बुटवल । सहयात्री बचत तथा ऋण सहकारी संस्था लि. बुटवलको आयोजनामा तीन दिने नेतृत्व विकास तथा सहकारी व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
समापन समारोहमा बोल्दै सहयात्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिबहादुर बोमरेलले सहयात्री सहकारी दलित समुदायभित्रको पनि सार्की समुदायले सञ्चालन गरेकोे सहकारी भएकोले यो सहकारी अन्य सहकारीभन्दा पृथक रहेको बताउँदै सहकारीले आफ्ना सदस्यहरुको आर्थिक शसक्तिकरणमा महत्त्वपूर्ण भूमिका खेलेको बताए । मुलुकको राजनीतिक, सामाजिक, आर्थिकलगायतका क्षेत्रमा दलितकोे उपस्थिति कम रहेको उल्लेख गर्दै उनले नेतृत्व विकास तालिमले सदस्यहरुलार्ई नेतृत्व तहमा पु¥याउन सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे । पछिल्लो समयमा सहकारी संघसंस्थाले मुलुकमा आर्थिक समृद्धिका लागि ठूलो टेवा पु¥याएको उनको भनाइ थियो । तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न उनले सहभागीहरुलाई आग्रह समेत गरे ।
सहयात्री बचत तथा ऋण सहकारी संस्थाका सचिव हस्तबहादुर हिताङ्गले सिकाइका लागि कहिल्यै पछि हट्न नहुने बताउँदै समयमा हुने तालिमले सदस्यहरुलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
सहकारीको सामाजिक उत्तरदायित्वअन्तर्गत दलित समुदायका आर्थिक अवस्थाले कमजोर जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति, वृद्धाश्रममा सहयोग, जटिल रोग लागेका बिरामीहरुलाई ३ महिना निःशुल्क व्याजदर कर्जा लगानी, सुत्केरी पोषण भत्तालगायत विभिन्न कार्यहरु गर्दै आइरहेको साथै सहकारीले सदस्यहरुलाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यका साथ सीपमूलक तालिम पनि दिँदै आएको सहकारीका कोषाध्यक्ष छवबहादुर नेपालीको भनाइ थियो ।
कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फबाट धनकुमारी बस्याल, हेमकुमार नेपालीले ३ दिनसम्म सिकेका अनुभवहरु सुनाएका थिए ।
तालिममा सञ्चालक समितिका सदस्य, उप–समितिका संयोजक तथा सदस्य कर्मचारी शेयर सदस्य गरी ५० जनाकोे सहभागिता रहेको थियो । जेष्ठ २६ देखि २८ गतेसम्म सञ्चालित तालिमलाई बुटवल उप–महानगरपालिकाका सहकारी, उद्योग वाणिज्य तथा लघु उद्यम शाखाका प्रमुख गुणाकर खनालले सहकारी व्यवस्थापनसम्बन्धी र वरिष्ठ उद्घोषक तथा कार्यक्रम सञ्चालक गोपालप्रसाद अधिकारीले नेतृत्व विकाससम्बन्धी सहजीकरण गरेका थिए । तालिम सहकारीका सञ्चालक समिति सदस्य तथा तालिम संयोजक विन्द्रा नेपालीको अध्यक्षतामा भएको कार्यक्रम सह–सचिव रिना नेपालीले सञ्चालन गरेकी थिइन् ।




