२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

कर्मचारी र शेयर सदस्यको विरोध छल्दै ग्रामीण विकास लघुवित्तको साधारणसभा

कर्मचारी र शेयर सदस्यको विरोध छल्दै ग्रामीण विकास लघुवित्तको साधारणसभा

प्रमुख कार्यकारी अधिकृतले आफ्नो कार्यकाल लम्ब्याउने निहीत स्वार्थमा  आवश्यकता र औचित्य नै नभएको समाज लघुवित्तसँग मर्ज गर्ने प्रस्ताव पारित गर्न जबरजस्ती साधारणसभा गरेको आरोप छ ।

कर्मचारी र शेयर सदस्यको विरोध छल्दै ग्रामीण विकास लघुवित्तको साधारणसभा

कर्मचारी र शेयर सदस्यको विरोध छल्दै ग्रामीण विकास लघुवित्तको साधारणसभा

प्रमुख कार्यकारी अधिकृतले आफ्नो कार्यकाल लम्ब्याउने निहीत स्वार्थमा  आवश्यकता र औचित्य नै नभएको समाज लघुवित्तसँग मर्ज गर्ने प्रस्ताव पारित गर्न जबरजस्ती साधारणसभा गरेको आरोप छ ।

कर्मचारी र शेयर सदस्यको विरोध छल्दै ग्रामीण विकास लघुवित्तको साधारणसभा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ २९ २०८२
आइतवार, आषाढ २९ २०८२
  • बुटवल 
    नेपाल ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले कर्मचारी संगठन र शेयर सदस्यहरुको विरोधलाई बेवास्ता गर्दै साधारणसभा गरेर कमजोर संस्थासँग मर्जर प्रस्ताव पारित गरेको छ । संस्थाले अधिकांश महिला शेयर सदस्यहरूलाई जानकारी नदिई ÷ सहभागी नगराई शनिबार बुटवलमा प्रहरी तैनाथ गरी सीमित शेयर सदस्य सहभागी गराएर साधारणसभा गरेको असन्तुष्ट शेयर सदस्यको गुनासो छ ।


    साधारणसभामा करिब सय जनाका लागि कुर्सी राखिएको भए पनि सञ्चालक समिति सदस्यहरू र केही शेयर सदस्यहरु मात्रै सहभागी थिए । सञ्चालक समितिका अध्यक्ष भरतराज कोइराला र कम्पनी सचिवसमेत रहेका प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालको मिलेमतोमा औपचारिकताका लागि मात्रै साधारणसभा गरिएको कर्मचारी संगठनको आरोप छ  ।
    ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले समाज लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर प्रस्ताव पारित गर्नका लागि शेयर सदस्यहरूलाई सहभागी नै नगराई जबरजस्ती साधारणसभा गरेको नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष दीपेन्द्र लुइँटेलले बताए ।


    कर्मचारी संगठनले कार्यक्रमस्थलमा कालो ब्यानरसहित विरोध प्रदर्शन गरेका थिए । कर्मचारीमध्येका शेयर सदस्यहरूलाई प्रवेशमा प्रहरी परिचालन गरेर रोक लगाइएको थियो । भुई तलामै प्रहरी तैनाथ गरेर होटेलको पाँचौ तलामा आयोजित साधारणसभामा जान शेयर सदस्य कर्मचारी र पत्रकारलाई रोक लगाएपछि केहीबेर तनाव उत्पन्न भएको थियो । पत्रकारहरुले समाचार संकलनमा रोक लगाइएको विषय जानकारी गराएपछि  प्रमुख जिल्ला अधिकारीले प्रहरीलाई फोन गरेर प्रवेश गर्न दिएका थिए । पत्रकार र असन्तुष्ट शेयर सदस्यहरु पुग्दा साधारणसभा सम्पन्न भएको थियो । 


    सर्वसाधारणतर्फका शेयर सदस्यहरूलाई सूचना समेत नगरी ढोका थुनेर आफू अनुकूलको निर्णय गर्न साधारणसभा गरिएको शेयर सदस्य लिलामाया थापाले बताइन् । ‘हामीलाई गुमराहमा राखेर कहिले कुन ठाउँ, कहिले कुन ठाउँ भन्दै झुक्याएर साधारणसभा गरियो, थाहा पाएर आउँदा पनि जान दिइएन ।’–थापाले भनिन् ।  संस्थाले सुरुमा संस्थाको केन्द्रीय कार्यालयमा, दोस्रोपटक एशियन होटेलमा र तेस्रोपटक पाम इन्टरनेसनल होटेलमा साधारणसभा हुने सूचना टाँसेको थियो । 


    शेयर सदस्य सरस्वती न्यौपानेले महिलाहरुको लघु वित्त भनेर नाम चलेको र माथि उठेको संस्थाले महिला शेयर सदस्यहरुलाई निषेध गरेर आफू अनुकूल व्यक्तिलाई मात्रै सहभागी गराएर साधारणसभामा गरेकोप्रति आपत्ति जनाइन् । साधारण सभामा पेस हुने प्रस्तावहरूमा छलफल गर्न र प्रश्न सोध्न आए पनि सुरुमा प्रवेश नदिइएको र प्रवेश गर्नासाथ साधारणसभा सकिएको उनले गुनासो गरिन् । ‘समान प्रकृतिका ५ वटा संस्थासंग मर्ज गरेको दश वर्षसम्म पनि शेयरधनीहरुलाई केही नाफा दिन नसकेको संस्थाले अब एकदमै कमजोर संस्थासंग मर्ज गर्नुपर्ने कारण के हो, हामीलाई थाहा छैन,’ उनले भनिन्–‘कार्यकारी प्रमुख र सञ्चालकको कार्यकाल थप्ने स्वार्थमा गरिने मर्जर शेयर सदस्यलाई स्वीकार्य छैन ।’ 


    नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष दीपेन्द्र लुइँटेलले सर्लाहीमा केन्द्रीय कार्यालय रहेको तीन जिल्ला कार्यक्षेत्र भएको २ करोड २८ लाख पुँजी भएको समाज लघु वित्तसँग ७७ जिल्ला कार्यक्षेत्र र ९८ करोड २५ लाख पुँजी भएको संस्थाले मर्जर गर्नुपर्ने कुनै आवश्यकता र औचित्य नै नभएको उनले बताए । यो मर्जरको विपक्षमा वहुमत शेयर सदस्य र कर्मचारी रहेकाले मर्जर सफल नहुने उनको चेतावनी छ ।


    मर्जर अनुचित छ भन्दै संगठनले असार १३ गते नै संस्थालाई ध्यानाकर्षणपत्र बुझाए पनि जबरजस्ती गरिएको उनको भनाइ छ । ‘यो कुनै व्यक्तिको कार्यकाल दोहो¥याएर निजी स्वार्थ पूरा गर्न रचिएको नाटक हो, यसले संस्था, शेयरधनी र कर्मचारी कसैलाई फाइदा हुँदैन,’ उनले  भने–‘कमजोर वित्तीय हैसियत भएको संस्थासँग समान अनुपात (रेसियो) मा मर्जर गर्न तयार हुनुले गम्भीर प्रश्न उठेको छ, यस्तो गलत रवैयाप्रति नियामक निकाय नेपाल राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण हुनुपर्छ ।’ 


    आर्थिक वर्ष २०८०÷०८१ को वित्तीय सूचकांकमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको तुलनामा समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पुँजी २.३ प्रतिशत, निक्षेप संकलन ४.५ प्रतिशत, ऋण लगानी ३.६ प्रतिशत, सदस्य ३.४ प्रतिशत र ऋणी ३.८ प्रतिशत रहेको उल्लेख गर्दै हरेक सूचकहरू ५ प्रतिशतभन्दा कम छ । तर मर्जरजस्तो कर्मचारी वर्गमा प्रत्यक्ष प्रभाव पार्ने विषयलाई नजरअन्दाज गरी आधिकारिक ट्रेड युनियनसँग कुनै प्रकारको औपचारिक छलफल, संवाद तथा परामर्श नगरी विरोधका बाबजुद पनि साधरणसभा गर्नुले बदमासी भएको पुष्टि भएको अध्यक्ष लुइँटेलको तर्क छ ।


    दसौँ साधारण सभाको विशेष प्रस्तावमा समाज लघुवित्त संस्था लिमिटेडसँग गाभ्ने प्रस्तावमा भर्चुअल सहभागी गराएर हतार हतारमा प्रस्तावहरू पारित गराइएको स्वयम सञ्चालकहरू बताउँछन् ।


    कम्पनी सचिव र प्रमुख कार्यकारी अधिकृत एउटै
    कम्पनी सचिव र प्रमुख कार्यकारी अधिकृत एउटै व्यक्ति हुन नमिल्ने प्रावधान रहे पनि श्याम कुमार कटुवालले दुवै जिम्मेवारी सम्हालेका छन्। २०८१ साल फागुन १७ गते समाज लघुवित्त वित्तीय संस्थासँग एकीकरण (मर्जर) गर्ने सम्झौता गरिएको थियो । तर, समझदारीबारे शेयर सदस्य र कर्मचारीहरूलाई भने साधारणसभा गर्ने मिति तय भएपछि मात्रै जानकारी गराइएको थियो । प्रमुख कार्यकारी अधिकृत कटुवालले आफ्नो कार्यकाल लम्ब्याउन र केहीलाई जागिर दिनका लागि कमजोर वित्तीय अवस्था रहेको संस्थासँग मर्जर गर्न लागेको कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष विष्णु पंगेनीले बताए ।


    नायब प्रमुख कार्यकारी अधिकृत दीपक पाण्डेयले नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि  साधारणसभाबाट मर्जर सम्बन्धी विशेष प्रस्तावसर्वसम्मत पारित भएको दाबी गरे । 


    साधरणसभाको समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई समेत प्रवेशमा रोक लगाइएको विषयमा उनले केही वर्षयता पत्रकारलाई नबोलाउने गरिएकोमा कुनै कर्मचारी संगठनले बोलाएको भए संस्थालाई थाहा नहुने बताए । 
    संस्थाले केही समय अघि गरेको कर्मचारी बढुवाको विषयमा पनि व्यापक विरोध भएपछि बढुवाको विधि परिवर्तन गर्न बाध्य भएको थियो । संस्थाले हालै मात्र पाँच सय बढी कर्मचारी नियुक्त गरेको थियो । उक्त विषय पनि आर्थिक चलखेलसँग जोडेर विवादित बनेको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij