लुम्बिनी संवाददाता
गुल्मी
माटोमा फेला परेको शंकास्पद वस्तु खाएका बालिकाको उपचारमा लापर्बाही गर्दा ज्यान गएको छ । ती बालिकालाई सुविधासम्पन्न अस्पतालमा पठाउनुको साटो हस्तिचौर स्वास्थ्यचौकीका अहेव समसुल हक मियाँले लापर्बाही गर्दा ज्यान गएको हो ।
बारीमा खेल्न गएका दुई बालिकाले माटोमा फेला पारेको विषादी खाएर आमाले स्थानीय मेडिकलमा लगेकी थिइन् । स्वास्थ्यकर्मी मियाँले सुई र औषधि दिएर सञ्चो हुने ढाडस दिए । उनको उपचार सेवाप्रति विश्वास गर्दा एक बालिकाको ज्यान गयो । एक गम्भीर छिन् । विषादी जस्तो बस्तु खाएकालाई सुविधासम्पन्न अस्पताल नपठाउनु उनको कमजोरी भएको परिवारजनले बताएका छन् ।
इस्मा गाउँपालिका १ उजुङ्गको गोडाचौरस्थित सपना सुनारकी ४ वर्षीया छोरी प्रिन्सा सुनारको ज्यान गएको हो । अर्की बसुन्धारा सुनारकी ५ वर्षीया छोरी दिपशिखा सुनारको अवस्था गम्भीर छ ।
मृतकका आफन्तहरुका अनुसार बुधबार अपरान्ह चार बजेतिर बारीमा खेल्न गएका दुई बालिकाले झुक्किएर मुसा मार्ने विषादी खाएका थिए । अभिभावकले थाहा पाएपछि हस्तीचौर स्वाथ्य चौकीका अहेव सम्सुल हक मियाँलाई फोन गरे । उनले आफ्नो निजी मेडिकलमा बोलाए । परिवाजनले दुई बालिकालाई लिएर साँझ करिव ६ बजे मेडिकलमा पुराए । उनीहरुले खाएको विषको प्याकेट पनि देखाए । मियाँले सामन्य छ, डराउनु पर्दैन भन्दै सुई लगाइदिए ।
मृतककी आमा सपना सुनार भन्छिन्–‘केही औषधि पनि दिनु भयो । त्यहाँ पुग्दा दुबै बालिका टाठै थिए । चाउचाउ खान सक्ने अवस्थाका थिए । डराउनु पर्दैन भनेर घर पठाएको केही बेरपछि दुबै बालिकाले वान्ता गर्ने, रुने कराउने गर्न थालेपछि साँझ ९ बजेतिर मैले अहेवलाई फोन गरेर बोलाएँ ।
अहेवले आत्तिनु पर्दैन भोली अफिस जाने बेलामा आउँछु भनेर फोन राखेका थिए ।’
बालिकाको अवस्था गम्भीर भएपछि राती नै अभिभावकले तम्घास अस्पताल ल्याएका थिए । डाक्टरले अस्पतालमा बालिका प्रिन्सलाई मृत घोषणा गरेका थिए । अर्की बालिका दिपशिखालाई लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा रिफर गरे ।
स्वास्थ्यकर्मी मियाँले उनीहरु हिंड्दै आएकोले विष सेवन नगरे जस्तो लागेर वान्ता रोक्ने र भिटामिनको औषधि दिएर पठाएको बताए । उनले बालिकाहरुको अवस्था सामन्य देखेर आफूले जिल्ला अस्पतालमा रिफर नगरेको जनाए ।
अहेव मियाँले समयमै रिफर गरेको भए अर्की बालिका बच्ने संभावना रहेको तम्घास अस्पतालका डा. अमृत बस्नेतले बताए ।




