बुटवल । रुपन्देही-३ मा १७ कात्तिकमा हुने उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ६ जनाको नाम सिफारिस गरेको छ ।राप्रपा जिल्ला कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले ६ जनाको नाम केन्द्रलाई सिफारिस गरेको केन्द्रीय सदस्य स्वाती थापाले बताइन् ।
उनका अनुसार पार्टी केन्द्रीय सदस्यद्वय स्वाती थापा र बसन्तविक्रम शाही, रुपन्देही अध्यक्ष सागरप्रताप राणा, स्व. दीपक बोहराका छोराहरू गौरव बोहरा, प्रज्ज्वल बोहरा र जिल्ला नेता दिलीप मल्लिकको नाम सिफारिस भएको छ ।
२०७९ सालको निर्वाचनमा निर्वाचित भएका राप्रपाका वरिष्ठ नेता दीपक बोहराको निधन भएपछि १७ कात्तिकमा उपनिर्वाचन हुन लागेको छ ।
२०७९ को निर्वाचनमा स्व. बोहराकी नातिनी समेत रहेकी थापा चुनावी कमान्डर रहेकी थिइन् । गौरव बुद्ध एयरको सिनियर पाइलट हुन् भने प्रज्ववल इन्जिनियर हुन् । राप्रपा केन्द्रीय कमिटीले २९ असारमा वरिष्ठ नेता रहेका उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति गठन गरेको थियो ।
समितिमा निरञ्जन थापा, प्रदीप उदय, ताहिर अली सदस्य रहेका छन् । २०७९ मा नेकपा एमालेको साथ पाएर निर्वाचन जितेको राप्रपा समानुपातिक मतमा भने चौथो स्थानमा छ । तत्कालीन गृहमन्त्री कांग्रेसका नेता बालकृष्ण खाँण बोहरासँग पराजित भएका थिए ।
सिफारिस भएका ६ जना मध्येबाट पार्टी केन्द्रले एक जनालाई उम्मेदवार बनाउने छ । रुपन्देही ३ मा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहका सल्लाहकार तिलोत्तमाका सन्तोष गिरीले पनि स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छन् । ३३ वर्षीय गिरी केही दिनयता निर्वाचन क्षेत्रमा मतदातासँग भेटिरहेका छन् ।
उनलाई रास्वपाले पनि सघाउने गरी पार्टी केन्द्रमा छलफल भइरहेको स्रोतको दाबी छ । यसअघि भैरहवाका व्यवसायी अजयकुमार गुप्ता, बुटवल मोतिपुरका लेखनाथ गैरेले औपचारिक रूपमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । यस्तै राष्ट्रिय जनमोर्चाले बद्रे आलमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
उप निर्वाचनमा नेपाली कांग्रेसबाट बालकृष्ण खाँण, भरत शाह, प्रमोद यादव, रामचन्द्र ढकाल, रमेश खनाल लगायतको नाम चर्चामा छ । तर, नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर थुनामा परी रिहा भएका खाँण उम्मेदवारी दर्ताको समयसम्म मुद्दाको किनारा लागे मात्रै उम्मेदवार बन्ने अन्यथा नबन्ने उनी निकटहरू बताउँछन् ।
एमालेबाट पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, व्यवसायी शशी पौडेल, पूर्वप्रदेश सांसद दधिराम न्यौपाने, केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेल र सिद्धार्थनगर नगरपालिकाका पूर्वमेयर हरि अधिकारी पनि उम्मेदवार बन्ने चर्चा छ । तर, पौडेलले टिकट पाउने दाबी पार्टीकै नेताहरू बताउँछन् ।
नेकपा माओवादी केन्द्र सहितका विपक्षी दलबाट उम्मेदवारका आकांक्षी अझै खुलेका छैनन् । तर एकीकृत समाजवादीका युवा नेता एवं अस्पताल व्यवसायी कमल भण्डारी उम्मेदवार बन्ने चर्चा छ ।
रास्वपाबाट उम्मेदवारका आकांक्षी आफै खुलेका छैनन् । तर आकांक्षी निकटका अनुसार क्षेत्र नं ३ का सभापति मधु अर्याल, सहकारी अभियान्ता ज्ञानु पौडेल लगायतको नाम चर्चामा छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबाट नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दिने ७ दलबीच सहमति भएको थियो । नागरिक उन्मुक्तिबाट गत आम चुनावमा रुपन्देही १ को प्रतिनिधिसभा सदस्य चुनावमा पराजित धनिराम चौधरी उम्मेदवार बन्ने चर्चा छ ।




