बुटवल
रुपन्देही ३ को उप–निर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का सल्लाहकार तिलोत्तमाका सन्तोष गिरीले पनि स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छन् । ३३ वर्षीय गिरी तिलोत्तमा नगरपालिका ६ पश्चिम पहुनीका बासिन्दा हुन् । जुन रुपन्देही क्षेत्र नं. ३ मै पर्छ । गिरीले दैनिक लुम्बिनीसँग संक्षिप्त कुरा गर्दै धेरैतिरबाट आग्रह भएकाले उम्मेदवार बन्ने सोंचका साथ तयारीमा रहेको खुलाए ।
‘उम्मेदवार बन्न रुपन्देही–३ का विभिन्न क्षेत्रका शुभेच्छुकहरुले आग्रह गरेकाले बन्नुपर्छ भन्ने सोंच भयो, बन्ने सम्भावना पनि छ,’ गिरीले भने–‘तर हतार गरेर तयारी नै गरेको छैन, साउनमा थाहा हुन्छ ।’
बालेनका खाद्य सल्लाहकार गिरी अर्थशास्त्रमा एमए र कानुनमा एलएलबी गरेका छन् । उनी नेपाल स्वीस चेम्बर अफ कमर्शको प्रमुख कार्यकारी अधिकृतका रूपमा पनि काम गरिरहेका छन् । एमालेनिकट अनेरास्ववियु रुपन्देहीको सह–सचिव बनेका गिरी प्रखर वक्ताका रुपमा समेत चिनिन्छन् । स्वतन्त्र राजनीति र युवा नेतृत्वको पक्षमा बोल्दै आएका गिरीलाई परिवर्तन चाहने युवाहरुको ठूलो हिस्साले विकल्पको रुपमा हेरिरहेको बताइन्छ । वैकल्पिक राजनैतिक शक्तिहरुले उनलाई साझा उम्मेदवारको रुपमा अघि सार्ने सम्भावना पनि उत्तिकै छ ।
गिरी निकट स्रोतका अनुसार बालेनलाई महानगरमा एक्लै पारेपछि संसदमा उनको पक्षमा आवाज उठाइदिने कोही नभएकाले बालेन समर्थकको टिमले नै गिरीलाई स्वतन्त्र उम्मेदवार बनाउन लागेको हो । ‘बालेनलाई सत्तारुढ दुई दलले एक्लाएर काम गर्न नदिँदा उनको पक्षमा यदाकदा राप्रपाका ज्ञानेन्द्र शाहीले मात्रै संसदमा कुरा उठाउँछन्, अरुले आवाज उठाइदिएनन् भनेर बालेन समर्थकहरुले यही क्षेत्रका सम्भावना बोकेका युवालाई उम्मेदवार बनाउन लागिएको हो,’ तिलोत्तमा–६ का बालेन समर्थक एक युवाले भने–‘अहिलेको युवा पुस्ताले सबैभन्दा रुचाएको बालेनलाई नै हो, उनलाई काम गर्न नदिएर दुःख दिएको देखेर उनको मान्छेलाई उम्मेदवार बनाउन हामी नै लागेका हौं ।’
ती युवाको दाबीअनुसार सन्तोषको चुनावी कमाण्डर सागर ढकाल बन्ने चर्चा छ । तर स्वयं सागरले यसको पुष्टी गरिसकेका छैनन् ।
बालेन समर्थकहरुले गिरीको पक्षमा रास्वपाको समेत साथ लिन खोजेका छन् । स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेका गिरीले आफूभन्दा योग्य युवा उम्मेदवार आए उसैलाई सहयोग गर्न तयार रहेको बताए ।
आइतबार नै बुटवल मोतीपुरका लेखनाथ गैरेले औपचारिकरुपमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
कात्तिक १७ गते हुने उप–निर्वाचनमा नेपाली कांग्रेसबाट बालकृष्ण खाँण, भरत शाह, प्रमोद यादव, रामचन्द्र ढकाल, रमेश खनाललगायतको नाम चर्चामा छ । तर नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर थुनामा परी रिहा भएका खाँण उम्मेदवारी दर्ताको समयसम्म मुद्दाको किनारा लागेमात्रै उम्मेदवार बन्ने अन्यथा नबन्ने उनी निकटहरु बताउँछन् । एमालेबाट पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, व्यवसायी शशि पौडेल, पूर्व प्रदेश सांसद दधिराम न्यौपाने, केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेल र सिद्धार्थनगर नगरपालिकाका पूर्वमेयर हरि अधिकारी पनि उम्मेदवार बन्ने चर्चा छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपक बोहराका छोराहरु क्या. गौरव बोहरा, प्रज्ज्वल बोहरा, नातिनी स्वाती थापा, पूर्व मेयर सागरप्रताप राणालगायत आकांक्षी छन् । गौरव र प्रज्ज्वल दुई श्रीमतीका छोरा हुन् ।
