बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले निजामती सेवा विधेयकमा गरिएको छेडखानीप्रति आपत्ति जनाएका छन् । उनले प्रतिनिधिसभाबाट दुई वर्षे कुलिङ पिरियडको स्पष्ट व्यवस्थासहित पारित भइसकेपछि त्यसको मर्मविपरीत विधेयकमा गरिएको छेडखानीलाई ‘संसदको अपमान’ भनेका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा धारणा राख्दै शिवाकोटीले केही व्यक्तिको साँघुरो स्वार्थका लागि विधेयकमा तोडमोड गरिएको आरोप लगाए । ‘लोकतान्त्रिक विधि र संसद्प्रतिको विश्वासमाथि ठाडो प्रहार भएको छ,’ उनले लेखेका छन् ।
शिवाकोटीले विधेयकको मर्मविपरीत छलछाम गरी संसद्लाई गुमराहमा राखिएको टिप्पणी गरेका छन् । ‘संसद्लाई बुख्याचा बनाउने यस्ता चलखेल अब सह्य छैन’ भन्दै उनले तत्काल संसदीय छानबिनको माग गरेका छन्।
उनले संसद्बाट पारित विधेयकमा कसको निर्देशनमा, कुन प्रक्रियाबाट र किन छेडखानी भयो भन्नेबारे छानबिन गरी संलग्न सबैलाई कानूनी दायरामा ल्याउन पनि माग गरेका छन् । ‘संसदीय प्रणालीको रक्षा गर्न आजैबाट संसद्को निर्णय उल्ट्याउने प्रवृत्तिलाई रोकिनुपर्छ,’ शिवाकोटीले भनेका छन्।
निजामती सेवा ऐनमा रहेको कुलिङ पिरियड हटाइएकोप्रति व्यापक विरोध भइरहेका बेला कांग्रेस नेताको यो धारणा सार्वजनिक रूपमा आएको हो ।




