको भन्दै प्रभावकारी अनुगमन गरी राज्यको प्राकृतिक स्रोत चोरी हुनबाट रोक्न आग्रह गरे ।
‘एटा ठाउँमा अनुगमन शुरु भएपछि अर्को ठाउँको ठेकेदारले तत्कालै सूचना पाउँछ अनि बद्मासी ढाकछोप गरिहाल्छ अनि अनुगमनको के काम ?,’ नेता बराइलीले भने–‘सांच्चिकै चोरी र मनपरी उत्खनन् रोक्ने हो भने सबै ठाउँमा एकै चोटी अनुगमन टोली पुग्ने गरी व्यवस्था गर्नुप¥यो, बल्ल बद्मासी फेला पार्न सकिन्छ ।’ राजनीतिक संरक्षणमा अनुगमन समितिले आँखा चिम्लेर ठेकेदारलाई मनपरी गर्न छुट दिइएको उनको भनाइ छ । उनका अनुसार अनुगमन टोलीमा स्वतन्त्र नागरिक, प्रतिपक्षी दलका प्रतिनिधि, विज्ञ समेत सहभागी गराउँदा मात्र अनुगमन निष्पक्ष र विश्वसनीय हुन्छ । खोलामा नियमित र प्रभावकारी अनुगमन हुनपर्ने उनको माग छ ।
बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन र सियारी गाउँपालिकाले मापदण्ड पालना गरी उत्खनन् गर्न र तोकिएको ठाउँमा घाटगद्दी गर्न निर्देशन दिई खोलाको ठेक्का लगाएका छन् । तर ती स्थान आसपासमा सञ्चालित झण्डै एक दर्जन क्रसर उद्योगहरुमा घाटगद्दीमा लैजानुपर्ने ढुंगागिटीको ठूलो हिस्सा सिधैँ क्रेसर उद्योगभित्र ओसारिरहेको स्थानीय बताउँछन् । यो कार्यमा उत्खनन्को जिम्मा पाएको ठेकेदार, क्रसर उद्योग सञ्चालक र पालिकाका जनप्रतिनिधिहरुको समेत मिलेमतो रहेको उनीहरुको भनाइ छ ।
तिलोत्तमा ६ मा पर्ने गोरकट्टा र हरपुर क्षेत्रमा घाटगद्दी गर्ने स्थान नजिकै कश्यप, कालिका, कामना, सिद्धेश्वरी कामना, मुक्तिनाथ, न्यू श्रृष्टि लगायत आधा दर्जन क्रसर उद्योग छन् ।
स्थानीय एक युवक भन्छन्– ‘खोलामा अनुगमन छँदैछैन, दैनिक दर्जनौं टिप्परले पालिकाले तोकेको ठाउँमा लैजानुपर्ने ढुंगा गिटी सिधँै क्रसर उद्योगमा लैजान्छन् ।’
कतिपय ठेकेदारले तिलोत्तमामा घाटगद्दी गर्नुपर्ने ढुंगा गिट्टी सियारीका क्रसर उद्योगमा समेत पु¥याउने गरेका स्थानीय बताउँछन् ।
यसअघि अनुगमन हुँदा तिलोत्तमामा २ वटा, सैनामैनामा ६ वटा गाडी नियन्त्रणमा लिई कारबाही गरिएको समन्वय समिति प्रमुख चापागाईंले बताए । मापदण्ड विपरीत हुने उत्खनन् र चोरीको सूचना सरोकारवाला निकायलाई दिएर अवैध कार्य रोक्न स्थानीयको सहयोग हुनुपर्ने चापागाईंले अनुरोध गरे ।




