खिम खड्का
बुटवल । सवारी दुर्घटना न्युनिकरणको निम्ति बुटवलमा चालक सँग ३ मिनेट ट्राफिक प्रहरी कार्यक्रम संचालन गरिदै आएको छ । त्यसै कार्यक्रम अन्तर्गत जेठ २५ गते आइतवार बुटवल उपमहानगरपालिका कालिकानगर स्थित बुटवल-भैरहवा सडकखण्डमा मोटरसाइकल र स्कुटर चालकहरुको बिच ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
सिद्धार्थ राजमार्गको बुटवलभैरहवा सडक खण्डमा मोटरसाइकल र स्कुटर चालकहरुलाई सडक प्रयोग गर्ने विधि, सवारी दुर्घटनाका मुख्य कारण, सवारी दुर्घटनाबाट बच्ने उपाय, सडक प्रयोग गर्दा अपनाउनु पर्ने अनुशासन, लेन अनुशासन, ट्राफिक नियमको पालना सहित ट्राफिक सन्देशमुलक कार्यक्रम सम्पन्न गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरिक्षक मित्र बन्धु शर्माले बताए।
मोटरसाइकल र स्कुटर चालकहरुलाई सडकमै रोकेर प्रशिक्षण दिँदै उपरीक्षक शर्माले दुर्घटनाको मुख्य जोखिम २ पाङ्ग्रे सवारी हुने हुँदा २ पाङ्ग्रे सवारीले सवारी साधन चलाउँदा सडक अनुसासन र सवारी नियमलाई पूर्ण रुपमा पालना गर्नुपर्ने बताए ।
सवारी दुर्घटना न्यूनीकरण साथै सडक व्यवस्थापनलाई व्यवस्थित बनाउन लागि परेको ट्राफिक प्रहरीले पछिल्लो समय बुटवलका व्यस्त सडक र बजार क्षेत्रमा अव्यवस्थित र नो पार्किङमा नियम विपरित पार्किङ गरिएका सवारी साधनलाई कडाईका साथ नियन्त्रण गर्न लागिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रहरी नायव उपरिक्षक (डिएसपी) मधु सुधन न्यौपानेले बताए ।
बिगतदेखि बुटवलमा ट्राफिक प्रहरीले स्वरुप तथा सिट परिवर्तन गरेका सवारी तथा मोटरसाइकलको नियन्त्रण, तिब्र गतिमा चलाइएका सवारीलाई नियन्त्रण तथा कारबाही, सडक लेन अनुशासन उल्लङ्घनमा बिशेष अभियान समेत संचालन गर्दै आइरहेको ट्राफिक प्रहरीले हाल सडक दुर्घटना न्युनिकरण तथा यातायात व्यवस्थापनको निम्ति विभिन्न कार्यक्रम तथा अभियानहरु सचालन गर्दै आइरहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले बताएको छ ।




