बुटवल
आउँदो कात्तिक १७ गते हुने रूपन्देही–३ को प्रतिनिधिसभा सदस्यको उप–निर्वाचनको माहोल क्रमशः तात्दै जान थालेको छ ।
अहिलेसम्म राष्ट्रिय जनमोर्चाले बद्रे आलमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै गत बैशाखमा राप्रपा छाडेका भैरहवाका इट्टा उद्योगी अजयकुमार गुप्ता र बुटवल मोतीपुरका लेखनाथ गैरेले स्वतन्त्र उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।
गत निर्वाचनको समानुपातिक मतका आधारमा धेरै मत पाएका दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, रास्वपा, राप्रपा र सात मधेश केन्द्रित दलहरुको संयुक्त लोकतान्त्रिक मोर्चाले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । यी दलका उम्मेदवार आकांक्षीहरुले पनि सक्रियता देखाएका छैनन् ।
तर स्वतन्त्र उम्मेदवारी दिने निश्चित गरेकाकाठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयका सन्तोष गिरी भने निर्वाचन क्षेत्रका वडाहरु र गाउँ घुमिरहेका छन् । रुपन्देही ३ मा पर्ने तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनी स्थायी घर भएका ३३ वर्षीय गिरी एक हप्तादेखि यहाँका विभिन्न दलका नेता कार्यकर्ता र मतदाताको घरदैलोमा पुगेर उनीहरुका भावना र नागरिक अपेक्षा बुझ्दै हिंडेका छन् । उम्मेदवारी दिने निश्चित भएपछि उनले नेपाल स्वीस च्याम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृतको जागिर छाडेका छन् । १७ वर्षको उमेरमै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू रुपन्देहीको सहसचिव भएर काम गरेका गिरी कुनै बेला राष्ट्रिय वादविवाद प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि देशैभर चर्चित भएका थिए । उनले ८ वर्षसम्म देशव्यापी युवा सशक्तिकरण अभियान समेत चलाएका थिए । संसद र सांसद कस्तो हुने भन्ने विषयमा राष्ट्रिय युवा संसदमा बोलेका उनले त्यसमार्फत् पुनः लोकप्रियता हासिल गरेका थिए । विभिन्न अन्तर्राष्ट्रिय फोरममा नेपालको प्रतिनिधित्व गर्दै प्रखर वक्ताका छवि बनाएका गिरी अर्थशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक हुन् ।
उनले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत सिद्धार्थनगर, तिलोत्तमा, बुटवल, मायादेवी, शुद्धोधन र सियारीका बजार र गाउँहरू पुगेर किसान, स्थानीय नागरिक एवं सामाजिक अगुवाहरूसँग भेटघाटलाई बाक्लो बनाएका छन् ।
‘मेयर ज्यू (बालेन)सँग सल्लाहमै उम्मेदवार बन्ने निश्चित गरेर टोल र वडातहसम्मै पुगेर खासगरी युवा, किसान, समाजका अगुवा, व्यवसायी सबैसँग भेटघाट गरिरहेको छु, उहाँहरुका अपेक्षा बुझ्दै छु,’ गिरीले भने–‘पहिलो चरणको भेटघाटबाट एकदमै उत्साहित छु, सबैजसो दलका युवा नेताहरुबाट सहयोग हुने प्रतिबद्धता पाएको छु, साउन २३ गते वृहत् कार्यक्रम गरेर उम्मेदवारीको औपचारिक घोषणाको तयारीमा छु ।’
