काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले सहकारी पीडितलाई सरकारका तर्फबाट फिर्ता गर्ने भनिएमो पाँच लाख बचत तत्काल उपलब्ध गराउन माग गरेको छ ।
असार १६ देखि २३ गतेसम्म बसेको केन्द्रीय समिति बैठकको निर्णयमा भनिएको छ, “कतिपय सहकारी सञ्चालकबाट ठगिएका बचतकर्ताको बचत सुरक्षित गर्दै बचतकर्तालाई पाँच लाखसम्मको रकम यथाशीघ्र फिर्ता दिलाउन प्रभावकारी नीति लिन सरकारको ध्यानाकर्षण गराउँदै यस विषयमा कुनै बिलम्व नगरी प्रक्रियामा रहेका सबै मुद्दा चाँडै टुंगो लगाउन र दोषी देखिएकालाई यथाशीघ्र कानुनी दायरामा ल्याई समस्याको दीर्घकालीन समाधान गर्न आवश्यक रणनीतिक कदम चाल्न समेत सरकारसँग जोडदार माग गर्दछ ।”
यस्तै, बैठकले उखु किसानका लागि दिइँदै आएको अनुदान निरन्तरता दिन पनि सरकारसँग माग गरेको छ । “उखु किसानले पाउँदै आएको अनुदानलाई निरन्तरता दिन र आगामी वर्षमा पनि उखु किसानको भुक्तानी समयमै हुने वातावरण बनाउनुका साथै यस क्षेत्रका अन्य समस्याको उचित समाधान गर्न सरकारसँग माग गर्दछ,” कांग्रेसको निर्णयमा भनिएको छ ।




