काठमाडौंं । नेकपा (एमाले)को सचिवालय बैठक बिहीबार मध्यरातसम्म चल्यो । दिउँसो २ बजेदेखि बसेको बैठक १० घण्टा चलेको थियो ।
बैठकमा ७० वर्षे उमेरहद र दुई कार्यकालबारे बहस भएको थियो । सोही क्रममा नेताहरूले लोकतान्त्रिकरणको विषय आफैँले उठाएको भन्दै नभुल्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका थिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यलगायत ७० वर्षे र दुई कार्यकालको पक्षमा उभिएका थिए ।
“पार्टीमा लोकतान्त्रिकरणको विषय अध्यक्षले नै उठाएको हो । सातौँदेखि उठ्दै आएर आठौँमा निर्णय भएको हो । कार्यदलको संयोजक तपाईं (केपी ओली) हुनुहुन्थ्यो । माधव नेपाललाई रोक्न मात्रै गरेको थिएन । लामो श्रृंखलामा हुँदै आएको विषय हो । अहिले लोकतान्त्रिक प्रक्रियाबाट बाहिर छौँ भन्न मिल्छ र ?,” बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेलले भनेका थिए ।
सोही क्रममा पोखरेलले १०औँ महाधिवेशनपछि विधानमा छेडखानी गरिएको प्रसंग उठाएका थिए । सोही क्रममा ओलीले पोखरेललाई स्थायी कमिटी सदस्य कर्ण थापाको धारणा राखेको भनि सोधेका थिए । पोखरेलले आफ्नो धारणा राख्न नपाउने ? भन्दै जवाफ फर्काएका थिए ।
विधानमा ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने निर्णयमा नेताहरूले आपत्ति जनाएका थिए । त्यसपछि भिन्न विचार राख्नेहरू ले नोट अफ डिसेन्ट नराख्ने र पोलिट्ब्यूरो र केन्द्रीय कमिटीमा छलफल गर्ने निर्णय भएको एक नेताले बताए ।
“७० वर्षे र दुई कार्यकालको व्यवस्था हटाउने सर्वसम्मत निर्णय भएको होइन । भिन्न विचार राख्नेहरूले नोट अफ डिसेन्ट नराखौँ । पोलिट्ब्युरो र केन्द्रीय कमिटीमा छलफल गरौँ भन्ने भएको छ,” एक नेता भन्छन् ।
सचिवालय बैठकमा नेताहरूले पार्टी अध्यक्षका नाममा भएको गुटबन्दीको प्रसंग उठाएका थिए । ओलीलाई अध्यक्ष मान्दा पनि ‘किन कित्ताकाट’ गरिएको भनि असन्तुष्ट नेताहरूको प्रश्न थियो ।
“विभिन्न कुरामा नेतृत्वको ध्यान पुगेन । पार्टीमा अध्यक्षको नामबाट गुटबन्दी किन हुन्छ ? अध्यक्ष सबैले मानेकै छ । तल कतिपयले अध्यक्षको नामबाट कित्ताकाट किन गर्ने ? यसमा अध्यक्षले लगाएको हो कि होइन ?,” बैठकमा उठेको विषयबारे एक नेताले भने ।
एमाले पोलिट्ब्युरो बैठक आज दिउँसो १ बजे बस्दै छ । केन्द्रीय कमिटी भने साउन ५ गते बोलाइएको छ । ७० वर्षे उमेरहद र दुई कार्यकाल हटाउने निर्णयपछि महासचिव शंकर पोखरेलले विधि निर्माणको अन्योल अन्त्य भएको दाबी गरेका छन् ।
“विधि निर्माणको अन्योल अन्त्य भएको छ । मिसन ‘८४’का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो । त्यो सुनिश्चित भएको छ,” उनले फेसबुकमा लेखेका छन् ।




