बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनमोर्चा रुपन्देहीले रुपन्देहीका तिनाउ, दानवलगायत नदीहरुमा मापदण्ड विपरीत जथाभावी उत्खननन् तथा ढुंगा गिटीको चोरी भइरहेको भन्दै तत्काल रोक्न माग गरेका छन् ।
रास्वपाले रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै अधिकांश खोलाहरुमा अनियन्त्रितरुपमा मापदण्ड विपरीत अवैध दोहन गरी नदीजन्य पदार्थ चोरी निकासी भइरहेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी जिल्ला सभापति डा. बुद्धिप्रसाद शर्मा नेतृत्वको टोलीले प्रजिअ बासुदेव घिमिरेलाई बुझाएको ज्ञापनपत्रमा स्थानीय तह र ठेकेदारलगायत सम्बन्धित पक्षको कहीं न कहीं मिलेमतो तथा सेटिङमा मापदण्ड विपरीत गहिरो खनेर खोलाबाट ढुंगा गिटी निकाल्दा त्यहाँ खाल्डामा डुबेर हरेक वर्ष मानवीय क्षति समेत हुने गरेको उल्लेख छ ।
‘केही दिनयता बुटवल, सैनामैना, देवदह, सियारी, शुद्धोधन, तिलोत्तमा, मायादेवी, गंैडहवा, रोहिणी, कञ्चन लगायतका पालिकाहरुमा पर्ने तिनाउ दानव, चरंगे खोला, घोडाहा खोला, कर्साघाट, कञ्चन खोला, रोहिणीलगायतका खोलाहरुमा अनियन्त्रित रुपमा, मापदण्ड विपरीत अवैध दोहन गरी नदीजन्य पदार्थ चोरी निकासी भइरहेको र मापदण्ड बमोजिम घाटगद्दी नगरी सिधँै क्रेसर उद्योगमा ढुवानी भइरहेको कार्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ–‘स्थानीय तहलगायत सम्बन्धित पक्षको कहिन कहीं मिलेमतो र सेटिङ्गमा मापदण्ड विपरीत राष्ट्रिय गौरवका आयोजनाको नाममा होस् वा अन्य कनै नाममा होस् खोला तथा नदीमा मापदण्ड मिचेर गरिने मनपरी उत्खनन्का कारण खाल्डामा डुबेर हरेक वर्ष मानवीय क्षति हुने गरेको छ, तसर्थ नियम विपरीत घाटगद्दी गर्ने, चोरी, निकासी गर्ने जस्ता कार्य तत्काल बन्द गराउन हामी जोडदार माग गर्दछौं ।’
प्राकृतिक स्रोत र साधनको दोहनमा मापदण्ड विपरीत प्रयोग गरिएका साधनहरु खोलाबाट तत्कान हटाउन र चोरी निकासी गर्नेलाई शख्त कारबाही गर्न रास्वपाले माग गरेको छ ।
रास्वपाले उत्खनन्को नियमित अनुगमन गर्न पत्रकार र विज्ञ समूहसहितको संयन्त्रको माग गर्दै जिल्लाभित्रको प्राकृतिक श्रोत साधनको उपभोग गर्न पाउने नागरिकको अधिकारलाई समेत मध्यनजर गरी सर्वसाधारणलाई सहज रुपमा नदीजन्य पदार्थ उपलब्ध हुने व्यवस्था मिलाउन समेत माग गरेको छ ।
यसैगरी राष्ट्रिय जनमोर्चाले बुधबार नै प्रेस विज्ञप्ति जारी गर्दै रुपन्देहीमा नदीजन्य पदार्थको अवैध उत्खनन् र ओसारपसार रोक्न माग गरेको छ ।
पार्टीका रुपन्देही अध्यक्ष टानबहादुर खत्रीले जारी गरेको विज्ञप्तिमा रुपन्देहीका विभिन्न नदी तथा खोलाहरुबाट मापदण्ड विपरीत भैरहेको नदीजन्य पदार्थको उत्खनन्, दोहन र चोरी निकासीप्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख छ । नदीजन्य पदार्थको उत्खनन्, दोहन नियम विपरीत तोकिएको ठाउँभन्दा अन्यत्र घाटगद्दी गर्ने वा सिधँै क्रसर उद्योगमा लगेर बिक्री हुनु गलत भएको भन्दै अनियन्त्रित र मापदण्ड विपरीत उत्खनन्ले बाढी–पहिरोजन्य प्राकृतिक प्रकोप र मानवीय वस्तिहरु डुबानमा पर्ने सम्भावनाका कारण यस्ता गलत काम तत्काल बन्द गर्न माग गरिएको छ ।
नियम विपरीत घाटगद्दि गर्ने, ओसार पसार गर्ने र अवैध निकासी गर्ने कार्यलाई बन्द गर्न प्रभावकारी कदम चाल्न र उक्त अवैध धन्दामा संलग्न व्यक्ति वा संस्थालाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । अन्यथा त्यसबाट हुने दुष्परिणको जिम्मेवार सरोकारवालाले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ । नागरिकको जनजीवन कष्टकर बन्दै गैरहेको भन्दै राष्ट्रिय जनमोर्चाले सुशासनको प्रत्याभूति दिन, हरेक क्षेत्रमा रहेका बेथिति, विसंगति, महंगी र कुशासनको अन्त्य गर्न तुरुन्त प्रभावकारी कदम चाल्न माग गरेको छ ।