प्रतिनिधिसभामा आफ्नो पक्षमा आवाज उठाउने प्रतिनिधिका रुपमा गिरीलाई बालेनले उम्मेदवार बनाउन जोडबल गरेको बालेन समर्थकहरु बताउँछन् । घरदैलोसँगै गिरीले राष्ट्रिय स्वतन्त्र पार्टीको पनि समर्थन लिने गरी पार्टीका शीर्ष पदाधिकारीसँग वार्ता पनि भइरहेको बताए । ‘धेरै मतदाताले बालेन र रविहरु मिलेर जानुपर्छ भनेको पाएँ,’ गिरीले भने–‘हामी एक्लाएक्लै चुनावमा जाँदा फेरि पनि पुरानै दलहरुले जित्ने जोखिम पनि छ, त्यसैले ०८४ को चुनावमा पनि सहकार्यको ढोका खोल्न यसपटक मलाई साथ दिने गरी कुरा भइरहेको छ ।’
रुपन्देही क्षेत्र नं. ३ कै स्थानीय, नयाँ अनुहारको युवा व्यक्तित्व र पुराना दलहरुप्रति मतदाता सन्तुष्ट नभएकाले गिरीले मतदाताको मन जित्न सक्ने नेपाली कांग्रेस निकट एक व्यवसायीले नाम उल्लेख नगर्ने शर्तमा बताए । ‘हालै मात्र जेन जी पुस्तामाझ भएको सर्वेक्षणमा बालेनको पक्षमा ७३ प्रतिशत मत आएको थियो, त्यसले पनि उनको टिमका उम्मेदवारको पक्षमा युवा मतदाताको आकर्षण हुने देखिन्छ,’ उनले भने–‘एक हप्ताको उनको भेटघाटलाई हेर्दा धेरैजसो दलका युवा नेता, विद्यार्थीले गिरीलाई साथ दिने संकेत गरेको छ, तर यो मतमै परिणत हुन्छ या हुन्न त्यो त नतिजाले नै देखाउँला ।’
गिरीले निर्वाचन आयोगले तोकेको खर्च सीमा २५ लाख रुपैयाँ भन्दा बढी खर्च नगरी सुशासन र पारदर्शिता देखाउने बताए ।
‘अघिल्ला चुनावहरुमा ठूला दलका नेताहरुले एउटै चुनावमा करोडौं खर्च गरेको, ट्रकमा पैसा र साडी बाँडेको, तर हारेको थुप्रै उदाहरण छन्,’ गिरीले भने–‘हाम्रो टिमले त्यस्तो गलत परिपाटी रोक्छ, चुनावी प्रकृयामै सुशासन कस्तो हो भन्ने देखाउछौं ।’
स्थानीय शासन, नीति निर्माण र नवप्रवर्तनमा प्रत्यक्ष अनुभव सँगालेका गिरीले रूपन्देही–३ का जनताले परिवर्तन खोजेकाले आफू उत्साहित भएको बताए ।
गिरीसँग भेटेपछि उनको उम्मेदवारीलाई नयाँ पुस्ताको सहभागिता र वैकल्पिक राजनीतिक शक्तिको प्रतिनिधित्वको रूपमा हेरिएको भैरहवाका व्यवसायी नारायणप्रसाद भण्डारी बताउँछन् ।
‘पछिल्लो समय युवा पुस्तामा स्वच्छ र सक्षम युवा उम्मेदवारप्रति क्रेज देखिएको छ,’ भण्डारी भन्छन्–‘बालेन समर्थक र रास्वपा मिल्ने हो भने जित निश्चित छ, छुट्टाछुट्टै लडे हारिन्छ भन्ने सुझाव दिएँ ।’
रुपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय सदस्यद्वय स्वाती थापा र बसन्तविक्रम शाही, रुपन्देही अध्यक्ष सागरप्रताप राणा, स्व. दीपक बोहराका छोराहरु गौरव बोहरा र प्रज्ज्वल बोहरा तथा जिल्ला नेता दिलिप मल्लिकको नाम सिफारिस गरेको छ ।
सिफारिश भएका ६ जना मध्येबाट पार्टी केन्द्रले एकजनालाई उम्मेदवार बनाउने छ । ०७९ सालको निर्वाचनमा निर्वाचित भएका राप्रपाका वरिष्ठ नेता दीपक बोहराको निधन भएपछि कार्तिक १७ गते उपनिर्वाचन हुन लागेको छ ।
