नवलपरासी । ‘हिजोका दिनमा तरकारी त फलाउँथ्यौं, तर बेच्नै सक्दैन थियौं, सबै गाईबस्तुलाई खुवाएर खेर जान्थ्यो ।’– सुस्ताकी किसान सुशिला कोइरी भावुक हुँदै भन्छिन् । तर अहिले उनी हरेक बिहान डोकोमा तरकारी बोकेर नजिकको बजार जान्छिन्, त्यो पनि मुस्कानसहित । यो परिवर्तनको मुख्य कारण हो, झोलुङ्गे पुल । सुस्ता गाउँपालिकामा एक वर्षअघि निर्माण भएको यो पुल अहिले गाउँका महिलाका लागि नयाँ सम्भावनाको द्वार बनेको छ । विशेषगरी महिलाहरूको जीवनशैलीमा आएको परिवर्तनले यो पुललाई ‘अर्थतन्त्रको सेतु’ को रूपमा चिनिन थालेको छ ।
एक हजार पाँच सय ७१ मिटर लामो र एक मिटर ६० सेन्टिमिटर चौडाइको पुलले सुस्ता वडा नम्बर ५ को दायाँ किनारमा रहेको सकरदिनही र बायाँ किनारमा रहेको सुस्ता गाउँलाई जोडेको छ । निर्माण कम्पनी त्रिशूली आश्रय जेभी कन्स्ट्रक्सले साढे २३ करोड रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न गरेको थियो ।
सुस्ताका ग्रामीण भेगका महिलाहरूले विगतमा खेतबारीमा तरकारी उत्पादन भए पनि बजार पु¥याउन नसक्ने बाध्यता भोगिरहेका थिए । बजार जाने बाटो टाढा थियो, अनि नारायणी तर्नु नै ठूलो जोखिम थियो । वर्षायाममा नदी तर्नु त झन् प्राणघातक बन्थ्यो । गाउँका केही पुरुषहरु तरकारी बेच्न भारतीय बजार त पुग्थ्ये, तर भारतीय बजार गएता पनि आत्मसम्मान र उचित मूल्य भने पाउँदैनथ्ये । तर झोलुङ्गे पुल बनेसँगै, यी महिलाहरूको हिम्मत बढेको छ ।
‘मैले स्कुल पढ्न भने पाइन्, तर आफ्ना बच्चालाई भने धेरै पढाउने रहर छ,’ सुशिलाले भनिन्–‘मलाई पढ्न मन धेरै थियो पढ्न पाएन, तीन बटा छोरा छन् उनीहरुलाई धेरै पढाउन मन छ । बुढाको कमाई घरको खर्चमै ठिक्क हुन्छ । तरकारी खेती होस् या उखु सबै काममा सँगै हिंड्छु मेहनत गर्छु, आफू पनि आम्दानी गर्न सकेपछि कसैसँग पैशा माग्न पर्दैन् अनि कसैले पनि हेप्दैनन् ।’
सुशिला केरा खेती गर्ने तयारी गर्दैछिन् । घरमा नै टिस्यूकल्चर प्रविधिबाट तयार गरिएका केराका बिरुवा राखिएका ट्रेले उनको पिढी ढाकिएको छ । भदौ असोजमा तयार हुने केरा त्यसमा चार्डपर्वको समयमा माग पनि बढी हुने कोइरी बताउँछिन् ।
१५ वर्षीया सरिता हरिजनलाई नेपाल प्रहरी भएर नेपाली जनताको रक्षासँगै देशको सीमा रक्षा गर्नै ठूलो रहर छ । उनी अहिले कक्षा ९ मा अध्ययनरत छिन् । नारायणी पारीको सुस्ता भूमिमा उनको घर छ । भारतीय अतिक्रमणसँगै आफ्नै देश नेपाल आउन पनि भूमिको बाटो भएर हिंड्न बाबुआमाले भोग्नु परेको पीडाले उनलाई देशको सीमा रक्षा गर्ने नागरिक बन्न मन छ । उनी भन्छिन्–‘बिना बर्दि बुबा आमाले देशको सीमा रक्षा गर्नु भो, अब मलाई बर्दि नै लगाएर देशको सीमा रक्षा गर्ने ठुलो सपना छ ।’
