नवलपुर । बढ्दो गर्मीसँगै मानिसहरु एक्कासी बेहोस हुने क्रम बढेको छ । यसैबीच नवलपुरको गैडाकोट १७ अमलटारीमा रहेको सारथवेभ ग्रेड रेडबुल कम्पनीमा काम गर्ने एक जना मजदुरको काम गर्दागर्दै अचानक वेहोस भएर ढल्दा मृत्यु भएको छ ।
सारथवेभ ग्रेड रेडबुल कम्पनीमा ना ५ ख ६६६५ न.को ट्रकमा काटुन लोड गर्ने क्रममा गैडाकोट १० पितौजी निवासी १८ बर्षीय रुपेश परियार अचानक बेहेस भई ढली उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाएकोमा उपचारको क्रममा निधन भएको हो । उनको शशिरको बाहिरी भागमा कही चोटपटक नलागेको प्रहरीले जनाएको छ ।
उनी देवचुली १६ वस्ने कवाडीको ठकेदार काम गर्ने नारायण के.सी.सँग काम गर्ने र उक्त कम्पनिमा बिग्रेका काटुन लोड गर्न गएको खुल्न आएको प्रहरीले जनाएको छ । त्यसैगरी कावासोती २ फलफूल चोकमा पनि एक जना नाम नखुलेको अन्दाजी ५५ बर्षीय पुरुष अचेत अवस्थामा फेला परेका छन् ।
उनलाई तत्काल उद्दार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको प्रहरीले जनाएको छ । हालसम्म उनको पहिचान हुन सकेको छैन । उनको अहिले मध्यविन्दु अस्पताल डण्डामा उपचार भईरहेको छ । उनको पनि शरिरमा कुनै चोटपटक नदेखिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी नवलपुरको मध्यविन्दु नगरपालिका २ चौडाहा निवासी ३६ बर्षीय पतिराम चौधरी पनि प्रतिक्षालयमा बेहोस अवस्थामा फेला परेका छन् ।
चौधरीलाई स्थानीयले बेहोस अवस्थामा फेला पारेपछि उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा ल्याएकोमा उनको थप उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको प्रहरीले जनाएको छ । उनको आँखामा चोट देखिएको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
यता गर्मी बढेसँगै नवलपुरका पालिकाहरुले विद्यालयमा गर्मी विदा दिएको छ । नवलपुरमा अहिले ३९ देखि ४० डिग्री सेल्सियससम्म अधिक्तम तापक्रम रहेको छ भने न्यूनतम २९ डिग्री तापक्रम रहेको छ ।