माओवादी केन्द्रसहितका विपक्षी दलबाट एकीकृत समाजवादीका महासचिव घनश्ययाम भुसाल र युवा नेता एवं अस्पताल व्यवसायी कमल भण्डारी उम्मेदवार बन्ने चर्चा छ । रास्वपाबाट उम्मेदवारका आकांक्षी आफैँ खुलेका छैनन् । तर आकांक्षी निकटहरुका अनुसार क्षेत्र नं. ३ का सभापति मधु अर्याल, सहकारी अभियान्ता ज्ञानु पौडेललगायतको नाम चर्चामा छ ।संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबाट नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दिने ७ दलबिच सहमति भएको थियो । नागरिक उन्मुक्तिबाट रेशम चौधरी र धनिराम चौधरी उम्मेदवार बन्ने चर्चा छ । तर ७ दलको सहमतिबाट पछि हटेर जनमत पार्टीले छुट्टै उम्मेदवार उठाउने चर्चा छ ।
यस्तो छ विगतको नतिजा
९० हजार मत खसेको २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसले २० हजार २७८ मत पाएको थियो । एमालेले १६ हजार ९८६ मत पाउँदा रास्वपाले १४ हजार १५४ र राप्रपाले भने जम्मा ९ हजार १८३ मत पाएको थियो ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ६ हजार र जसपाले ५ हजार मत पाएको थियो । लोसपाले ५ हजार, जनमत पार्टीले ३ हजार ७००, माओवादी केन्द्रले २ हजार ६०० सय, जनमुक्ति पार्टीले १ हजार ९००, हाम्रो नेपाली पार्टी (लौरो)ले १ हजार ३४७ र नेकपा एकीकृत समाजवादीले ७८१ मत पाएका थिए ।
रुपन्देही–३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन् । यो क्षेत्रमा नेपाल–भारत सीमा क्षेत्र बेलहिया नाकादेखि बुटवल उप–महानगरको वडा नम्बर १४ देखि १९, शुद्धोधन गाउँपालिका र सिद्धार्थनगर नगरपालिकाका सबै वडा, सियारी गाउँपालिकाको वडा नं. १ देखि ३, ६ र ७, ओमसतिया गाउँपालिकाको वडा नं. २, मायादेवी गाउँपालिकाको वडा नं. ७ र ८, तिलोत्तमा नगरपालिकाको वडा नं. १३ र १४ र बुटवल उप–महानगरपालिकाको वडा नं. १४ देखि १९ वडा समेटिएको छ ।२०४८ सालमा कांग्रेसका रामकृष्ण ताम्राकारले चुनाव जितेको यहाँ ०५१ मा एमालेका धनपति उपाध्यायले जितेका थिए ।
उपाध्यायको निधनपछि रिक्त रहेको सो क्षेत्रमा उप–चुनाव हुँदा २०५२ मा एमालेकै घनश्याम भुसालले जितेका थिए । २०५६ सालमा फेरि कांग्रेसका ताम्राकारले जिते भने २०६४ सालमा क्षेत्र पुनर्संरचना भएपछि बालकृष्ण खाँण निर्वाचित भए । २०७० सालमा पुरानै निर्वाचन क्षेत्र हुँदा दीपक बोहरा राप्रपाबाट विजयी भएका थिए । २०७४ मा नयां भूगोल समेटेर क्षेत्र नं. ३ बनेपछि एमालेका घनश्याम भुसाल र २०७९ मा पुनः राप्रपाका दिपक बोहरा एमालेको समर्थनमा विजयी भएका थिए ।
२०७४ सालमा नेपाली कांग्रेसले दीपक बोहरालाई उम्मेदवार बनाएर बालकृष्ण खाँणलाई समानुपातिक सांसद बनाएको थियो । तर, एमालेका तर्फबाट घनश्याम भुसालले ३२ हजार ८६६ मत ल्याएर जिते । बोहराले २७ हजार ४२२ मत ल्याएका थिए । त्यतिबेला एमाले र माओवादी केन्द्र मिलेर चुनाव लडेका थिए ।