उप निर्वाचनमा नेपाली कांग्रेसबाट बालकृष्ण खाँण, भरत शाह, प्रमोद यादव, रामचन्द्र ढकाल, रमेश खनाललगायतको नाम चर्चामा छ । तर नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर थुनामा परी रिहा भएका खाँण उम्मेदवारी दर्ताको समयसम्म मुद्दाको किनारा लागे मात्रै उम्मेदवार बन्ने अन्यथा नबन्ने उनी निकटहरु बताउँछन् । एमालेबाट पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, व्यवसायी शशि पौडेल, पूर्व प्रदेश सांसद दधिराम न्यौपाने, केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेल र सिद्धार्थनगर नगरपालिकाका पूर्वमेयर हरि अधिकारी पनि उम्मेदवार बन्ने चर्चा छ । तर पौडेलले टिकट पाउने दाबी पार्टीकै नेताहरु बताउँछन् । माओवादी केन्द्रसहितका विपक्षी दलबाट उम्मेदवारका आकांक्षी अझै खुलेका छैनन् । तर एकीकृत समाजवादीका युवा नेता एवं अस्पताल व्यवसायी कमल भण्डारी उम्मेदवार बन्ने चर्चा छ ।
रास्वपाबाट उम्मेदवारका आकांक्षी आफैँ खुलेका छैनन् । तर आकांक्षी निकटहरुका अनुसार क्षेत्र नं. ३ का सभापति मधु अर्याल, सहकारी अभियान्ता ज्ञानु पौडेललगायतको नाम चर्चामा छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबाट नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दिने ७ दलबिच सहमति भएको छ ।
यस्तो छ विगतको नतिजा
९० हजार मत खसेको २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसले २० हजार २७८ मत पाएको थियो । एमालेले १६ हजार ९८६ मत पाउँदा रास्वपाले १४ हजार १५४ र राप्रपाले भने जम्मा ९ हजार १८३ मत पाएको थियो ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ६ हजार र जसपाले ५ हजार मत पाएको थियो । लोसपाले ५ हजार, जनमत पार्टीले ३ हजार ७००, माओवादी केन्द्रले २ हजार ६०० सय, जनमुक्ति पार्टीले १ हजार ९००, हाम्रो नेपाली पार्टी (लौरो)ले १ हजार ३४७ र नेकपा एकीकृत समाजवादीले ७८१ मत पाएका थिए ।
रुपन्देही–३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन् । यो क्षेत्रमा नेपाल–भारत सीमा क्षेत्र बेलहिया नाकादेखि बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, शुद्धोधन गाउँपालिका र सिद्धार्थनगर नगरपालिकाका सबै वडा, सियारी गाउँपालिकाको वडा नं. १ देखि ३, ६ र ७, ओमसतिया गाउँपालिकाको वडा नं. २, मायादेवी गाउँपालिकाको वडा नं. ७ र ८, तिलोत्तमा नगरपालिकाको वडा नंं. १३ र १४ र बुटवल उप–महानगरपालिकाको वडा नं. १४ देखि १९ वडा समेटिएको छ ।
२०४८ सालमा कांग्रेसका रामकृष्ण ताम्राकारले चुनाव जितेको यहाँ ०५१ मा एमालेका धनपति उपाध्यायले जितेका थिए । उपाध्यायको निधनपछि रिक्त रहेको सो क्षेत्रमा उपचुनाव हुँदा २०५२ मा एमालेकै घनश्याम भुसालले जितेका थिए । २०५६ सालमा फेरि कांग्रेसका ताम्राकारले जिते भने २०६४ सालमा क्षेत्र पुनर्संरचना भएपछि बालकृष्ण खाँण निर्वाचित भए । २०७० सालमा पुरानै निर्वाचन क्षेत्र हुँदा दीपक बोहरा राप्रपाबाट विजयी भएका थिए । २०७४ मा नयाँ भूगोल समेटेर क्षेत्र नं. ३ बनेपछि एमालेका घनश्याम भुसाल र २०७९ मा पुनः राप्रपाका दिपक बोहरा एमालेको समर्थनमा विजयी भएका थिए ।
२०७४ सालमा नेपाली कांग्रेसले दीपक बोहरालाई उम्मेदवार बनाएर बालकृष्ण खाँणलाई समानुपातिक सांसद बनाएको थियो । तर, एमालेका तर्फबाट घनश्याम भुसालले ३२ हजार ८६६ मत ल्याएर जिते । बोहराले २७ हजार ४२२ मत ल्याएका थिए । त्यतिबेला एमाले र माओवादी केन्द्र मिलेर चुनाव लडेका थिए ।