यसअघि समाजवादी मार्चामा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि जथाभावी उत्खनन् र चोरी निकासी रोक्न माग गरेका थिए ।
गल्ती दोहो¥याए ठेक्का तोडिन्छ : सीडीओ
यसैबिच रुपन्देहीको तिनाउ नदीका विभिन्न ठाउँमा ठेकेदारले मापदण्ड विपरीत गहिरो खनेको भेटिएपछि प्रमुख जिल्ला अधिकारीले गल्ती दोहो¥याए ठेक्का तोड्ने चेतावनी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी घिमिरे नेतृत्वको टोलीले बुटवल उप–महानगरपालिकाले ठेक्का लगाएको मगरघाट पुलको दक्षिणतर्फ ठेकेदारले अनुमति पाएको भन्दा गहिरो खनेर ढुंगा गिटी निकालेको पाइएपछि उपमहानगरका कर्मचारी र ठेकेदारलाई राखेर गल्ती दोहो¥याए ठेक्का तोड्ने सम्मको कारबाही हुने चेतावनी दिएका हुन् । सीडीओ घिमिरेले आइइइ प्रतिवेदन विपरीत जथाभावी उत्खनन् हुँदा पनि बुटवल उप–महानगरले नियन्त्रण नगरेको बताएका छन् ।
आइइइ विपरीत उत्खनन् हुने र अनुगमन नगर्ने हो भने किन आइइइ गरेको त ?’– उपमहानगरका प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीलाई प्रश्न गर्दै सीडीओले भने–‘यस्ता गल्ती फेरि दोहोरिए ठेक्का तोड्नेसम्मको कारबाही हुनसक्छ ।’
मगरघाट पुलमाथि बुद्धनगर क्षेत्रमा भएको अर्को ठेक्काको उत्खनन् स्थलमा पनि मापदण्ड विपरीत गहिरो खनिएको, अनिवार्यरुपमा प्राविधिक खटाएर निगरानी गर्नुपर्ने र घाटगद्दी स्थलमा ठेकेदारको प्रतिनिधि हुनुपर्नेमा त्यो नपाइएको जिल्ला समन्वय समिति संयोजक उमाकान्त चापागाईंले बताए । उत्खनन् स्थलमा प्राविधिक नखटाइँदा जथाभावी ढुंगा गिट्टी निकाल्ने काम हुँदा छेउको बस्ती र पुलहरु जोखिममा पर्ने खतरा रहेको चापागाईंले सचेत गराए ।
‘बुटवल उप–महानगरले ठेक्का लगाएको मगरघाट पुल उत्तर र दक्षिण दुबैतर्फ स्वीकृत मापदण्ड विपरीत उत्खनन् भइरहेको छ, यो नरोके कारबाही हुन्छ,’ चापागाईंले भने–‘राज्यको सम्पतिको संरक्षणमा स्थानीय नागरिकको पनि निगरानी हुनुपर्छ ।’
यसअघि तिलोत्तमा ६ गोरकट्टामा ठेकेदारले पालिकाले तोकेको स्थानमा घाटगद्दी गर्नुपर्ने ढुंगागिटी सिधैँ क्रेसर उद्योगमा लैजाने गरेको पाइएपछि तिलोत्तमा–६ गोरकट्टास्थित कश्यप नमूना रोडा उद्योगलाई सोमबार प्रशासनले ढुंगा गिटी बिक्री नगर्न निर्देशन दिएको थियो । तर उद्योगले प्रशासनको निर्देशन अटेर गरी बिक्री नरोकेको स्थानीय बताउँछन् ।
गत वर्ष तत्कालीन प्रजिअ गणेश अर्यालले प्रत्येक उत्खनन् र घाटगद्दी स्थलमा २ जना जनपद,२ जना सशस्त्र र एक जना नगर प्रहरी गरी ५ जनाको सुरक्षाकर्मीको टोलीले नियमित गस्ती गरेकाले मापदण्ड विपरीत अवैध उत्खनन् र चोरी निकासी नियन्त्रण भएको थियो । तर यस वर्ष स्थानीयले दबाब दिएपछि मात्रै अनुगमन हुने अन्यथा जिल्ला प्रशासन र जिल्ला समन्वय समितिले स्वतःस्फुर्त नियमित अनुगमन नगरेकाले जथाभावी दोहन र चोरी निकासी अत्यधिक भएको स्थानीय बासिन्दाको गुनासो छ ।
खोलाहरुमा मनपरी दोहन र उत्खनन् रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका बढाउनेदेखि उत्खनन् र ढुवानीका मापदण्डहरु परिवर्तन र सर्वपक्षीय स्वतन्त्र निकायबाट नियमित अनुगमन हुनुपर्ने स्वतन्त्र नागरिकको भनाइ छ ।
खोलाको ठेक्का पाउने व्यक्ति पनि राजनीतिक दलको कार्यकर्ता र चन्दादाता, जिल्ला समन्वय समिति, मेयर, उपमेयर र वडाध्यक्ष पनि राजनीतिक दलकै मान्छे हुँदा निष्पक्ष अनुगमन हुन नसकेको बरु राजनीतिक संरक्षणमा आँखा चिम्लेर ठेकेदारलाई मनपरी गर्न छुट दिइएको उनीहरुको आरोप छ ।




