बुटवल । नागरिक सरोकारका मुद्दाहरुमा पेशागत धर्म निर्वाह गर्दै जनउत्तरदायी पत्रकारिता प्रभावकारी बनाउने उद्देश्यले बुटवलमा नागरिक मिडिया मञ्च नेपाल गठन भएको छ ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष यानेन्द्र जिसीको संयोजकत्वमा मञ्च गठन भएको हो । स्वतन्त्र र साझा फोरमका रुपमा गठन गरिएको मञ्चको सदस्यहरुमा टिआर शर्मा, प्रकाश डुम्रे, श्यामलाल पोखरेल र विनोद परियार रहेका छन् ।
१५ सदस्यीय मञ्चमा अन्य सदस्यहरु थपिंदै जाने जनाइएको छ । पछिल्लो समय मिडियाप्रति आम नागरिकको अपेक्षा र समाजका भएका उकुसमुकुसलाई सम्बोधन गर्ने गरी पत्रकारिता क्षेत्रको बहसलाई अगाडि बढाउन मञ्च स्थापना गरिएको संयोजक यानेन्द्र जिसीले बताए ।