सुस्तामा पुल बन्नु अघिसम्म माध्यमिक तह पढ्ने विद्यार्थीहरूका लागि तीनवटा विकल्प थिए—डुङ्गाबाट नदी तरेर वारिपट्टिको विद्यालय जानु, सीमावर्ती भारततर्फको विद्यालय जानु, वा पढाइ नै छाड्नु । २४ वर्षीया राजमती हरिजन सम्झिन्छिन्–‘हामी बिहान ५ बजे उठ्थ्यौं, डुङ्गा कुरेर पारि पुग्थ्यौं । कहिलेकाहीँ खोला बढेपछि स्कुल नै जान पाइँदैनथ्यो । डर पनि लाग्थ्यो ।’ अहिले उनी पुलको बाटो हुँदै स्नातक तहको पढाइका लागि त्रिभुवन क्याम्पस बेलाटारी आउँछिन् ।
सुरक्षित बाटोमा हिँडेर विद्यार्थीहरू नियमित रूपमा माध्यमिक तहसम्मको पढाइ गर्न थालेका छन् । आधारभूत तहपश्चात् शतप्रतिशत विद्यार्थीहरु विद्यालय शिक्षालाई निरन्तरता दिएको सुस्ता गाउँपालिकाका शिक्षा शाखा प्रमुख चन्द्रबहादुर ठाडा मगरले बताए । उनी भन्छन्–‘पुलले गर्दा विद्यार्थीको नियमित उपस्थिति बढेको छ । खासगरी किशोरीहरू बढी सुरक्षित महसुस गर्छन्, जसले स्कुल बिचमै छाड्ने दर घटेको छ ।’ अब स्थानीय सरकार पनि पुल आसपासका बस्तीहरूलाई लक्षित गर्दै शिक्षामा पहुँच विस्तार गर्ने योजनामा लागेको छ । जनता आधारभूत विद्यालय सुस्तामा कक्षा ८ पास गरेर छाडेकाहरू पनि पुनः पढाइमा फर्किएका छन् । नुरजहान खातुन कक्षा ८ पास गरेपछि २ वर्ष घरमै बसीन्, पुल बनेसँगै अहिले उनी श्री बीपी मावि बलिनगर मा कक्षा ९ मा पढ्दै छिन् । उनी भन्छिन्–‘पहिला बाटो थिएन्, अब पुल बनेपछि म फेरि स्कुल जान पाएकी छु । मैले छाडेको पढाइ फेरि निरन्तर भएको छ ।’
झोलङ्गे पुलका कारण केवल आर्थिक मात्र होइन, स्वास्थ्य सेवामा पनि सुधार आएको छ । आर्थिक २०७९÷०८० मा ६ जना गर्भवती महिलाहरु घरमै सुत्केरी भएका थिए, आर्थिक वर्ष २०८०÷०८१ मा १ जना गर्भवती महिला चिकित्सकीय सहयोगसहित घरमै सुत्केरी भएकी थिइन भने यस आर्थिक वर्ष २०८१-०८२ मा भने घरमा सुत्केरी हुने महिलाको संख्या शून्य रहेको सुस्ता आधारभूत स्वास्थ्य चौकीका प्रमुख अशोक कुर्मी चौधरीले बताए ।
‘अहिले गर्भवती महिलाहरू सजिलै स्वास्थ्य संस्था आउँछन् रिफर गर्नुपर्ने बिरामीहरु पक्लिहवा, सेमरी र परासी जाने गरेका छन् । पुल पारिसम्म मोटरसाइकल र स्टेचर लैजाने गरेको छ । स्वास्थ्य चौकीका लागि आवश्यक औषधिहरु ल्याउनका लागि अहिले निकै सहज भएको कुर्मी बताउँछन् ।
