बुटवल । अटोमोबाइल क्षेत्रका काम गरिरहेका जनशक्तिलाई समयअनुसार परिमार्जित भइरहेका सवारीहरुको प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यसहित बुटवलमा सञ्चालन भएका दुईवटा प्राविधिक तालिम समापन भएका छन् । बुटवल अटो इञ्जिनियरिङ एसोसिएसन रूपन्देही लुम्बिनीको व्यवस्थापनमा भएका तालिमहरु एक कार्यक्रमका बिचमा समापन गरिएको हो ।
इञ्जिन प्रणाली व्यवस्थापन र नेपाली सेनाका जनशक्तिलाई हेवि इञ्जिनिरयरिङ इक्वपेन्ट मेकानिक्स एडभान्स तालिम समापन समारोहमा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य जमुना ढकालले प्रदेश सरकार प्राविधिक शिक्षा र व्यवसायिक तालिमलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको साथसाथै नीतिगत, संरचनागत र कार्यक्रमगत रुपमा यस्ता कार्यक्रमलाई अझ विस्तार गर्न कटिबद्ध भएको बताइन् ।
उनले वर्तमान विश्व प्रतिस्पर्धात्मक भएको जहाँ दक्षता, सीप र प्रविधिको ज्ञान आवश्यकतामा परिणत हुँदै यस्ता प्राविधिक तालिमहरूले युवाहरूलाई आत्मनिर्भर, उत्पादनमुखी र रोजगारमुखी बनाउने दिशामा सार्थक योगदान पु¥याउने बताइन् ।
बुटवल अटो इञ्जिनियरिङ एसोसिएसन रूपन्देही लुम्बिनीका अध्यक्ष प्रेम गौचनले बिगत १० वर्षयता निरन्तर तालिम सञ्चालन भएको बताउँदै आगामी दिनहरूमा पनि यस्ता तालिमलाई अझ व्यापक बनाउने र औद्योगिक तथा प्राविधिक क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने दिशामा निरन्तर लागिरहने बताए ।
कार्यक्रममा नेपाल अटो इञ्जिनियरिङ एसोसिएसनका केन्द्रीय उपाध्यक्ष ज्योति भण्डारीले बुटवल अटोले धेरै नै जनशक्ति उत्पादन गरेको दाबी गरे । रूपन्देही उद्योग संघ सिप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजालले सवारी साधन मर्मत सम्भारको क्षेत्रमा दक्ष जनशक्तिको खाँचो देशभर हुँदा समस्या भोग्नु परेकाले व्यवहारीक ज्ञान प्रयोग गर्न आग्रह गरे । संस्थाका उद्योग उपाध्यक्ष तथा प्रविधि तालिम विभाग प्रमुख धुर्वराज भुसालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन संस्थाका महासचिव पुनीत पोख्रेलले गरेका थिए ।
इञ्जिन प्रणाली व्यवस्थापनसम्बन्धी रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्य र नेपाल सरकार रक्षा मन्त्रालय नेपाली सेना विद्युत् तथा यान्त्रिक शिक्षालय खरिपाटी भक्तपुरको संयुक्त आयोजना तथा बुटवल अटो इञ्जिनियरिङ एशोसिएशन रुपन्देही लुम्बिनीको व्यवस्थापनमा भएका थिए ।




