लक्ष्मण घिमिरे
अर्घाखाँची
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट अर्घाखाँची, गुल्मी र पाल्पाका ३४ हजारभन्दा बढी घरधुरी लाभान्वित भएका छन् । तीन जिल्ला हेर्नेगरी अर्घाखाँचीमा स्थापना भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट तीन जिल्लाका ३४ हजार ५८० घरधुरीले सेवा पाएका छन् । जलवायु अनुकुलित खानेपानी प्रदान गर्ने उद्देश्य अनुरुप तीन जिल्लामा योजना सञ्चालित छन् ।
आयोजनाका अर्घाखाँचीमा ४४ वटा योजना, गुल्मीमा ४५ वटा योजना र पाल्पामा ३४ वटा गरी १२३ वटा योजनामा काम भइरहेको छ । ३४ हजारबढी घरधुरीका एकलाख ६० हजार २६८ जनसंख्याले स्वच्छ खानेपानी पाउने छन् ।
अर्घाखाँचीका घुरुङखोला फुदबाङ सन्धिखर्क खानेपानी आयोजना, हाडेखोला चिदीका वृहत् खानेपानी योजना, साहुबोट मैदान वृहत् खानेपानी योजना, खिल्जी साम्नेगाउँ वृहत् खानेपानी योजना ठूला परियोजनाअन्तर्गत गर्दछन् ।
गुल्मीको रेसुङ्गा खानेपानी आयोजना सबैभन्दा ठूलो आयोजना हो । अन्तिम चरणमा पुगेको योजना सम्पन्न हुनासाथ ६ हजार ४ सय घरधुरीका ३२ हजार ९९१ जनसंख्या लाभान्वित हुनेछन् । यस्तै छत्रकोट खानेपानी आयोजना भर्खर सम्पन्न भएको छ । यो आयोजनामा ९५६ घरधुरीका ४ हजार ८८४ जनसंख्याले खानेपानी पाएका छन् ।
यस्तै पाल्पामा सञ्चालित ३४ वटा योजनामध्ये तानसेन कालीगण्डकी खानेपानी आयोजना, बर्तुङ खानेपानी आयोजना, पाल्पा दम्कडा लिफ्ट खानेपानी आयोजना ठूला आयोजनामध्ये पर्ने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख अरुणकुमार खरेलले जानकारी दिए ।
तीन जिल्लामा अर्बौं रुपैयाँका योजना सञ्चालित रहेको आयोजना प्रमुख खरेलको भनाइ छ । ‘६ वटा शीर्षकमा रहेर हामीले काम गरिहेका छौं,’ उनले भने–‘स्वच्छ खानेपानी प्रदान गर्ने यो अभियानमा ३ जिल्लामा अर्बौं रुपैयाँको काम भइरहेको छ ।’ कतिपय बस्तीमा पानीको स्रोत नभएपछि बस्तीदेखि कयौं दूरीबाट पानी तानेर ल्याइएको, कतिपयमा मुलहरु नभएपछि लिफ्ट गरेर ल्याइएको इञ्जिनियर सुनिल पोख्रेलले बताए । गाउँघरमा खानेपानीको भरपर्दो र व्यवस्थित श्रोत नभएपछि खानेपानीको समस्यालाई दिगो रुपमा समाधान गर्न कार्यालय प्रयासरत रहेको उनको भनाइ छ ।
आयोजनाले घरघरमा पानी पु¥याएपछि स्थानीयवासी खुशी छन् । घरमै खानेपानी पुगेपछि बिहानसाँझ पानी बोक्नु पर्ने हैरानीबाट स्थानीयवासीले मुक्ति पाएका छन् । ‘पानीको भरपर्दो व्यवस्था थिएन । साँझबिहान बाल्टी बोकेर पानी बोक्न हिंड्नुपर्ने बाध्यता पनि हट्यो । यो आयोजनाले सम्पूर्ण गाउँकै समस्या हटेको छ ।’ –अर्घाखाँचीको छत्रदेवमा सञ्चालित हाडेखोला चिदीका वृहत् खानेपानी आयोजनाबाट लाभान्वित स्थानीय सञ्जय पाण्डेले भने ।
कार्यालय सर्ने भएपछि जिल्लावासी निराश
तीन जिल्ला हेर्नेगरी अर्घाखाँचीमा रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय अन्यत्र सर्ने भएपछि जिल्लावासी निराश बनेका छन् । यहाँ रहेको कार्यालय बुटवल सर्ने भएपछि सर्वसाधारण निराश भएका हुन् ।
अर्घाखाँची, गुल्मी र पाल्पा कार्यक्षेत्र रहेको यो आयोजना कार्यालय आर्थिक अभावको कारण देखाउँदै मन्त्रालयले बुटवल सार्ने भएपछि चलिरहेका आयोजना अलपत्र पर्ने हुन् कि भन्ने स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले जनताको सुविधालाई मध्यनजर गर्दा कार्यालय सर्न नहुने बताए । तीन जिल्लाका विशाल आयोजनाहरु सञ्चालन भइरहेको अवस्थामा कार्यालय अन्यत्र जाँदा जनताले थप सास्ती भोग्नुपर्ने उनको भनाइ छ । ‘पोहोर साल नै कार्यालय सर्ने भन्ने थियो, तर हामीले रोक्यौं,’ उनले भने–‘अहिले पनि कार्यालय सर्ने कुरा आएको छ, हामीले पहल त गरिहेका छौं, तर राज्यको कुरा हो हेरौं ।’
संघीय सरकारअन्तर्गत खानेपानी तथा सरसफाइ मन्त्रालयले सञ्चालन गर्दै आएको यो आयोजनाले पहाडी बस्तीहरूमा खानेपानी तथा ढल व्यवस्थापनसम्बन्धी कार्य गर्दै आएको छ । कार्यालय सर्दा पहाडी क्षेत्रमा सञ्चालित थुप्रै योजना अधुरो रहने स्थानीयको चिन्ताको विषय बनेको छ । एक हजारभन्दा कम जनसंख्या भएका आयोजनाहरू प्रदेशले हेर्ने र ठूला आयोजना संघीय कार्यालयमार्फत् सञ्चालन हुँदै आएको छ । त्यसैअनुसार अर्घाखाँचीमा संघीय कार्यालय स्थापना भएको थियो । तर अहिले कार्यालय बुटवल सारिने भएपछि जिल्लामा सञ्चालनमा रहेका बहुवर्षीय योजनाहरू प्रभावित हुने, समन्वयमा कठिनाइ हुने र प्रगतिको गति सुस्त हुनेमा स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
मुल कार्यालय बुटवल गए पनि फिल्ड कार्यालय भने सन्धिखर्कमै रहने कार्यालयले जनाएको छ ।