पुल हेर्न आन्तरिक र बाह्य पर्यटकको संख्या समेत बढ्दै गएको छ । शनिबार, सार्वजनिक बिदाको दिन, चार्डपर्व विशेषमा नेपाल तथा भारतबाट पुल हेर्न आउने पर्यटकको संख्या भने बढ्दो छ ।
यहाँका महिलाहरु अहिले व्यापार व्यवसायमा जोडिन थालेका छन् । सबरुन खातुनले पान पसलको ट्याङ्कि सञ्चालन गर्दै आइरहेकी छिन्, बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म उनी व्यापारमै रहन्छिन्, दिनको ६ सयदेखि ९ सयसम्म कमाई हुने गरेको उनी बताउँछिन् । उनी भन्छिन्–‘खेतीबारी गर्दा हुने आन्दानीभन्दा व्यवसायमा सजिलो र कमाई पनि राम्रो छ । पुल हेर्न आउने मान्छेले खुशि हुँदै पान खान्छन् लैजान्छन् ।’
यसैगरी सुमित्रा हरिजनले पुलको अगाडि नै खाजाघर सञ्चालन गरेकी छन् । खाजाघरमा नारायणीको ताजा माछा खान पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । उनका श्रीमान नारायणीमा माछा मारेर ल्याउँछन् भने सुमित्रा सासुआमासँगै खाजाघरमा व्यस्त रहन्छिन् । उनले मासिक ५० हजारसम्म आम्दानी गरेकी छन् । उनी भन्छिन्–‘श्रीमान नारायणीमा माछा मार्ने र बेच्ने काम गर्छन्, म माईसँग होटल चलाउँछु खुशि छौं, पहिले पैसाको समस्या धेरै हुन्थ्यो, अहिले सजिलो भएको छ । दिनभर काम गर्छौं र साँझ सबै परिवारसँगै हुन्छौं ।’
त्यस्तै दैनिक ज्याला मजदुरी गरेर जीविका चलाइरहेकी लाजो मुसहरलाई पनि पुल बनेसँगै काममा जान निकै सहज भएको छ । विगत ११ वर्षदेखि उनी घर बनाउने काम र बर्खायाममा खेतीपातीको काममा हिंडेर जीवनयापन गरिरहेकी छिन् । उनी सम्झन्छिन्–‘बर्खाको समयमा खेतीबालीको काम गर्न नारायणीमा डुङ्गाबाट वारि आएर साँझ घर फर्कने बेला नारायणी बढेर डुङ्गामा फर्कन नसकेपछि रातभर नदीकिनारमै बसेर रात कटाएको थियौं ।’
पानीको बहाव कम भएपछि डुङ्गामा घर फर्किने, तर घर पानीले भरिएको थियो । अन्नपात सार्न नपाउँदा सबै फाल्नु परेको उनी बताउँछिन् अहिले पुल बनेसँगै दिनभर काममा जाँदा घर कसरी फर्कने भन्ने पिर अहिले नलाग्ने गरेको लाजो बताउँछिन् । उनी जस्तै गीता मुसहर, मोहरम मुसहर, सुनितादेवी कुर्मी दैनिक ज्याला मजदुरीका लागि अहिले गोपीगञ्ज, सेमरी, बर्दघाट, परासीसम्म पुग्ने गरेका छन् ।
सुस्ता गाउँपालिकाकी उपाध्यक्ष गीता चौधरीले सुस्तामा बनेको झोलुङ्गे पुल केवल एक भौतिक संरचना नभएर यहाँका महिलाहरूका लागि आर्थिक उन्नतिको बाटो बनेको बताउँछिन् । उनी भन्छिन्–‘नारायणी नदीमाथि बनेको पुल आमा र शिशुका लागि सुरक्षित जीवन र बालबालिकाहरूका लागि उज्ज्वल भविष्यको ढोका बनेको छ ।’ पुल बनेसँगै सुस्तापारिका सर्वसाधरणको जनजीवन फेरिएको छ । आर्थिक परिवर्तन देखिएका छन् ।




